Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा परेका बालकको भारतमा बिचल्ली

Published on 2:29:00 PM //

भारतको पुना सडक दुर्घटनामा परेका दर्लिङ्ग-४ का १४ वर्षिय किशोर उपचार अभावमा पुनामै बिचल्लीमा परेका छन् । उपचार हुन नसकेको किशोर खर्च अभावले घरमा समेत फर्कन सकेका छैनन् ।
आर्थिक विपन्नताले कमाउनका लागि कलिलो उमेरमै भारतको पुना पुगेको दर्लिङ्ग-४ का टोपबहादुर विश्वकर्माका छोरा अमृत एक महिना देखि उपचार अभावमा विचल्लीमा परेका हुन् । फागुन २६ गते काम गरेर फर्कने क्रममा साथीसंग मोटरसाईकल दुर्घटनामा परेका अमृतको कम्मर देखि तलको भाग थिचिएको छ ।
बसको ठक्करबाट घाइते बनेका अमृतलाई केही समय पुनाकै सहयात्री अस्पतालमा भर्ना गरिएपनि अस्पतालले झण्डै १० लाख खर्च लाग्ने भन्दै उपचार नगरिदिएपछि उनी बिचल्लीमा परेका हुन् । अमृतका बाबु टोपबहादुरले पुना अस्पतालले उपचारका लागि १० लाख रूपैंया मागेपछि खर्च जुटाउन नसकेर अस्पतालबाट निकालेर आफन्तकोमा राखेको बताए । ‘कम्मरबाट मुनी सबै छियाछिया भएको छ’, उनले टेलिफोनमा भने, ‘अस्पतालले १० लाख माग्यो, हामी सबैको घरबारी बेच्दापनि त्यति नपुग्ने भएपछि कसरी उपचार गर्ने -’ उपचारका कतैबाट पनि खर्चले नपुग्ने भएपछि अस्पतालबाट बाहिर निकालेको उनले बताए । सडक दुर्घटनामा घाइते भएको भएपनि जानेबुझेका आफन्त कोही नहुँदा पुनामा कुनै क्षतिपूर्ति नपाएको उनको गुनासो थियो ।  
अति विपन्न परिवारका उनको अन्य उपचारको कुनै विकल्प छैन् । बाबु टोपबहादुरले उपचार गर्ने खर्च भन्दा पनि घरमा ल्याउन खर्च अभावमा भारतको पुनामै सहयोग जुटाउदै हिडेंका छन् । ‘लौन हजुर त्यताबाट पनि सहयोग जुटाईदिनुस’, छोराको उपचार गर्न नसकेपनि घरमा ल्याउने खर्चका लागि आग्रह गर्दै टेलिफोनमा उनले भने, ‘छोराको उपचारका लागि होइन, घरमा ल्याउनका लागि केही गरिदिनुस ।’
अमृतका जेठाबाबु तनबहादुर तम्घासमा उसलाई घरसम्म ल्याउने खर्च जुटाउंदै हिडेका छन् । मंगलबारसम्ममा झण्डै ३३ हजार सहयोग जुटेको तनबहादुरले बताए । अमृतको उपचारका लागि दर्लिङ्ग गाविसले १४ हजार, महिलाहरूले १० हजार, जनजातीले ५ हजार, मनकामना सामुदायीक वनले २ हजार र मालिका सामुदायीक बनले २ हजार रूपैंया सहयोग उपलब्ध गराएको बताए । घरमा ल्याउनका लागि सहयोग जुटेको भएपनि उपचारका लागि कतैबाट सहयोग नपाएको उनको गुनासो थियो ।
सदरमुकाम तम्घास देखि ११ कोष दुरीमा पर्ने दर्लि· जिल्लाकै अति बिकट र विपन्न दलितहरू रहेको गाविस हो । गरिबीकै कारण दर्लिङ्गका ६० प्रतिशत बालबालिका पढाई छोडेर रोजगारीका लागि भारतको विभिन्न शहरमा पुगेको स्थानीय शिक्षक तेजबहादुर सुनारले बताए । 

(नयाँभावना राष्ट्रिय दैनिकबाट)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग