Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाखौं खर्चेका दर्जनौं झोलुङ्गे पुल प्रयोगविहीन

Published on 3:58:00 AM //

जिल्ला प्रवेश गर्ने नाका रिडीमा रहेको रिडी खोलाको झोलुङ्गे पुल झण्डै दुई दशक देखि प्रयोग विहिन छ ।
निर्माणका बेला १२ लाख भन्दा बढी खर्चेको पुलमा अहिले न त कोही हिड्छन्, न त अन्यत्र कतै त्यसको प्रयोग हुन सक्छ । धेरै समय प्रयोग विहिन भएपछि रिडी खोलाको झोलुङ्गे पुलका लुठाहरू अहिले महिलाहरूले कपडा सुकाउने काममा प्रयोग गर्न थालेका छन् । सर्वसाधरण आवतजावतका लागि भने नजिकै रहेको सवारी पुल प्रयोग गर्ने गर्दछन् ।जिल्लाकै खर्ज्याङ्ग गाविसको खर्ज्याङ्ग खोलामा रहेको झोलुङ्गे पुलपनि २ वर्षदेखि प्रयोग विहिन छ । पाँच वर्षअघि निर्माण गरिएको स्टिल ड्याक सहितको पुल निर्माणमा झण्डै २२ लाख खर्च भएको थियो । गुल्मी र अर्घाखाँची जोड्न खर्ज्याङ्ग खोलामा पनि सवारी पक्की पुल निर्माण भएपछि नजिकै रहेको झोलुङ्गे पुल प्रयोग विहिन छ ।  रिडी नजिकै कालीगण्डकीमा पनि गुल्मी र स्याङ्जा जोड्न नयाँ झोलुङ्गे पुल निर्माण गरिएपछि संगै रहेको १०/१२ लाख खर्च गरी निर्माण गरिएको अर्को झोलुङ्गे पुल समेत १० वर्षदेखि प्रयोग विहिन छ ।
कालीगण्डकीमा पुल होचो भएको भन्दै स्थानीय बासिन्दाले अर्को पुल माग गरेपछि सोही स्थानमै अग्लो झोलुङ्गे पुल निर्माण गरिएको थियो । अलपत्र र प्रयोग विहिन अवस्थामा रहेका यी तिन झोलुङ्गे पुल जिल्लाका उदाहरण मात्र हुन् । पछिल्ला वर्षहरूमा नयाँ झोलुङ्गे पुल थपिदैं जाने तर पुरानाको वास्ता नगरिदा अलपत्र पर्ने पुलहरूको संख्या बढ्दै छ । जिल्लाका जैसीथोक, बडागाउँ, पनाहाखोला, हस्तिचौर, मुसिकोट, ठुलोलुम्पेक, बडिघाट, रिडी खोला, कालीगण्डकी, दरमखोला लगायतका खोलाहरूमा एक दर्जन भन्दा बढी पुलहरू जिर्ण अलपत्र छन् । सहयोग एउटाले, निर्माण अर्कैले र संरक्षण छुट्टै निकायले गर्ने भएकाले जिल्लाका दर्जनौं खोलामा लाखौं खर्चेर निर्माण भएका झोलुङ्गे पुलहरू जिर्ण अलपत्र र प्रयोग विहिन भएका हुन ।
 
 नेपालमै झोलुङ्गे पुलमा दोस्रो जिल्लाको ख्याती पाएको गुल्मीमा स्वीस सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट जिविस मार्फत स्थानीय सिर्जनशील सामुदायीक विकास केन्द्रले स्थानीय पुल कार्यक्रम मार्फत झोलुङ्गे पुलहरूको निर्माण गर्दै आएको छ ।
संस्थाले निर्माण गरेका पुलहरूको रेखदेख, मर्मत लगायतका काम भने जिविसले नै गर्ने गर्दछ ।कतिपय स्थानका झोलुङ्गे पुलहरूलाई सवारीका पक्की पुलहरूले र कतिपय स्थानमा एउटा पुल नजिकै अर्को झोलुङ्गे पुल निर्माण गरिएपछि पुराना पुलहरू अलपत्र र प्रयोग विहिन बनेका हुन् । झोलुङ्गे पुलको सम्भाव्यता अध्ययन, सर्वेक्षण, निर्माण लगायत काम गर्दै आएको सिर्जनशील सामुदायीक विकास केन्द्रका सब इन्जिनियर डिल्लीराज खनालका अनुसार अहिले एउटा पुल निर्माण गर्न झण्डै २० लाख खर्च हुने गर्दछ । पछिल्ला समयमा लाखौं खर्च गरेर निर्माण गरिएका पुलहरू समेत अलपत्र परेको खनालले बताए । ‘धेरै स्थानमा पुराना पुल जिर्ण प्रयोग विहिन बनेका छन्’, खनालले भने, ‘अन्यत्र प्रयोग गर्न सकिने खालका भएपनि त्यसका लागि कतैबाट पहल नहुँदा पुल जिर्ण प्रयोग विहिन बनेका हुन् ।’संस्थामा झण्डै २ सय स्थानका लागि स्थानीयले झोलुङ्गे पुल निर्माणको माग गरेका छन् ।

नयाँभावना राष्ट्रिय दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग