Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लग बार्ता: राम प्रसाद खनालसँग

Published on 5:33:00 PM //

भर्खर एस.एल.सी दिएको एक १६ बर्षे किशोर आफैले पालेको एक जोर परेवा बोकेर घर छोड्छ । उच्च शिक्षा लगायत अनेक सपना बोकेर बाटोमा  त्यही परेवा दश रुपैयाँमा बेची आफ्नो जन्मथलो धरमपानीबाट बुटवल झर्छ त्यो किशोर ।
खाली हात बुटवल झरेर संघर्ष गर्न थालेको त्यही किशोर पछी कलाकार रामप्रसाद खनाल भएर निस्किन्छ । करीब ४ दशक पहिले गुल्मीको हर्दिनेटा गाविस वडा नं २ स्थित मैनडाँडामा जन्मेका  राम प्रसाद खनाल पेशाले लोकगायक, पत्रकार तथा कलाकार हुन । एकताका खनालले नेपाल टेलिभिजनका लागि निर्माण, निर्देशन एंब सन्चालन गरेको कार्यक्रम लोक दोहोरी खुबै चर्चित थियो , कार्यक्रमको चर्चासँगै चर्चित थिए खनाल पनि । तर हाल भने खनाल अमेरिकामा छन । यसपल्टको ब्लग बार्ताको लागि गुल्मीन्युजले उनै रामप्रसाद खनालसँग कुराकानी गरेको छ । खनालका राजनीतिक र पेशागत बिषयहरुमा राष्ट्रिय मुलधारका मिडियाहरुमा थुप्रै अन्तर्वाता, लेखरचनाहरु आईसकेका हुनाले गुल्मीन्युजले त्यस्ता बिषयहरु नभै नितान्त ब्याक्तिगत, स-साना तर महत्वपूर्ण बिषयहरु कुराकानी गरेको छ । प्रस्तुत छ खनालसँगको ब्लगवार्ता:
१.राम प्रसाद जी के गर्दै हुनुहुन्छ अमेरिकामा ?
-अमेरिकि कम्पनी वालमार्टमा ग्राहक सेवा ब्यवस्थापकको जागिर छोडेर अहिले Long and Foster University मा अध्ययन पस्चात Realtor का रुपमा (घर-जग्गाको ब्यापार) गर्दैछु । यसबाहेक अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिकाको गतिबिधिहरु र नेपाल मदर डट कमको सम्पादनमा ब्यस्त छु ।

२.तपाईं त नेपालमै मजाले जमी रहनुभाथ्यो, एक्कासी के ले तान्यो अमेरिकामा?
-कलाकारिता र पत्रकारिताको क्रममा थुप्रै देशहरु घुमेँ, बिदेश भनेर म कहिल्यै आकर्षित भईन । अमेरिकाले पनि मलाई आकर्षित गरेको होइन । २०६४ मा माओवादीको अपहरणमा परेँ । जीवन रक्षाको सवाल आयो, म वाध्य भएर अमेरिकामा आई बसेँ । अमेरिका मेरो रहर नभै बाध्यता हो । 

३.गुल्मी नजानुभएको कती भयो? २०५५ सालदेखी आफ्नो जन्म थलो गुल्मीको धरमपानी जानु भा छैन, माया लाग्दैन अफु जन्मेको माटोको ? 
-तपाईंले भनेको सही हो, म २०५५ सालदेखी आफ्नो गाउँ धरमपानी गएको छैन । आफु जन्मेको, हुर्के-बढेको ठाउँको माया कस्लाई पो नलाग्ला र ? असुरक्षाले गर्दा जान सकिन तर २०६० सालमा भने तम्घासमा आयोजीत एक कार्यक्रममा हेलिकप्टर मार्फत गएको थिँए अतिथिको रुपमा । धरमपानी भने चाहेरै पनि जान सकिन, अहिले पनि अधुरो चाहना पल-पल बल्झिरहन्छ । 

४.गुल्मीमा छँदाको समयको बारेमा बताइद्दिनुस् न ! 
-साह्रै रमाइलो थियो त्यो समय । गुल्मीमै म जन्मेँ, हुर्केँ अनी दिगामको आदर्श माबीबाट १५ बर्षकै उमेरमा एस.एल.सी सकाएँ । गुल्मी मेरी आमा हुन, स्कुल हुन, शिक्षा हुन मेरो नशा नशामा गुल्मी छ, नेपाल छ । 

५.स्कुले जीवनको कुनै अविष्मरणिय घटना ? 
-त्यस्ता धेरै घटना छन जुन म एक एक गरेर अहिले भन्न सक्दिन तर केही कुरा तपाईंले मेरो वेबसाईट मा हेर्न सक्नुहुनेछ । 

६.तपाईं त आँफैले पालेको एक जोर परेवा मात्र बोकेर घर छोड्नु भको थियो रे ! कस्तो थियो त्यो क्षण ?
-हो म आफैले घरमा पालेको एक जोर परेवा १० रुपैँयामा बेचेर, त्यही १० रुपैँया खल्तिमा हाली गाउँ छोडेको थिए । त्यही १० रुपैँया बोकेर क्यम्पस पढ्न बुटवल झरेदेखी मेरा संघर्षका दिन सुरु भएका थिए । त्यो क्षण सम्झिदा अहिले लाग्छ म एक दिशाहिन यात्री जस्तै थिए त्यतिबेला, कहाली लागेर आउँछ अहिले ।

७.संघर्षका दिनहरुमा  तपाईंलाई सघाउने को हुनुहुन्थ्यो?
-संघर्षको बेलामा सघाउन चाहने मेरो परिवार, आफन्त, साथीभाइहरु हुँदाहुँदै पनि मैले कसैको सहयोग खोजिन । आँफैले आफैलाई सघाएँ, पछी धेरैको सहयोग र साथ पाएँ । 

८.राम प्रसाद पैसा कमायो, ठुलो मान्छे भयो, गाउँलाई बिर्सियो भन्ने आरोप छ नि ?
-म त एक सामान्य परिवारमा जन्मेको मान्छे जो न कहिल्यै मात्तियो न कहिल्यै आत्तियो । कमाउने भन्दा पनि, सामान्य आफु र आफ्नो परिवार हेर्ने मात्र भएको हुँ । मेरो कमाइ भनेकै तपाईंहरुकै माया-ममता हो । म मर्न सकुँला तर म मेरो जन्मभुमीलाई कहिल्यै भुल्दिन । 

९.अमेरिकामा स्थाइ बसोबास गर्ने तपाईंको आफ्नो गाउँ ठाउँ र जिल्लाप्रतिको योगदान के ?
-नढाँटी भन्नु पर्दा मैले अहिलेसम्म आफ्नो जिल्लाको लागि कुनै प्रत्यक्ष योगदान दिन सकेको छैन । यसमा मलाई साह्रै दु:ख लगेको छ । अवसर मिलेमा पछी हट्ने छैन । 

१०.आफ्नो गाउँ-ठाउँ र समग्र जिल्लाको बिकासको लागि के चाँही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
-म नेपाल बिद्युत प्राधिकरणमा कन्सल्टेन्टको रुपमा काम गर्दा धेरै प्रयास गरेकै हुँ । केहीमा सफलता पनि हासिल भए । अब पनि प्रयास गर्नुपर्छ, म आफ्नो ठाउँबाट सक्दो प्रयास गर्छु । 

११.आफ्नो जिल्ला प्रती कती चासो राख्नुहुन्छ ? कसरी अप्डेट हुनुहुन्छ गाउँठाँउ को खबरहरुसँग ?
-भौतिक रुपबाट टाढा भएपनी मन मुटु गुल्मीमै छ । म हर माध्यमबाट स्पर्शमा छु आफ्नो गाउँ ठाउँसँग । 

१२.तपाइको पुस्तक गुल्मी देखी अमेरीकासम्मको गुदी कुरो बताइदिनुहोस न ?
-"गुल्मी देखी अमेरिका सम्म", मैले दुई बर्षा अगाडी प्रकाशित गरेको हुँ । यसमा मेरो ब्याक्तिगत अनुभब, जीवनका उतारचढाव र यथार्थ कुराहरु समावेश छन । बाँकी राम्रा नराम्रा पक्षहरु मुल्याङ्कन गर्ने जिम्मा तपाईं पाठकहरुकै ।

१३.आफ्नो गाउँ-ठाउँ र समग्र जिल्ला नै छोडेर बहिर रहनुभएको गुल्मेली दाजुभाइ दिदीबहिनिहरुलाई के भन्न चाहनुहुन्छ ?
-हामी जहाँ रहौँ आफ्नो जन्मभुमी, कर्मभुमी आफ्नो देश र सँस्कृतिलाई सधैं माया गर्नुपर्छ । परिस्थितीबश तन बिदेशमा भएपनी मन मुटु नेपालमै हुनुपर्छ । कर्म गर्नुपर्छ, देशको लागि योगदान दिनुपर्छ । 

१४.गुल्मीन्युज हेर्ने गर्नु भएको छ ? अन्त्यमा गुल्मीन्युज डट कमलाई केही सल्लाह सुझाब ?
-गुल्मी न्युज सधैं हेर्छु । असाध्यै खुशी लाग्छ । तपाईंको प्रयासको म हार्दिक सराहना गर्दै यसको निरन्तरताको कामना गर्छु । आफ्नो जन्म गाउँ, जिल्ला मात्र होइन समग्र नेपाल र नेपालीको बिकासको लागि अहम भूमिका बन्न सकोस शुभकामना ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग