Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आत्महत्या गर्नेहरु बढ्दै

Published on 2:08:00 PM //

आर्थिक अभाव, पारिवारीक कलह र मानसिक तनाव मुख्य कारण 

घनश्याम गौतम 
आर्थिक अभाव र मानसिक तनावले जिल्लामा आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ । पछिल्लो फागुन महिनामा मात्रै ८ जनाले झुण्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् ।
अमरपुर-४ की ३२ वर्षिया लिला गौतमले पनि आफन्तबाटै चरित्र हत्याको आरोप लागेपछि सहन नसकी विष सेवन गरेर आत्महत्या गरिन् । उनले विष सेवन गर्नु अघि आफुले आत्महत्या गर्नुको कारणमा आफन्तले नै चरित्रहत्या गरेको र आर्थिक कारोबारमा समेत विवाद गरेपछि बाँच्न नचाहेको उल्लेख गरेकी छन् । 
आर्थिक अभावमा उपचार बर्षौं देखिको बाथ रोगको उपचार गर्न नसकेपछि बडागाउँ-७ का ६७ वर्षिया कलानिधी भट्टराईले झुण्डिएर आत्महत्या गरे । घरमा अन्य कोही सदस्य नभएपछि छोरीको घरमा बसेर जिवन निर्वाह गर्दै आएका जैसीथोक-५ का ५५ वर्षिया शिबबहादुर सार्कीले पनि एक महिना अघि झुण्डिएरै आत्महत्या गरे ।
त्यस्तै मुस्किलले तिन महिना खान नपुग्ने जग्गाबाट स्थानीय बासिन्दाले मोटरबाटो निर्माण गरिदिएपछि भएको सम्पत्ति समेत सकिएको चिन्ताले बिरबास-५ का ४९ वर्षिया बालकृष्ण नेपालीले गत शुक्रवार आफ्नै पाइन्टको पासो लगाएर बाटो नजिकैको रूखमा झुण्डिएर आत्महत्या गरे । 
झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरूका जिल्लामा यी त उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदी पछिल्लो समयमा नियन्त्रण गर्नै नसक्नेगरी आत्महत्याका घटना बढेको बताउँछन् । उनका अनुसार अधिकांश घटनामा आर्थिक अभाव, पारिवारीक कलह र मानसिक तनावकै कारण धेरैले आत्महत्याको बाटो रोज्ने गरेका छन् । ‘धेरैको आत्महत्याको कारण आर्थिक अभाव र मानसिक तनाव देखिएको छ’, सुवेदीले भने, ‘पछिल्लो चरणमा गित संगितले समेत आत्महत्या बढाउनमा सघाउन थालेको छ ।’, प्रेमले बिरक्त बनाएका शब्द राखेर गितहरू बजारमा आउन थालेपछि पनि आत्महत्या बढ्दै गएको सुवेदीको भनाई छ । 
प्रहरीका अनुसार गत वर्ष जिल्लामा २७ जनाले झुण्डिएर, ५ जनाले विष खाएर र २ जनाले हामफालेर आत्महत्या गरेका थिए । गत वर्षको तुलनामा यस वर्षआत्महत्या गर्नेहरूको संख्या बढ्ने देखिएको छ । फागुन महिनासम्ममा यो वर्ष २३ जनाले झुण्डिएर, १ जनाले डुबेर र १ जनाले विष सेवन गरेर आत्महत्या गरिसकेका छन् । ति मध्ये १८ पुरूष र ७ महिला छन् । गत वर्ष र यस वर्ष मात्र तथ्याङ्कले पनि जिल्लामा मनोबैज्ञानिक परामर्श र ज्ञान दिनु आवश्यक देखिएको सुवेदीले बताए ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले आत्महत्यामा जिल्ला नेपालमै पहिलो हुँदै गएको बताए । ‘हाम्रो जिल्ला सबै भन्दा बढी आत्महत्या गर्ने जिल्ला हो जस्तो लाग्छ’, उनले भने, ‘हरेक क्षेत्रबाट यसको नियन्त्रणका लागि अभियान संचालन गरेमात्र कम गर्न सकिन्छ ।’ सामाजिक क्षेत्रमा क्रियाशिल सबै क्षेत्र र संघ संगठनहरू क्रियाशिल हुनु जरूरी रहेको उनले बताए । पछिल्लो चरणमा मानसिक सन्तुलन गुमाउने र आत्महत्या गर्नेहरूको संख्या धेरै देखिने गरेको डाक्टर पोखरेलले जानकारी दिए ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग