Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राकृतिक जोखिम र दुर्घटना पछिको उपचारमा विद्यार्थी सचेत

Published on 7:00:00 PM //

घनश्याम गौतम
आदर्श निम्न माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेका रामकृष्ण घिमिरेलाई कुनै दुर्घटना, भुकम्प, पहिरो वा आगलागी कुनैपनि आपतकालिन अवस्था आईलागे पनि कुनै समस्या छैन् ।
‘दैवी प्रकोपबाट आईपर्ने कुनै पनि जोखिम वा विपत्तीबाट सजिलै बच्न सकिन्छ ।’, उनी निर्धक्क भएर भन्छन् । भुकम्प आउँदा के गर्ने, के नगर्ने, पहिरोमा कसरी जोगिने, दुर्घटनामा परेर घाइते वा अङ्गभङ्ग भएको पहिलो चरणमा के गर्ने लगायतका ज्ञान घिमिरेले राम्ररी सिकेका छन् । इश्वरी मावि चारपालाका कक्षा १० का कमल अर्याल त आफु मात्र नभएर विपत्तीमा परेका समुदायका अन्य सर्वसाधरणको सुरक्षा समेत कसरी गर्ने भन्ने बारेमा राम्ररी ज्ञान भएको छ ।
जिल्लाका १० विद्यालयमा रेडक्रस जिल्ला शाखाले विद्यालयमा आधारित प्रकोप जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरेपछि घिमिरे र अर्याल जस्तै हजार भन्दा बढी विद्यार्थीहरुमा प्रकृतिका कारण आईपर्ने आपतकालिन अवस्था र तत्काल उपचार आवश्यक पर्ने विरामीहरुका लागि के गर्ने भन्ने विषयमा राम्रोसंग चेतना जागेको छ । प्रकोपका सम्भावना बढी भएका, दुर्घटना धेरै हुने र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका १० विद्यालयमा रेडक्रसले ३ वर्ष अघिदेखि यस्तो कार्यक्रम शुरु गरेको थियो ।
कार्यक्रम संचालन भएका विद्यालय र त्यस आसपासका समुदायमा दुर्घटनामा परेर घाइतेको बढी रगत बगेमा के गर्ने, ढाड भाँचिएको बिरामीलाई स्टेचरमा नराखी दरो फल्याकमा सोझो गरी राखेर छिटो अस्पताल पुयाउने, सर्पले टोकेमा टोकेको स्थानभन्दा माथी पट्टी बाँध्ने, उच्च रक्त चाप भएको व्यक्तिलाई रिंगटा लागेमा खुट्टा माथी उठाएर राख्ने, पोलेको घाउमा अन्य केही नलगाई चिसो पानीको कपडा प्रयोग गर्ने वा पानीमा डुबाएर राख्ने लगायतका प्राथमिक उपचारका बारेमा राम्रो चेतना फैलिएको छ ।
विद्यार्थीहरुले चेतनामुलक र्‍याली, काल्पनीक दुर्घटना गराएर त्यसको व्यवस्थापन, लगायतका विषयहरुमा समेत चेतना जगाएर समुदायलाई सचेत बनाउने गरेको दौंघाका गुनबहादुर सिंजालीले बताए । खज्र्याङ्ग–५ की दुर्गा गौतमले विद्यार्थीहरुले बाढी पहिरो, भुकम्प, दुर्घटनाबाट कसरी बच्ने र शुरुमा के गर्ने भन्ने बारेमा राम्ररी सिकाएको बताईन । ‘कुनै दुर्घटनामा परेर घाउ चोट लागेका बेला रगत बग्दा धुलो राख्ने वा झारपात थिचेर राख्ने गथ्र्यौं’, गौतमले भनिन्, ‘विद्यार्थीहरुले सिकाएपछि अहिले बल्ल धुलो राख्न नहुने, सफा राख्ने, धेरै रगत बग्न नदिन रगत बगेको भाग सम्भव भएसम्म टाउको माथी राख्ने र छिटो स्वास्थ्य संस्थामा पुग्नुपर्ने रहेछ भन्ने ज्ञान पलाएको छ ।’
कार्यक्रमका सामुदायीक प्रशिक्षक दशरथ थापाले कार्यक्रमले ३ सय ८ जनालाई प्राथमिक स्वास्थ्य उपचार र ६ सय २७ जनालाई प्रकोप जोखिम न्यूनिकरण एवं व्यवस्थापन तालिम दिएको बताए । ‘कार्यक्रम छोटो समयको भएपनि विद्यार्थी र समुदायमा यसले राम्रो प्रभाव पारेको छ’, उनले भने, ‘स्थानीय निकायहरु र विद्यालयहरुले यस कार्यक्रमलाई निरन्तरता दिन सके प्राकृतिक कारणबाट हुने धेरै जोखिमहरुको व्यवस्थापन हुन सक्छ ।’
विद्यालय व्यवस्थापन समितिले यस्ता कार्यक्रमहरुमा विद्यार्थीलाई आँफै सक्रिय बनाएर निरन्तरता दिनु जरुरी रहेको उनले बताए । रेडक्रसका कार्यक्रम संयोजक कृष्ण खनालका अनुसार विद्यालयमा आधारित प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम संचालनका लागि रेडक्रसले प्रत्येक विद्यालयलाई १ लाख ६१ हजार ५ सय रुपैंया प्रदान गरेको थियो । त्यस्तै कार्यालय व्यवस्थापनका लागि हरेक समुदाय र जुनियर रेडक्रस र्सकलहरुका लागि ३७ हजारका दरले रकम उपलब्ध गराएको थियो । ‘आर्थिक र खोज तथा उद्धारसामाग्रीहरु प्रदान गरिएको थियो ।’, खनालले भने, ‘सानो आर्थिक रकमले पनि विद्यार्थी र समुदायमा ठुलो चेतना दिएको छ ।’ कार्यक्रमले खोज तथा उद्धार सामाग्री वापत ड्रम, कोदाला, गैची,माइक, स्टेचर सहित ३५ हजार बराबरका सामाग्री समेत उपलब्ध गराएको थियो ।
 रेडक्रसको सहयोगले सबै विद्यालयमा प्रकोपमा परेकाहरुको उद्धार र व्यवस्थापनका लागि आर्थिक र खाध्य सामाग्री समेत संकलन गरेर राखेका छन् । इश्वरी उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुको समुहले गाउँमै आगलागीमा परेका र ढुङ्गा खानीमा काम गर्दा गर्दै च्यापिएर मृत्यु भएका दुई घर परिवारलाई आर्थिक र खाध्यान्न सहयोग गरेको विद्यालयका शिक्षक नायक भक्तबहादुर टण्डनले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग