Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै घर वरपर रहेका औषधीहरु उपयोगविहीन

Published on 3:49:00 AM //

पि.एम.मगर
आफ्नो घर आगन तथा वन जङ्गलमा पाईने जडिवुटीहरुको प्रयोग विधीका विषयमा जान्न पाउँदा आफुहरु उत्साहित भएको एक तालिमका सहभागीहरुले जोड् दिएका छन् ।

घर नजिकै पाईने यस्ता जडिवुटीको उपयोगीताको विषयमा ज्ञान नहुँदा यसलाई कुनै महत्व नदिईएको तर तालिमवाट यसको महत्वको विषयमा जानकारी पाएपछि यसको व्यवस्थापन तथा उपयोगितातर्फ आफुहरु लाग्ने उनीहरुले वताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उपल्लो तमघास, गुल्मीले आयोजना गरेको आमा समुहको लागि आयुर्वेद तथा जडिवुटी संवन्धी परिचयात्मक तालिममा सहभागीहरुले यस्तो वताएका हुन् । तालिममा विशेष गरी हाम्रै घर आगन वरपर पाईने विभिन्न किसीमका जडीवुटीहरुको नाम, यसको महत्व, प्रयोग विधी लगायतका विषयमा विभिन्न क्षेत्रवाट सहभागी भएका आमा समुहका पदाधिकारीहरुलाई प्रशिक्षण दिईएको थियो । महत्व र उपयोगीताका विषयमा जानकारी हुन नसक्दा त्यसै खेर गईरहेका पुदिना, घयूकुमारी, कुरिला, गुर्जो, घोडेटाप्रे, तुलसी, काफल, धँईरो लगायतको उपयोगीताको विषयमा प्रशिक्षण दिईएको प्रमुख प्रशिक्षक तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवालीले वताउनुभएको छ ।
उपल्लो तमघास स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गुल्मीको मातहतमा रहेका रिडी आयुर्वेद औषधालय रुरु, पुर्तिघाट आयुर्बेद औषधालय, पुर्तिघाट र पिपलधारा आयुर्वेद औषधालय, पिपलधारावाट पनि आयुर्वेद उपचार सेवा दिईने गरिन्छ । साथै स्वास्थ्य केन्द्रले आयुर्बेद  चिकित्साको विषयमा एक उपयोगी पत्र जारी गर्दै चिकित्सक वा स्वास्थ्यकर्मीसँग नवुझी म्याद नाघेका, सुरक्षित प्याकिङ्ग नगरिएका र औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी प्रयोग नगर्न, घर वरपर करेसावारी तथा फुलवारीमा पुदिना, घ्यूकुमारी, कुरिलो, गुर्जो, घोडेटाप्रे, तुलसी जस्ता वोट विरुवा रोप्न, नियमित रुपमा योग, प्रणायाम र व्यायाम गर्न साथै सकेसम्म प्राकृतिक खानेकुरा प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै स–साना वालवालिकाहरुलाई जङ्क फूडको सट्टा रोटी, तरकारी, चना, सातु जस्ता घरमै तैयार गरिएका नास्ताहरु खुवाउने वानी वसाल्न, सधै सफा
रहन र वातावरण सफा राख्ने वानी वसाल्न अपिल समेत गरेको छ ।
कार्यक्रममा विशेष अतिथिको रुपवाट वोल्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले महिला शिक्षित हुनु नै समग्र परिवार शिक्षित हुनु हो भन्दै आयुर्वेद स्वास्थ्य केन्द्रले आमा समुहका लागि दिएको उक्त तालिम महत्वपुर्ण हुने वताउनुभएको थियो । साथै उहाँले तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारिक रुपमा उतार्न र छिमेकीहरुलाई सचेत पार्न समेत आग्रह गर्नुभएको थियो । ३० जना महिलाको सहभागीता रहेको उक्त तालिममा स्वास्थ्य केन्द्र प्रमुख डा. ज्ञवाली, तालिम संयोजक कमल आचार्य लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग