Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राविधिक शिक्षाका लागि दुर्गमबाट गुल्मीमा

Published on 2:32:00 PM //

सिएमए पढेर दुर्गम गाउँलेहरूको सेवा गर्ने इच्छा लिएका कालिकोट जिल्लाको फुकोट-३ का जन्मदेव बराल तम्घास टेक्निकल शिक्षालयमा सिएमए पढ्दै छन् । उनका लागि नजिक र सुगम सुर्खेत प्राविधिक शिक्षालय भएपनि बरालले नजिकको छोडेर तम्घासमा आएका हुन् । त्यस्तै रूकुमको झुला-७ की चमेली बुढामगरको पनि चाहना उस्तै छ । दुर्गम ठाउँका गाउँलेहरू स्वास्थ्य र आधारभुत सेवाबाट बञ्चित छन् । शहरका ठुला ठुला अस्पतालमा सुत्केरी सेवा लिने महिलाहरूको तुलनामा रूकुमको झुलाका महिलाहरूले सुत्केरी हुनका लागि सफा घर समेत पाउँदैनन् । उनीहरूमा स्वास्थ्य सम्बन्धि चेतना जगाउने चाहना बोकेकी चमेलीले पनि तम्घास टेक्निकलमै एएनएम पढ्दै छन् । उनी जस्तै रूकुमबाट पनि २ जनाले तम्घासमै एएनएम पढ्दै छन् । उनीहरूले पनि नजिक पाएक पर्ने प्राविधिक शिक्षालय दाङमा नै भएपनि अध्ययनका लागि तम्घासमा आएका हुन् ।
दुर्गम कर्णालीका जिल्ला र जाजरकोट, दाङ, सुर्खेत, रूकुम, सल्यान, दैलेख, बाग्लुङ्ग, लगायतका जिल्लाबाट तम्घासमा टेक्निकल शिक्षा अध्ययनका लागि आएकाहरूको संख्या ठुलो छ । तम्घासमा अध्ययन गर्नेहरू मध्ये अधिकांश विपन्न परिवारका छन् । तम्घास टेक्निकल शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूका अनुसार अन्यत्रको तुलनामा तम्घासमा प्राविधिक शिक्षा सस्तो र गाउँले वातावरणकै भएकाले आर्कषण बढ्दो छ ।
‘अन्यत्र डोनेशन मात्र ४२ हजार रूपैंया छ’, जाजरकोट पोन्मा-६ गगंटीबाट सिएमए अध्ययनका लागि आएका पृथ्वी सिंहले भने, ‘अन्यत्र डोनेशन मात्र लाग्ने शुल्कले तम्घासमा सबै खर्च उम्किन्छ ।’ विद्यार्थीहरूका अनुसार तम्घासमा सिएमए र अनमिका लागि डोनेशन १३ हजार र मासिक शुल्क ८ सय रूपैंया मात्र छ । त्योसंगै अध्ययनका लागि आवश्यक पर्ने सामाग्री समेत शिक्षालयले एकै साथ खरिद गरी विद्यार्थीहरूलाई उपलब्ध गराउने गरेकाले त्यसमा पनि खर्च बच्ने गरेको दैलेखको नारायणी-७ की कविता सुवेदीले बताईन ।
‘हामीकहाँ व्यवहारिक शैलीको पढाई बढी हुन्छ, उनले भनिन्, ‘त्योसंगै विपन्न परिवारका लागि यहाँको शिक्षा शैली उपयुक्त छ ।’ शिक्षालय प्रमुख कृष्णप्रसाद भण्डारीले तम्घास टेक्निकलले नाफा भन्दापनि दुर्गमका विद्यार्थीहरूको चाहना र आर्थिक अवस्थालाई मध्यनजर गर्दै संचालन गरिरहेकाले यहाँ दुर्गमका विद्यार्थीहरूको आर्कषण बढेको बताए ।
‘हामी देशभरमै सस्तो र स्तरीय शिक्षा प्रदान गरेका छौं’, भण्डारीले भने, ‘यहाँबाट उत्पादिन जनशक्तिले सरकारी सेवामा राम्रो अवसर पाएका छन् ।’ भण्डारीका अनुसार तम्घास शिक्षालयमा अहिलेसम्म अध्ययन गरेका मध्ये झण्डै दुई दर्जन विद्यार्थीले लोक सेवा आयोग उत्तिर्ण गरी रोजगारी पाएका छन् । त्यस्तै गैरसरकारी संस्थाहरूमा रोजगारी पाउनेहरूको संख्या पनि ठुलै छ ।
२०५२ सालमा स्थापना भएको शिक्षालयमा अहिलेसम्म ७ सय ५३ जनाले अध्ययन गरेका छन् । त्यस मध्ये सिएमएमा ३ सय ७३ जना र एएनएममा ३ सय ३९ जना उत्तिर्ण भएको तम्घास टेक्निकलका अध्यक्ष शेरबहादुर थापाले बताए । टेक्निकलले अध्ययनरत विद्यार्थीहरूका लागि जिल्ला अस्पताल तम्घास, अर्घाखाँची, पाल्पा र बुटवलका अस्पतालसम्म पुगेर व्यवहारिक ज्ञान लिने व्यवस्था मिलाएको थापाको दावी छ ।
(नयाँभावना राष्ट्रिय दैनिकबाट) 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग