Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहयोग वितरण गर्दै बेलायतबासी गुल्मेलीहरुको टोली गाउँगाउँमा

Published on 10:45:00 PM //

घनश्याम गौतम
गुल्मी जिल्ला समाज यु.के.का प्रतिनिधिहरुले गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओम थापाको नेतृत्वमा आएको टोलीले तम्घासमा रहेको आशा अपाङ्ग केन्द्र, धुर्कोट बस्तुको नेपाल रेडक्रसको उपशाखा, शान्तिपुर, हरेवा लगायतका स्थानमा आर्थिक सहित एम्बुलेन्स संचालनका लागि सहयोग उपलब्ध गराएको हो ।
टोलीले बेलायतमा रोजगारीका लागि गुल्मीबाट गएका गुल्मेलीहरुसंगबाट विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक रकम मध्ये जिल्ला भरका अपाङ्गहरुलाई सहयोग पुर्याउने गरी २ लाख ५० हजार नगद, गुल्मीका सम्पूर्ण पश्चिमी क्षेत्रका सर्वसाधरणलाई सहयोग पुग्ने गरी एम्बुलेन्स, शान्तिपुरका अपाङ्ग एवं असाहाय परिवारको सहयोगका लागि १ लाख ५० हजार, नगद र हरेवा गाविसका झापक प्राथमिक विद्यालयलाई समेत
आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले उपलब्ध गराएको एम्बुलेन्स गुल्मी जिल्लाको पश्चिमी क्षेत्रमा संचालन हुने पहिलो एम्बुलेन्स भएको छ । जिल्लामा एक दर्जन एम्बुलेन्स संचालन भएपनि पश्चिम क्षेत्रका २८ गाविसका सर्वसाधरणलाई सेवा पुग्ने गरी गुल्मी जिल्ला समाज यु.केले पहिलो एम्बुलेन्स उपलब्ध गराएको हो ।
समाजको आर्थिक सहयोग टोलीमा समाजका सल्लाहकार मोती भण्डारी, सह कोषाध्यक्ष अर्जुन गौतम लगायतको टोली सहयोग हस्तान्तरणका लागि शान्तिपुर पुगेको छ । यस अघि समाजले शान्तिपुरमा रहेको चन्द्रकोट क्याम्पसलाई १० लाख नगद सहयोग गरेको थियो भने समाजकै सहयोगमा गत वर्ष देखि गुल्मीकै जोहाङ्गमा एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो । रोजगारीका लागि विदेशी भुमिमा पुगेपनि जन्मभुमी प्रतिको माया र समाजका लागि केही सहयोग गर्नुपर्छ भन्ने सेवा भावका साथ बेलायतमा बस्ने गुल्मेलीहरुले संकलन गरेको रकम समाजका गरिब, असहाय, अपाङ्गलाई सेवा पुग्ने गरी उपलब्ध गराएको गुल्मी समाज यु.के.का अध्यक्ष ओम थापाले बताउनु भयो ।
त्यस्तै समाजका सल्लाहकार मोती भण्डारीले रकम संकलनका बेला केही चुनौती र समस्या खडा भएको भएपनि हस्तान्तरण गर्न पाएपछि निकै उत्साह थपिएको र थप सहयोग गर्नुपर्छ भन्ने भावको विकास भएको बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा स्थानीय बासिन्दाहरुले समाजका अध्यक्ष एवं प्रतिनिधिहरुलाई खुशीयालीका साथ भब्य स्वागत गरेका थिए । रकम हस्तान्तरण कार्यक्रमका समाजका कोषाध्यक्ष अर्जुनप्रसाद गौतमले भोलीका दिनमा पनि समाजले जन्मभुमी प्रतिको माया र सहयोगको भावनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । समाजले अन्य देशमा पुग्ने गुल्मी जिल्लाबासीहरुका लागि पनि प्रेरणा पुग्ने गरी सहयोग हस्तान्तरण कार्यक्रमको बृत्त चित्र निर्माणका लागि नेपाल टेलिभिजनका पत्रकारहरुलाई संगै लिएर हिडेको छ ।
बृत्त चित्र निर्माण गरी बेलायतमा लगेर नेपाली टि.भिबाट प्रशारण गर्ने र सिडि बनाएर विक्रि गरी अरुलाई पनि सहयोगको भावना विकास गर्ने गरी जागृत गराउने अध्यक्ष थापाले जानकारी दिनु भएको छ । टोलीलाई जिल्लाका पत्रकारहरुले समेत स्वागत गर्दै यस्ता सहयोगका रकमहरु उपलब्ध गराउँदै जिल्लाको विकासमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग