Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संयुक्त संघर्षका लागि दलित साझा मञ्च घोषणा

Published on 2:02:00 AM //

दलितको अधिकार सुनिश्चित नगरे संसद चल्न नदिने: सभाषद विक
पी.एम.मगर
आगामी संविधानमा दलितहरुको अधिकार सुनिश्चित गर्न र सवै खाले विभेदको अन्त्य गर्न गुल्मीमा बिहीवार संयुक्त संघर्षका रुपमा दलित साझा मञ्चको घोषणा गरिएको छ । 

घोषणा सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सभाषद एवं अन्तराष्ट्रिय संवन्ध तथा मानवअधिकार संवैधानिक समितिका सभापति पद्यमलाल विश्वकर्माले संविधानमा दलितहरुको अधिकार सुनिश्चित गर्न कुनै दलले रोकावट गरे देशभरका दलितहरुले सिंहदरवार घेर्ने र संसद चल्न नदिने चेतावनी दिनुभएको छ । एउटै मञ्चमा उभिएर गुल्मेली दलितहरुले देशभरलाई मात्र नभई संसारलाई नयाँ सन्देश दिएको भन्दै सभाषद विश्वकर्माले आज सदरमुकाम तमघासमा यस्तो वताउनुभएको हो । 
एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तीमोर्चाका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका सभाषद विश्वकर्माले अव दलितहरु कसैलाई प्रधानमन्त्री वनाउन त कसैलाई नेता वनाउनका लागि गोठालो जस्तो भएर कुनै दलको पछाडी नलाग्ने र यदी कुनै दलले दलितलाई अधिकार दिन कुञ्जुस्याँई गरे ती दलहरुवाट दलितहरुले विद्रोह गरेर जुन दल दलित अधिकारको पक्षमा छ त्यसैमा लामवद्ध हुनुपर्ने सुझाव दिनुभएको छ । दयाका रुपमा दलितले आरक्षण नभएर अव विशेष अधिकार पाउनुपर्नेमा उहाँले जोड् दिनुभएको छ । 
आजको युगमा वैधानिक अधिकार भनेको विशेष अधिकार भएको भन्दै सभाषद विश्वकर्माले आरक्षण कसैको दयामा पाउने कुरा भएको र अव  दलितहरु कसैको दयामा नवाँच्ने धारणा राख्नुभएको छ । छुवाछुत तथा भेदभाव सार्वजनीक स्थानमा मात्र नभई जुनसुकै स्थानमा कसैले गर्छ भने त्यस्ता अपराधीहरुलाई ज्यान संवन्धी सजायँ सरहको कानुनी व्यवस्था हुनुपर्नेमा उहाँले जोड् दिनुभएको छ । दलितहरु यसरी एउटै थलोमा उभिरहेको वेला चुनौती दिँदै धुर्कोट वस्तुमा हालै मन्दिरमा पुजा गर्न जाने क्रममा सेती विश्वकर्मालाई कुट्ने ती व्याक्तिलाई कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा उहाँले जोड् दिनुभएको छ ।
२० औँ हजार दलितहरुको सहभागीतामा पञ्चेवाजा र विविध कार्यक्रमका साथ निस्किएको जुलुस सदरमुकाम तमघास वजार परिक्रमा गरी वालमन्दिर प्राङ्गणमा सभामा परिणत भएको थियो । केही वेर परेको पानीले सभा विथोलिए पनि पानी पर्न रोकिएपछि पुनः शुरु भएको कार्यक्रममा दलित साझा मञ्च गुल्मीका संयोजक गणेश विश्वकर्माले मञ्चको औपचारीक घोषणा गर्नुभएको थियो । उहाँले घोषणासंगै गुल्मेली दलितहरुले राखेका दलित अधिकारका साझा मागहरु सभाषद पद्यमलाल विश्वकर्मालाई वुझाउनुभएको थियो । आफुहरुका मागहरु व्यवस्थापिका संसदमा पेश गरी पुरा गराईदिन समेत माग गर्नुभएको थियो । 
सभाषद विश्वकर्माले व्यवस्थापिका संसदमा विभिन्न दलका पचास जना संसद रहेकोले यी मागहरु साझा रुपमा पुरा गराउने र आफ्नो पार्टी एकीकृत नेकपा माओवादीवाट पनि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस निकट नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष कमल विश्वकर्मा, नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष जगत विश्वकर्मा, एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मगरात राज्य समितिका संयोजक चन्द्रवहादुर विश्वकर्मा, सोही मोर्चाका केन्द्रीय सदस्य खड्ग दर्नाल, नेकपा एमाले निकट जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनार, राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाजका केन्द्रीय सल्लाहकार राम वसु लगायतको विशेष आतिथ्यता रहेको थियो ।
सभा भोलीसम्म चल्ने र पदाधिकारीहरुको चयन हुने वताईएको छ । कार्यक्रम दलित साझा मञ्च गुल्मीका संयोजक गणेश विश्वकर्माको अध्यक्षता तथा सचिव गौचन धरालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग