Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोडसेडिङको टण्टै साफ, गाउँमा २४ सैं घण्टा बिजुली

Published on 6:35:00 PM //

बिजुलीको अभाव टार्न यहाँको बिकट वाग्ला गाविसका बासिन्दाले एकै गाउँमा रहेका ७ खोलाको उपयोग गरी ८ वटा लघु जलविद्युत संचालन गरेर २४ सै घण्टा पुरै गाउँ झिलिमिली बनाएका छन् ।

बिकट भएपनि वाग्ला गाउँमा न त लोडसेडिङ्ग छ, न मैनबत्ति र मट्टतिेलको नै जोहो गर्नुपर्छ । खानेपानी, सिंचाईका लागि प्रयोग हुने कुलो र त्यसै खेर गएको पानीको सदुपयोग गर्दै गाउँलेले ६ वटा लघु जलविद्युत संचालनमा ल्याएका हुन् । दुई लघु जलविद्युत सम्पन्न हुने तयारीमा छन् ।
गाविस सचिव बेदनिधी पन्थीका अनुसार गाविसमा संचालित ८ योजनाका लागि सर्वसाधरणले झण्डै ५० लाख नगद लगानी गरेका छन् भने २० लाख बराबरको जनश्रमदान नै गरेका छन् । ‘गाउँका ७ खोला पुरै थुनिएका छन्’,  सचिव पन्थीले भने, ‘साना खोला भएपनि गाउँलेको परिश्रमले गाउँका ३ सय घर परिवार उज्यालोमा बसेका छन् ।’ गाउँभरी बिजुली बलेपछि घर सफा हुनुका साथै टि.भि. हेर्न, रेडियो सुन्न, विद्यार्थीको पठनपाठन, गृहणीको घर धन्दा देखि मोवाईल चार्ज गर्ने सम्मका सुविधा पुगेको पन्थीले बताए । गाउँले कस्सिएपछि वाग्लामा अहिले वाडैपिच्छे लघु जलविद्युत संचालनमा छन् ।
गाउँलेहरूले बिरौटा चिसाखोला लघु जलविद्युत योजनाबाट वार्ड नं २ का ४० घर, आँपटारी लघु योजनाबाट २ र ३ वार्डका २५ घर, खोरघाटबाट ५ वार्डका ४२ घर, रियालेखोला लघु जलविद्युतबाट ७ वार्डका ५० घर, गगनखोली लघुबाट ७ र ८ वार्डका ५० घर, बडाचौर लघुबाट ८ वार्डका ३५ घरले बिजुली बालेका छन् । त्यस्तै कुलाका बाँझ लघुबाट २ वार्डका ७० घरका लागि र साङ्टा योजनाबाट ९ वार्डका ६० घरका लागि विद्युत उत्पादन कार्य भैरहेको स्थानीय शिक्षक हिमप्रसाद पन्थीले बताए ।
बिजुली बाल्नका लागि गाउँलेहरूले हरेक योजनामा ७ देखि १२ लाखसम्म नगद र एक देखि डेढ महिनासम्म प्रति परिवारले श्रमदान गरेका छन् । ‘जीवनको सबै उमेर अध्यारोमै बसेर बितेपनि मर्ने बेलामा घरमा बिजुली बलेकोमा खुशी छु’, वाग्ला-७ का ६५ वर्षिय शशिधर घिमिरेले भने, ‘बुढेसकालमै भएपनि १३ हजार ५ सय नगद र १ महिना झारा लगाएर नातिनातिनाका लागि बिजुली बालिदिएको छु ।’
गाउँलेहरूले नजिकैका खोलाहरूबाट ल्याएको पानीलाई ट्यांकीमा संकलन गरेर ४० देखि १ सय ६० मिटर भर्टिकल उचाईबाट खसालेर २ देखि ९ किलोवाटसम्म विद्युत उत्पादन गरिएको निःशुल्क प्राविधिक सेवा पुर्‍याएका सन्तोष लम्सालले बताए । गाउँलेको विद्युत उत्पादनका लागि पाल्पाको ग्रामिण आर्थिक विकास संघ रेडाले समेत सघाएको छ ।
बिजुली निकाल्नका लागि प्रति परिवार १३ हजार ५ सय रूपैंया संकलन गरेर योजना सम्पन्न गरिएको गगनखोली लघु जलविद्युत आयोजनाका अध्यक्ष ढुण्डीराज घिमिरेले बताए । ‘प्राविधिक देखि गाउँलेहरू सबैले सहयोग पुर्‍याएकोले अधिकांश योजना सस्तोमै सम्पन्न भएका छन्’, उनले भने, ‘२ किलोवाटको गगनखोली योजना ६ लाख ५० हजारमै सम्पन्न गरेका छौं ।’ २ किलोवाटको योजनाबाट गाउँका ४५ घरले २४ सैं घण्टा बिजुली बालेको उनले बताए । गाउँमा बिजुली निकालेपछि खेर गएको पानी समेत गाउँलेहरूले खेत बारीमै सदुपयोग गर्न पाएका छन् । बिजुली निकालेपछि खेर जाने पानी समेत गाउँलेहरूले तरकारी बारीमा सिंचाईका लागि प्रयोग गर्न थालेर तरकारी उत्पादन शुरू गरेका छन् । सधै तरकारी किन्ने गाउँका घरैपिच्छे तरकारी समेत फल्न थालेका छन् ।
स्रोत: नयाँभावना दैनिक 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग