Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"प्लिज मैले आग्रह गर्छु, मलाई न्यायका लागि सहयोग गर्नुस"

Published on 10:21:00 PM //

घनश्याम गौतम
‘मेरो श्रीमान् मरेको छ, मसंग न सम्पत्ति छ, न घरबास छ, न मेरो श्रीमानको मृत्युको कारण नै खुलेको छ, म अन्यायमा परेकी छु, न्यायका लागि सहयोग गर्नुस ।’ १३ दिन अघि रहस्यमय मृत्यु भएका फणिन्द्र भण्डारीको श्रद्धाञ्जली सभामा श्रीमति धना भण्डारीले गुनासो व्यक्त गर्दा उपस्थित सयौंका आँखाबाट आँशु झरे । 

‘मेरो श्रीमान् कहिल्यै परिवारका लागि लडेन, प्रजातन्त्र र गणतन्त्रका लागि दिएको पटक पटकको योगदानकै बदलामा मरेको छ ।’, भावविह्वल हुँदै उनले भनिन्, ‘मेरो केही छैन, तर श्रीमानले कमाएको गुल्मेली जनताको माया मलाई पनि दिनुहोला, एक्लै भएपनि हत्यारा पत्ता लगाउन म लड्ने छु ।’ अत्यन्तै भावविह्वल अवस्थामा गुनासो पोखेकी धनाले राज्यले हत्यारा पत्ता लगाउन नसके न्याय माग्न सबैको घर घरमा आउने बाचा गरिन । उनले कांग्रेस बरिष्ट नेता शेरबहादुर देउवा सहितका आधा दर्जन केन्द्रिय सदस्यहरुसंग कांग्रेसले समेत हत्यारा पत्ता लगाउन र गम्भिर छानविन गर्ने गरी दवाव दिन कुनै पहल नगरेको गुनासो गरिन । ‘प्लिज मैले आग्रह गर्छु, मलाई न्यायका लागि सहयोग गर्नुस ।’ उनले पटक पटक यस्तो आग्रह गरेकी थिईन ।
२०३४ सालमा नेविसंघबाट राजनीति शुरु गरेर पटक पटक जेल जिवन भोग्दै कांग्रेस जिल्ला सचिव समेत भएका कांग्रेस महाधिवेशन प्रतिनिधि  फणिन्द्र भण्डारी माघ १४ गते ‘रहस्यमय मृत’ अवस्थामा काठमाण्डौको एक होटलमा फेला परेका थिए । मृत्युको १३ दिन बितिसक्दा पनि हत्या हो वा स्वभाविक मृत्यु राज्यको तर्फबाट कुनै छानविन नभएको भन्दै परिवारले गुनासो गर्दै आएका छन् । परिवारले स्वभाविक मृत्यु नभै षडयन्त्रमुलक तरिकाबाट हत्या भएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै आएका छन् । उनका श्रीमति सहित एक छोरा र एक छोरी छन् ।
श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश बक्ताहरुले समेत भण्डारीको शरिरको प्रकृति र घाउहरु हेर्दा हत्या नै भएको तर घटनालाई ‘रहस्यमै’ रख्ने प्रयत्न भैरहेको भन्दै कडा छानविनको माग गरेका छन् । एमाले नेता एवं सभाषद प्रदिप ज्ञवालीले परिवारको गुनासो, शवको प्रकृति र अहिलेसम्म भएका गतिविधि र धम्किपूर्ण भाषाहरुले भण्डारीको हत्या नै भएको बताए । ‘मैले फेसबुकको स्टाटसमा लेखेको रहस्यमय मृत्यु भन्ने शब्द प्रति केहीले धम्किपूर्ण भाषा प्रयोग गर्दै ‘रहस्यमय‘ शब्दको परिभाषा खोजे ।’, उनले भने ‘यसले पनि हत्यालाई अन्यत्र मोड्न र हत्यारालाई संरक्षण गर्न ठुलै समुह लागेको आभाष हुन्छ ।’ सरकारले गम्भिर ढंगले छानविन गरेर हत्यारा पत्ता लगाई सार्वजनिक गर्न समेत उनले आग्रह गरे ।
अर्का कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले केन्द्रिय समितिको बैठकमै छानविनको कुरा उठेपनि त्यतिबेला आफुहरुले गम्भिर रुपमा नलिएको भन्दै कार्यक्रममै आत्मालोचना गरे । ‘अब केन्द्रमा पुगेपछि हामी सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेर हत्यारालाई पत्ता लगाउन आग्रह गछौं ।’, उनले भने, ‘बुझ्दै जाँदा यो घटना गम्भिर रहे छ ।’
कांग्रेस केन्द्रिय सदस्य एवं फणिन्द्रका दाजु चन्द्र भण्डारीले षडयन्त्रपूर्ण तरिकाले हत्या गरेर पनि मरेको फणिन्द्रलाई अझै दुःख दिने गरी गलत प्रचारप्रसार भैरहेको भन्दै दुःख व्यक्त गरे । ‘फणिन्द्रको निश्कलङ्क छवि प्रति कसैले आग्रह पुर्वाग्रह नराख्नु होला’, उनले भने, ‘सक्नुहुन्छ, छानविनमा सघाउनुस अन्यथा गलत प्रचार नगर्नुहोस ।’ श्रद्धाञ्जली सभामा कांग्रेस केन्द्रिय सदस्यहरु शंकर भण्डारी, बालकृष्ण खाँड पूर्व केन्द्रिय विदेश विभाग सदस्य त्रैलोक्यप्रताप सेन, जिल्ला सभापति चन्द्र के.सी., जिल्ला स्थित एमाले, माओवादी, जनमोर्चा, नेकपा माले लगायतले स्वच्छ छविका भण्डारीको रहस्यम हत्याको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।
सरकारले भण्डारीको मृत्युको छानविन गर्न प्रहरी उपरिक्षक गोविन्द परियारको नेतृत्वमा छानविन समिति गठन गरेपनि अहिलेसम्म समितिले केही सार्वजनिक गरेको छैन् । कांग्रेस बरिष्ट नेता एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले भण्डारीको मृत्युलाई गम्भिर ढंगले लिएर छानविन गर्ने बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग