Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक वनको आम्दानी अनुत्पादक क्षेत्रमा

Published on 7:44:00 PM //

 बन ऐन र मार्गदर्शनमा स्पष्ट उल्लेख भएपनि सामुदायीक बन उपभोक्ता समितिहरूले कार्यायोजना अनुसार काम नगरी आम्दानीको सबै रकम अनुत्पादक क्षेत्रमा लागनी गर्ने गरेका छन् ।
बन ऐनमा सामुदायीक बनबाट भएको आम्दानीको २५ प्रतिशत वन संरक्षण एवं विकासमा र सामुदायीक बन विकास कार्यक्रमको मार्गदर्शन अनुसार आम्दानीको ३५ प्रतिशत रकम गरिब, विपन्न उपभोक्ता र महिलाहरूको आयआर्जन कार्यक्रममा खर्च गर्नु पर्ने व्यवस्था छ । ऐन र मार्गदर्शन अनुसार बाँकी रहेको ४० प्रतिशत रकम मात्र उपभोक्ताको निर्णय अनुसार खर्च गर्न पाइन्छ । तर बन कार्यालयबाट उपभोक्तामा हस्तान्तरण भएका अधिकांश सामुदायीक वनहरूले आम्दानीको सबै रकम सडक, बिजुली, पानी, विद्यालय लगायतका क्षेत्रमा खर्च गर्ने गरेका हुन ।
समुहमा हस्तान्तरण भैसकेपछि बन हाम्रो हो भन्ने चेतना उपभोक्ताहरूमा विकास भएपनि आम्दानीको क्षेत्र उपभोक्ताकै आम्दानीको हितमा र बनको संरक्षणमा खर्च गर्नुपर्छ भन्ने चेतना अझै उपभोक्तामा पुग्न नसक्दा ऐन र मार्गदर्शनमा उल्लेख भए अनुसार रकम खर्च हुन नसकेको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राममल्ल ठकुरीले बताए । ‘पैसा देखेपछि बाटो खन्ने र बिजुली बाल्ने भन्ने विषयमा नै पहिला ध्यान पुग्ने गरेको छ’, ठकुरीले भने, ‘कृषि, आयआर्जनका क्षेत्रमा लगानी गरेर गरिबी न्यूनीकरण गर्नुपर्छ भन्नेमा कसैको ध्यान नपुग्दा पुर्वाधारमा मात्र लगानी बढेको छ ।’
महासंघले अब सामुदायीक बनको आम्दानी आयमुलक र कृषिका क्षेत्रमा लगानी गरी गरिबी न्यूनीकरण, विपन्न उपभोक्ताहरूको उत्थानमा प्रयोग गर्नुपर्छ भन्ने चेतना जगाउन अभियान चलाउने तयारी गरेको ठकुरीले बताए । जिल्लाका अधिकांश सामुदायीक वनहरूले कार्ययोजना अनुसार विपन्न उपभोक्ताहरूको बर्गिकरण समेत गरेका छैनन् ।
अधिकांश बन उपभोक्ता समितिहरूले आम्दानीको सबै रकम बाटो, पार्टी पौवा, मन्दिर, विद्यालयको भवन निर्माण तथा शिक्षकका लागि तलब, बिजुली, लगायतका निर्माणका क्षेत्रमा खर्च गर्ने गरेका छन् । बन कार्यालयका अनुसार ऐनमा बनबाट  गरेको आम्दानीको २५ प्रतिशत रकम बन विकास र संरक्षणमा लगानी गरी अन्य रकम उपभोक्ता समुहहरूको निर्णय अनुसार खर्च गर्न पाउने व्यवस्था छ । तर वन कार्यालयबाट हस्तान्तरण भएका वनहरूले उक्त रकम समेत अन्यत्र नै खर्च गर्ने  गरेका छन् ।
अर्खले गाविसको नवज्योति सामुदायकी बनका अध्यक्ष खगेन्द्र के.सी.का अनुसार बनबाट भएको आम्दानी मध्ये अहिलेसम्म तम्घास भाडगाउँ मोटरबाटोमा ५ लाख, लगानी गरेको छ । स्थानीय भाडगाउँ माविलाई १ लाख ५० हजार भन्दा बढी, बिजुलीमा ७५ हजार लगानी गरेको बताए । यस वर्षदेखि भने गाउँमै सामुदायीक फर्निचर खोलेर विपन्नहरूलाई रोजगार दिने र आम्दानी बढाउने अभियानमा लागेको के.सी.ले बताए । त्यस्तै हस्तिचौर गाविसको ताराखसे सामुदायीक बनले समेत स्थानीय चार वटा विद्यालयमा गरेर आम्दानीको १ लाख ६० हजार लगानी गरीसकेको छ । बाँकी रहेको रकम आम्दानीका क्षेत्रमा लगाउने तयारी भैरहेको समितिले जनाएको छ ।
बन कार्यालयका सहायक वन अधिकृत कर्ण पाण्डेले भने ऐन र मार्गदर्शनमा स्पष्ट उल्लेख भएपनि उपभोक्ताहरूमा अझै आयमुलक क्षेत्रमा लगानी गर्ने गरी चेतना विस्तार नहुँदा समस्या भएको बताए । ‘केहीले त आयमुलक क्षेत्रमा लगाउन थालेका छन’, पाण्डेले भने, ‘धेरै उपभोक्ताहरूले भने आफै संरक्षण गरेको बनको आम्दानी आफ्नै गाउँको विकासमा किन खर्च गर्न नपाउने भन्दै कर्मचारीसंग झगडा नै गर्ने प्रबृत्ति छ ।’ धेरै उपभोक्ता समितिहरूमा सडक, बिजुली, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने दायित्व राज्यको हो भन्ने चेतना विस्तार नहुँदा समेत बन ऐन र मार्गदर्शन कार्यान्वयनमा समस्या भएको पाण्डेले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग