Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुनिन छाड्यो नौमती बाजाको धुन

Published on 7:00:00 PM //

घनश्याम गौतम
टाउकोमा फेटा, शरीरमा दौरा सुरुबालसहितको इष्टकोट, कम्मरमा सेतै कपडाको पटुका लगाएका नौ जनाको एउटै समूह । 


सबैका साथमा भएका छुट्टाछुट्टै तालमा बज्ने नौ थरी बाजा । वल्लो गाउँमा बजाउँदा पल्लो गाउँमा विवाह, उत्सव, पर्व वा शुभकार्यको संकेतसमेत दिने नौमती बाजा आजकल गाउँमा बूढापाकाको अनुभवमा बाहेक बजेको सुन्नै पाइँदैन । 



नौमती बाजाको ताल निकाल्न जान्नेहरू घट्दै जानु र युवा पुस्ताले चासो नदिंदा गाउँघरे पुराना नौमती बाजा र धुन लोप हुँदै जान थालेका छन् । सहरसँगै ग्रामीण क्षेत्रबाट समेत लोपोन्मुख बन्दै गएपछि यहाँको एकीकृत ग्रामीण विकास समाजले नौमती बाजा संरक्षण र परम्परागत संस्कृतिको जगेर्नाका लागि पहल सुरु गरेको छ । 



दशकअघिसम्म गाउँघरमा 'झ्याइँझ्याइँ' बज्ने बाजा आजकल गाउँका बूढापाकाहरू भएका घरमा संग्रहालयमा परिणत भएका छन् । तैपनि नौ थरी बाजा भने भेट्नै नसकिने अवस्था आएपछि संरक्षणका लागि पहल सुरु गरिएको समाजका अध्यक्ष गणेश श्रीपालीले बताए । 'नयाँ पुस्ताको आधुनिकतासँगै नौमती बाजाहरू गाउँबेंसीबाटै हराउन थालेपछि संरक्षणका लागि पहल सुरु गरेका छौं ।', समाजका अध्यक्ष श्रीपालीले भने, 'यसको संरक्षण र संस्कृति जगेर्नाका लागि विद्यालयदेखि नै यसको महत्त्व र धुन सिकाउनु जरुरी छ ।'



समाजले जिल्लाका केही विद्यालयमा प्रतियोगिता आयोजना गरेर यसको जगेर्ना सुरु गरेको छ । केही वर्ष पहिलासम्म जिल्लाका तम्घास, सिमिचौर र अर्खलेमध्ये एकै गाविसमा मात्र नौमती बाजाका ४/५ समूह थिए तर अहिले एक गाविसमा एक समूहसमेत फेला पर्न छोडेको समाजले जनाएको छ । उपल्लो तम्घास, सिमिचौर, अर्खले, शान्तिपुर, वीरबास लगायतका दर्जनौं गाविसहरू नौमती बाजाका लागि कुनै बेला प्रख्यात गाविसहरू हुन् तर अहिले सबै गाविसमा नौमती बाजाहरू संग्रहणीय बन्दै गएका छन् । 



'अब नौमती बाजाको संरक्षण सुरु नगर्ने हो भने हाम्रो संस्कृति नै रहँदैन', तम्घासका ५२ वषर्ीय गोपाल परियारले भने, 'युवा पुस्ताको चासो पनि यस क्षेत्रमा दिने वातावरण गराउनु जरुरी छ ।' कहिलेकाहीं देखिने नौमती बाजा समूहमा पनि ५० वर्षभन्दा कम उमेरका कोही देखिंदैनन् । युवा पुस्तामा नौमती बाजाको चासो नै नहुँदा यसको संरक्षणमा धैरेको चिन्ता बढेको छ । 'हामी बूढापाकामा मात्र सीमित भएको यो बाजा अब हामीसंगै सकिंदै छ', परियारले चिन्ता व्यक्त गरे ।



जिल्लामा नौमती तथा लोकबाजा संरक्षणका लागि गाविसहरूले समेत कार्यक्रम गर्न सुरु गरेका छन् । तम्घास गाविसले नौमती बाजा संरक्षण गर्ने चेतनामूलक कार्यक्रम सञ्चालनका लागि आगामी वर्ष ३० हजार रकम छुट्याएको जनाएको छ । संरक्षणको कार्यक्रम अन्य क्षेत्रबाट पनि अगाडि बढाइनुपर्ने परियारले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग