Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्पतालको एक्सरे मेसिन मर्मत नहुँदा बिरामी समस्यमा

Published on 5:38:00 PM //

 घनश्याम गौतम
जिल्ला अस्पतालमा एक महिना देखि एक्सरे मेसिन विग्रिएपछि विपन्न विरामीहरु समस्यामा परेका छन् ।

अस्पतालमा एक वर्ष अगाडी स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था महाशाखाले उपलब्ध गराएको एक्सरे मेसिन कामै नगरी बिग्रेको हो । शुरुमै राम्रो काम नगरेको मेसिनले एक महिना देखि काम नै गर्न छोडेको अपरेटर देबहादुर बस्नेतले बताए । ‘शुरुमै तिन÷चार जनाको एक्सरे गरेपछि धेरैबेर रोकेर फेरी गर्नु पर्ने बाध्यता थियो’, बस्नेतले भने, ‘एक महिना देखि त कामै गर्न छोडेको छ ।’
महाशाखाले टेण्डर मार्फत एडोनिस कम्पनीको एक सय एम.एम.क्षमताको एक्सरे मेसिन अस्पताललाई उपलब्ध गराएको थियो । मेसिन २ लाख ५३ हजार ८ सय मुल्यको हो । एक्सरे मेसिनले शुरुमा राम्रो काम गरे पनि एक महिना देखि कुनै काम नगरेको बताए । पोखरलले मेसिन बिग्रेपछि पटक पटक कम्पनी र आपूर्ति व्यवस्था महाशाखा दुवैलाई जानकारी गराएको दावी गरे । ‘हामीले पटक पटक कम्पनी र महाशाखालाई सम्पर्क गरेर जानकारी गरायौ’, उनले भने ‘तर मर्मतका लागि कसैको ध्यान पुगेन ।’
जिल्ला अस्पतालमा रेडियो ग्राफरको दरबन्दी भएपनि १२ बर्ष देखि कोही नआएको डाक्टर पोखरेलले बताए । धेरै पटक दरबन्दी अनुसारको कर्मचारी पठाईदिन आग्रह गर्दा पनि कोही नआएपछि तालिम दिएर कार्यालय सहायकलाई मेसिन संचालनको जिम्मा दिएको अस्पतालले जनाएको छ । तालिम पाएपछि मेसिन संचालनमा कुनै समस्या नभएको अपरेटर बस्नेतले बताए । मेसिन संचालक बस्नेतले एक पटक मर्मतका लागि आएको कम्पनीको प्राविधिकले सामान फेरेपछि चल्ने बताएपनि कुन सामान हो र कहाँबाट ल्याउने भन्ने समेत जानकारी नदिएकाले समस्या भएको बताए । ‘सामान फेर्नुपर्छ मात्र भन्यो’, उनले भने ‘पछि आउछु भनेर गएको प्राविधिक अहिलेसम्म फर्केन ।’ जिल्ला अस्पतालमा दैनिक २ सय बिरामी उपचारका लागि आउने गर्दछन् । ति मध्ये दैनिक ३०÷४० जना एक्सरे गर्नुपर्ने अवस्थाका हुन्छन् । अस्पतालमा अधिकांश विरामी दुर्गमबाट विपन्न परिवारका आउने भएकाले उनीहरु समस्यामा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । ‘विपन्न परिवारका बिरामीहरुले बाहिर गएर एक्सरे गराउन अप्ठ्यारो छ’, अध्यक्ष थापाले भने ‘मेसिन अभावमा विरामीहरु नीजि क्लिनिकहरुमा चर्को मुल्य तिर्न बाध्य भएका छन् ।’ अध्यक्ष थापाले प्राविधिक भएमा समितिकै खर्चमा भएपनि मर्मत गराउन आफुहरु तयार रहेको बताए । जिल्ला अस्पतालमा एक्सरे गरेको १ सय रुपैंया लाग्ने भएपनि गरिब, जेष्ठ र अपाङ्गलाई निःशुल्क सेवा उपलब्ध हुने गरेको छ । नीजि क्लिनिकहरुमा भने एक्सरे गरेको २ सय देखि ४ सयसम्म लिने गर्दछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग