Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सब सम्बाद: कृष्ण प्रसाद भण्डारीसँग

Published on 1:00:00 PM //

यही बैशाख ४ गते देखी ११ गते सम्म तम्घासमा हुन गैरहेको प्रथम गुल्मी महोत्सब-२०६८ को मुख्य उद्देश्य के हो ? के के हुन महोत्सवका मुख्य आकर्षण ? तयारी कस्तो हुँदै छ ? यी र यस्तै महोत्सब सम्बन्धी बिबिध बिषयहरुमा गुल्मीन्युज डट कमले महोत्सब मुल समारोहका संयोजक तथा नेपाल उद्योग वाणिज्य संघ, गुल्मीका अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारीसँग कुराकानी गरेको छ । जिल्ला स्थित पत्रकार तारा भुषालको सहयोगमा लिईएको अन्तरवार्ता : 

गुल्मी महोत्सव आयोजना गर्नुको खास उद्देश्य के हो ?
 श्री कृष्ण प्रसाद भण्डारी 
अध्यक्ष, उद्योग वाणिज्य संघ, गुल्मी 
यस महोत्सवको खास उद्देश्यमा गुल्मी सुन्दर रमणिय, जैविक विविधताले भरिपूर्ण एवं पर्यटकीय संभावना बोकेको जिल्ला भएतापनि यसको प्रचार–प्रसारको अभावले गर्दा पछाडि परिरहेको छ । भौतिक पूर्वाधारको प्रयाप्तता हुँदाहुदैं पनि पछाडि परेको हुँदा गुल्मी महोत्सवको माध्यमबाट प्रचार–प्रसारमा ल्याई यहाँको पर्यटन विकास गर्ने र जिल्लाभित्र लुकेर रहेका कला कौशल, परम्परा संस्कृतिको उजागर गर्ने जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्ने धार्मिक पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने जिल्लाका ७९ वटै गा.वि.स.का पहिचानलाई प्रस्तुत गर्ने मुख्य उद्देश्यका साथ ‘‘गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषि, उद्योग र व्यापार’’ भन्ने मूल नारालाई अगाडी सारेका छौं ।

के के छन महोत्सवका मुख्य आकर्षणहरु ?
जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र रेसुङ्गा, धुर्कोटमा रहेकोद्वार सहित ११ हल रहेको कलात्मक विचित्र गुफा, पवित्र मालिका क्षेत्र, पुर्कोटको कंके देउराली, मदाने क्षेत्र, रुरु क्षेत्र, थाप्लेको लेक, लगायतका प्रसिद्ध स्थलहरुको अवलोकन, रेसुङ्गा घोडचडिको व्यवस्था, परम्परागत वस्तु तथा कला संस्कृतिको प्रर्दशन, परम्परागत शिप र प्रविधिको प्रर्दशन, जाति जनजातिको खानाको प्रर्दशन, विभिन्न जनजातिका झाँकी, गुल्मेली उत्पादनको प्रर्दशन, व्यापार मेला, रमाइलो मेला, बाल उद्यान, ख्यातिप्राप्त राष्ट्रिय र जिल्लाका कलाकारहरुको वेजोड प्रस्तुती, बृहत स्वास्थ्य शिविर, गुल्मेली पुस्तक प्रर्दशनी, पश्चिमाञ्चल स्तरीय साहित्यीक गोष्ठी, कृषि प्रर्दशनी, माटो जांच शिविर, प्याराग्लाइडिङ आदि आर्कषणहरु रहेका छन् भने जिल्लाको कफी, अदुवा, दुग्ध व्यवसाय, भार्सेमा रहेको नेपालकै नमुनाको अगरउड नर्सरीको प्रर्वद्धन मुख्य आर्कषणहरु रहेका छन् ।

महोत्सवले स्थानीय उत्पादनको बजार सवलीकरण कसरी गर्छ ?

यस महोत्सवमा मुख्य रुपमा हामी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले अगाडी बढिरहेका छौं । गुल्मी जिल्लामा औधोगिक प्रतिष्ठान कलाकारखानाहरु छैनन तापनि साना घरेलु तथा कृषिजन्य वस्तुका उद्योगहरुबाट उत्पादित वस्तुहरुको आगमनको संभावना बढिरहेको छ । हाम्रो प्राथमिकतामा पनि जिल्लामा उत्पादित वस्तुको प्रर्दशनलाई अगाडी राखेका छौं । हुन त वैशाखको समयमा जिल्लामा कृषि उत्पादनको लागि मौसम प्रतिकुल छ । त्यसैले जिल्ला कृषि विकास कार्यालयको सहयोगमा हामी कृषि उत्पादनका पकेट क्षेत्रलाई खबर गरिरहेका छौं । यस प्रकार जिल्लाका स्थानीय उत्पादनलाई सवलीकरणमा हाम्रो मुख्य प्रयास रहनेछ ।

महोत्सवमा सहभागिता र कारोबारको अपेक्षा कस्तो छ ? तयारी कहाँसम्म पुग्यो ?
महोत्सव अवधिभर करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको महोत्सवमा विभिन्न क्षेत्रका गरी १०० वटा स्टलहरु रहने छन् । प्रथम महोत्सव रहेकोले व्यापार भन्दापनि कृषि, घरेलु उद्योग तर्फ हाम्रो बढी ध्यान गएको छ तर पनि धेरै व्यापारिक प्रतिष्ठानहरुका स्टल रहनेछन् । हाल प्रचार–प्रसारलाई व्यापकता दिनुको साथै पर्यटकीय स्थानको अवलोकनका निम्ती आवश्यक व्यवस्था, सदरमुकामको सरसफाई लगायतका धेरै
कार्यहरु अगाडी बढेको छ । भने चैत ४ गते १ टोली अतिथिको आमन्त्रण र व्यापारिक प्रतिष्ठानसंग परामर्शका निम्ती काठमाडौं जादैंछ । समग्रमा तयारी द्रुत गतिमा अगाडी बढ्दै छ ।

महोत्सवबमा स्थानीयका अलावा बाह्य उत्पादनका स्टलहरुले कत्तिको स्थान पाउने छन? के छ उनिहरुलाई आकर्षित गर्ने योजनाहरु ?
यस महोत्सवमा स्थानीय उत्पादनको अलावा विदेशी उत्पादनका स्टलहरुले पनि उपयुक्त स्थान पाउनेछन् । गुल्मी जिल्लामा विदेशी उत्पादनका वस्तुहरुको प्रयोग अधिक मात्रा हुने गर्दछ । महोत्सवको उक्त समयमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने सम्भावना रहेको छ । यस अवसरमा स्टलमा सहभागी कम्पनीहरुको प्रचार–प्रसारमा ठुलो सहयोग पुग्ने हुँदा मुख्य आर्कषण भनेको नै दर्शकहरुबिचको प्रचार–प्रसार हो भन्ने लाग्दछ ।

महोत्सवले जिल्लाका दुर्गम क्षेत्रमा रहेका पर्यटकिय सम्भावना र उत्पादनहरुलाई पनि समेट्छ भन्ने आधार के छ त?
गुल्मी एक पहाडी जिल्ला रहेको र यहाँ ठुला कलकारखानाहरु नभएको अवस्थामा हाम्रो प्रमुख उद्देश्य नै धार्मिक र कृषि पर्यटनलाई प्राथमिकता दिनु हो । त्यसैले हामीले जिल्ला स्थित सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, व्यवसायी, नेपाल सरकारका कार्यालय प्रमुख सबैसंग समन्वय गरी अगी बढेका छौं । त्यसैगरी जिल्लाको सबै महत्वपूर्ण स्थानहरुको अवलोकन र स्थानीय व्यक्तिहरुसंग सम्पर्क गर्ने कार्य समाप्त
गरिसकेका छौं । जिल्ला भित्रका घरेलु उद्योगका सामान स्टलबाट बिक्रि नभए उद्योग वाणिज्य संघले खरीद गरिदिने व्यवस्था मिलाएका छौं ।

मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने कुरालाई कसरी पुष्टि गर्नुहुन्छ ?
यस अवसरमा हामी गुल्मी जिल्ला भित्रका सबै धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन गराउने उद्देश्य राखेका छौं । महोत्सवको समयको मौसम पनि हावापानीको दृष्टिकोणले अनुकूल रहेको छ । गुल्मी जिल्लाका छिमेकी जिल्ला तराई क्षेत्रमा पर्ने भएकाले त्यो समयमा पनि छिमेकी जिल्लावासी आउने संभावना बढि छ । साथै उक्त महोत्सवमा प्याराग्लाइडिङ्ग, रेसुङ्गा क्षेत्रमा धार्मिक सभा, बसोबासको व्यवस्था गरिएको छ । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । पर्यटन वर्ष २०११ को सुअवसर पनि भएकाले आन्तरिक पर्यटकको आगमन हुने कुरामा हामी विश्वस्त छौं ।

महोत्सवको अनुमानित बजेट कती हो ? कसरी ब्यवस्था गर्नु भएको छ ?
नेपालमा हुने गरेका यस्ता महोत्सवहरुम कराडौं खर्च हुने गरेको छ तापनि गुल्मी महोत्सव–२०६८ का निम्ती ५० लाखको अनुमानित बजेट बनाएका छौं भने नेपालमा राम्रा कामहरुलाई पनि सकारात्मक रुपमा लिन नसक्ने प्रवृत्ति विकसित हुदैं गइरहेको वर्तमान अवस्थामा हामीलाई ठुलो आर्थिक कठिनाई हुने देखेका छौं । तापनि विभिन्न व्यापारिक प्रतिष्ठानहरुबाट २० लाख, जिल्ला विकास समिति गुल्मीबाट १० लाख टिकट तथा स्टलबाट ६ लाख शाखा राखेका छौं भने गुल्मी उद्योग वाणिज्य संघको आफ्नो श्रोत नहुँदा अन्य प्रायोजक खोज्ने कार्य जारी छ ।

प्रचार-प्रसार र जानकारीको लागी संघको वेबसाइट त खासै प्रभावकारी देखिएन नि ?
त्यो हामीले पनि महशुस गरेको कुरा हो । www.gccigulmi.com यहि प्रथम गुल्मी महोत्सवलाई लक्षित गरी तैयार गरिएको वेव साइट हो । यो अहिले पनि Under Construction को अवधिमा रहेकोले २–४ दिन भित्रमा यसलाई Daily Update गर्ने तैयारी भइरहेको जानकारी गराउदछौं ।

जिल्ला बहिर र समग्र देश बाहिर रहनुभएका गुल्मेलिहरुलाई कसरी समेट्ने प्रयास गर्नुभएको छ ?
जिल्ला बाहिर गुल्मेली बढी बसोबास गर्ने काठमाडौं, नारायणगढ, भैरहवा, बुटवल जस्त शहरहरुमा ५ वटा ठुला–ठुला भेलाहरु आयोजना गरिसकेका छौं भने पोखरा लगायतका ठाँउमा तत्काल जाने कार्यक्रम रहेको छ । उक्त समयमा सबैलाई जिल्ला आउन आमन्त्रण गरेका छौं । त्यस्तै गुल्मीका ४ वटै रेडियो, तानसेन, बुटवल र काठमाडौंका एफ.एम रेडियो तथा वेवसाइट मार्फत देश विदेशमा रहने सबै गुल्मेलीलाई उक्त महोत्सवमा सहभागी बन्न आमन्त्रण गरेका छौं ।

देश बाहिर रहने नेपालीहरुको योगदान के हुनसक्छ महोत्सवको लागी ?
धन्यवाद सञ्जु जि एकदम महत्वपूर्ण कुराको उठान गर्नुभयो । गुल्मी उद्योग वाणिज्य संघ गुल्मेली व्यापारीहरुको संगठन हो तर हाम्रो संघमा आयश्रोतका माध्यम खासै नभएकाले आर्थिक दृष्ट्रिकोणले कमजोर नै छौं । प्रथम पटक गर्न लागिएको यस महोत्सवमा हाम्रो अनुभवको कमिले काम गर्ने क्रममा धेरै कमि कमजोरी रहेका छन् । त्यसैलेहामी हाम्रा देश बाहिर रहेका सबै नेपालीहरुमा आर्थिक, भौतिक, नैतिक सहयोगको लागि अपिल गर्दछौ । साथै रचनात्मक सुझाव सल्लाहको अपेक्षा गर्दै यो महोत्सवलाई सबैले आफ्नै घरको ठूलो यज्ञको रुपमा लिई प्रचार–प्रसार गरिदिनुहुन र समय मिलाई उक्त अवसरमा सबैलाई १ पटक आइदिनुहुनका लागि अनुरोध गर्दछौं ।

अन्त्यमा ?
अन्त्यमा,  तपाइले विगत धेरै दिनदेखि हाम्रो महोत्सवको बारेमा www.gulminews.com मार्फत जुन प्रचार–प्रसार गर्नुभएको छ त्यस प्रति हामी आभारी छौं । र आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छौं ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग