Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आठ वर्षपछि बल्यो बिजुली, गाउँलेहरु हर्षित

Published on 8:22:00 PM //

भरत पाण्डेय, 
गुल्मीको उत्तर-पूर्वी अति विकट गाविस ग्वाघाका जनताले ८ वर्षको
मेहनतपछि बिजुली बालेर गाउँ झिलिमिली पारेका छन्। सामुदायिक विद्युतीकरण योजनाबाट गाउँमा बिजुली बाल्ने प्रयास गरेका जनताले ८ वर्षको अथक प्रयासपछि बिजुली बालेर गाउँ झिलिमिली पारेका हुन् । 
शान्तिपुर इलाका सामुदायिक विद्युतीकरण योजनाअन्तर्गत बिजुली बाल्ने काम शुरु गरेका ग्वाघाका जनताले सामुदायिक विद्युतीकरण योजनाअन्तर्गतको सरकारको असी बीस कार्यक्रमअनुसार करिब ४५ लाख रुपियाँमा सो गाविसमा बिजुली बलेको सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका सदस्य टेकबहादुर पुनले बताउनुभयो। बिजुली बाल्नको लागि जनताले २ लाख र गाउँ विकास समितिले ७ लाख गरी जनताको तर्फबाट ९ लाख रुपियाँ खर्च भएको र बाँकी सरकारी खर्चमा बिजुली बलेको उहाँले बताउनुभयो।

ग्वाघासँगै काम शुरु गरेका शान्तिपुर इलाकाका अन्य विभिन्न गाविसमा ४-५ वर्षपहिल्यै बिजुली बालेपछि मूल उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारको लापरबाहीका कारण उनीहरुले काम शुरु गरेको ८ वर्षपछि मात्र बिजुली बाल्न पाएका हुन्।
जिल्लाको अति विकटमध्येको गाविस मानिने ग्वाघामा लामो प्रतीक्षा र धेरै मेहनतपछि गाउँमा बिजुली बलेपछि स्थानीय जनता निकै हर्षित भएका छन्। केन्द्रीय प्रसारणकै बिजुली गाउँमा बलेपछि घर-घरमा रेडियो र मोबाइल चलाउन सबैभन्दा सहज भएको स्थानीय बासिन्दाले बताएका छन्। मोबाइल चार्ज गर्न सोलारबाहेक अर्को विकल्प नहुँदा घरमा सोलार नहुनेहरु साचार सम्पर्कबाट समेत टाढा हुनुका साथै हप्तौंसम्म पनि मोबाइल स्वीच अफ गरेर राख्न बाध्य थिए। मोबाइल चार्ज गर्न र उज्यालोमा मज्जाले अध्ययन गर्न पाएकोमा निकै खुशी लागेको विद्यार्थी मधुमाया पुनले बताउनुभयो। भारतीय सेना र ब्रिटिस सेनाका लाहुरे तथा पूर्वसेना रहेको गाउँमा धेरै वर्षदेखि थन्क्याएर राखेका टिभीहरु पनि बल्ल हेर्न थालेको स्थानीय बुद्धिमाया थापाले बताउनुभयो।

गाउँमा हिउँद महिनामा मात्र गाडी चल्ने मोटरबाटो पुगेको ग्वाघावासी बिजुली बलेपछि विकासको ढोका खुल्नेमा आशावादी छन्। ग्वाघा गाविस वार्ड नं. ५ का ८८ वर्षीय वृद्ध भीमप्रसाद गौतमले गाउँ झिलिमिली भएको देख्न पाएकोमा गौरवको अनुभूति गर्दै भावी छोरानातिले विकासको अनुभूति गर्न पाएकोमा आफ्नो आत्माले पनि शान्ति पाएको बताउनुभयो। उहाँले यो विकास देखेर मर्न पाउँदा आफू स्वर्गमा जाने भन्दै खुशी व्यक्त गर्नुभयो।
गाविसका करिश १ हजार ५ सय घरधुरीमध्ये जम्मा ४ सय ५० घरधुरीमा मात्र बिजुली बले पनि अझै १ हजार ५० विपन्न परिवारका सदस्यले रकम जम्मा गर्न नसकेको कारण बिजुली बाल्न नसकेको र गाविस तथा अन्य निकायको सहयोगमा उनीहरुको घरमा पनि बिजुली पुर्याइने स्थानीय समाजसेवी तथा शिक्षक उदय पुनले बताउनुभयो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग