Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसका सहयोगीको शालिक तोडफोड, अध्यक्षमाथि हात पात

Published on 7:32:00 PM //

महत्वपूर्ण सहयोग पुर्‍याउने व्यक्तिको शालिक अनावरणका क्रममा विवाद बढेपछि रेसुङ्गा बहुमुखी क्याम्पसमा तनाव भएको छ । नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले शालिक तोडफोड गर्नुका साथै सञ्चालक समितिका अध्यक्षलाई हातपात गरेको छ ।
क्याम्पसको २८ औं वाषिर्कोत्सवको अवसर पारेर बुधवार सञ्चालक समितिले स्वर्गीय परमानन्द भण्डारीको शालिक अनावरण गर्न लाग्दा नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेका हुन् ।
विवादपछि शालिक तोडफोड भएको छ भने अध्यक्ष भुसालले राजिनामा दिएका छन् । सञ्चालक समितिका अन्य छ सदस्यले तोडफोडमा संलग्न एवं अध्यक्षमाथि हातपात गर्ने विद्यार्थीहरु पूर्ण के.सी, सुदर्शन खनाल, प्रतिमा पन्थी, बसन्त सेन, धर्म पाण्डे, भगत सिंह खड्का लगायतलाई कारवाहीको माग गरेका छन् । शालिक तोडफोड पछि क्याम्पसका वार्षिक कार्यक्रम समेत विथोलिएको छ ।
क्याम्पस स्थापनाका लागि सदरमुकाम तम्घासमा ५ रोपनी भन्दा बढी जग्गा प्रदान गरेको, क्याम्पसमा ४ लाख भन्दा बढीको अक्षयकोष स्थापना गरेको र जिल्लाको शिक्षा विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएकोले सम्मान स्वरुप क्याम्पस सञ्चालक समितिले क्याम्पस प्राङ्गणमा भण्डारीको अर्धकदको शालिक राख्ने निर्णय गरेको अध्यक्ष भुसालले बताए ।
घटनाको लगत्तै भुसालले राजिनामा दिएका थिए । 'क्याम्पसमा पढ्ने विद्यार्थीहरुको भन्दा गुण्डागर्दी गर्नेहरुको राज भयो', अध्यक्ष भुसालले भने, 'यस्तो अवस्थामा क्याम्पसलाई सहयोग गर्नु र बस्नुको कुनै अर्थ छैन् ।'
सञ्चालक समितिका अन्य छ सदस्यहरुले पनि मंगलबार नै विज्ञप्ती जारी गर्दै शालिक अनावरणका क्रममा भएको घटनाले क्याम्पस संचालनका लागि सहयोग पुर्‍याउने महानुभावहरुको अपमान भएको ठहर गर्दै घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गरेको छ । 'क्याम्पसमा अराजकता मच्चाउने र दाताहरुको अपमान गर्नेहरुलाई कारवाहीको माग गर्दछौं', विज्ञप्तिमा उल्लेख छ ।
स्वर्गीय भण्डारीले जिल्लाका धुर्कोट बहुमुखी क्याम्पसमा १० लाख सहयोग तथा अक्षयकोष, हिमालय उच्च मावि धुर्कोट, पाञ्चायन उच्च मावि जैसिथोक, इन्दिरा मावि धुर्कोट रजस्थल, धुर मावि धुर लगायत एक दर्जन विद्यालय र संघ संस्थाहरुमा लाखौं मुल्यको अक्षयकोष तथा आर्थिक सहयोग गरेका छन् । रेसुङ्गा क्याम्पस नीजि स्तरको जिल्लाकै पहिलो बहुमुखी क्याम्पस हो ।
त्यस्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले पनि विज्ञप्ति जारी गर्दै शालिक तोडफोड गर्ने र सञ्चालक समिति अध्यक्ष माथि हातपात गर्ने विद्यार्थीहरुलाई कारवाहीको माग गरेको छ । तोडफोडमा संलग्न विद्यार्थीको कारवाही नभएसम्म क्याम्पसमा अनिश्चितकालित तालाबन्दी गरिएको समेत संगठनले विज्ञप्ति मार्फत जनाएका छन् । संगठनहरुको विज्ञप्तिले क्याम्पसमा संचालन भैरहेको परीक्षा समेत अनिश्चित बनेको छ ।
नेविसंघले भने सञ्चालक समितिले छलफल बिना नै एक जना व्यक्तिको मात्र शालिक अनावरण गर्न लागेकाले विरोध गरिएको जनाएको छ । 'अन्य चन्दादाताको पनि शालिक राखिनुपर्छ भन्ने हाम्रो माग हो', नेविसंघका पूर्ण के.सी.ले भने ।
इकान्तिपुरबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग