Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसलाई ५१ लाख नगद

Published on 8:53:00 PM //

घनश्याम गौतम 
शिक्षा प्रेमी स्वर्गिय परमानन्द भण्डारीका परिवारले धुर्कोट स्थित धुर्कोट बहुमुखी क्याम्पसलाई थप ५१ लाख नगद सहयोग गरेका छन् । दुई वर्षअघि भण्डारी परिवारले सोही क्याम्पस स्थापनाका लागि १० लाख सहयोग गरेका थिए ।
जिल्लाका विभिन्न क्याम्पस र विद्यालयहरूमा लाखौं रकम सहयोग गर्दै आएका भण्डारीको गत महिना सदरमुकाम तम्घास स्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा शालिक अनावरण गर्ने क्रममा विवाद बढेपछि शालिक तोडफोड समेत भएको थियो । शालिक तोडफोडपछि बुबाको योगदानको अपमान भएको पीडाले गाउँकै क्याम्पसलाई परिवारले थप रकम उपलब्ध गराएका हुन् ।
समाजसेवी स्वर्गिय भण्डारीले रेसुङ्गा बहुमुखी क्याम्पसका लागि सदरमुकाम तम्घासको महत्वपूर्ण स्थानमा ५ रोपनी जग्गा र ४ लाख रूपैंयाको जगुलाल भागिरथा स्मृति अक्षयकोष समेत स्थापना गरिदिएका छन् । त्यस्तै जिल्लाका हिमालय उच्च मावि, पाञ्चायन उच्च मावि, इन्दिरा मावि, धुर मावि लगायतका विद्यालयमा आर्थिक सहयोग एवं लाखौं रूपैंयाँका अक्षयकोष स्थापना गरेर शिक्षामा योगदान पुर्‍याएका छन् ।
‘रेसुङ्गा क्याम्पसमा बुबाको योगदानको अपमान भएपछि गाउँको क्याम्पसलाई थप सहयोग गर्न मन लाग्यो’, माहिला छोरा कृष्णप्रसाद भण्डारीले भने, ‘क्षमता नभएपनि पैत्रिक सम्पत्ति र तिन भाईको आम्दानीबाट बुबाको स्मृति सहयोग गरेका हौं ।’ धुर्कोटमा क्याम्पस स्थापनाका लागि समेत भण्डारीले ठुलो योगदान पुर्‍याएका थिए । बाबु आमाका नाममा भएको सबै सम्पत्ति बिक्रि गरेर क्याम्पसलाई सहयोग गरेको भण्डारीले बताए । स्वर्गिय भण्डारीका तिन छोरा मध्ये दुई व्यवसायी हुन् भने अर्का एमाले रूपन्देहीमा सक्रिय छन् ।
५१ लाख नगद सहयोग गरेपछि क्याम्पस व्यवस्थापन समितिले धुर्कोट क्याम्पसको नामाकरण स्वर्गिय भण्डारीकै नामबाट गर्ने तयारी गरेको छ । व्यवस्थापन समिति सदस्य एवं पुर्व सांसद रूद्रमणी शर्मा भण्डारीका अनुसार क्याम्पसको नाम परिवर्तन गरेर ‘धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस’ नामाकरण गर्न लागिएको हो । ‘दोस्रो साधारण सभाले पारित गरिसकेको छ’, उनले भने, भण्डारीको योगदान स्वरूप उहाँकै नामबाट अव क्याम्पस रहने छ ।’ स्वर्गिय भण्डारी क्याम्पसका संस्थापक अध्यक्ष समेत हुन् ।
क्याम्पसमा दुई वर्षदेखि निःशुल्क अध्यापन गराउँदै आउनु भएकी क्याम्पस प्रमुख नानीमैँया मानन्धर शर्मा भण्डारीलाई समेत विहिवारको साधारण सभामा सम्मान गरिएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग