Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्टिबिहिनहरु २० रुपैयाँमा छाक टार्दै

Published on 8:50:00 PM //

शिबलाल सुबेदी
दृष्टिबिहिन तथा सुस्त श्रवण बालबालिकालाई सरकारले नि:शुल्क समाहित शिक्षा दिने भन्दै गुल्मीको उपल्लो तम्घास मा.वि.मा भर्ना गरेपछि ति विद्यार्थीहरु यतिवेला दैनिक करिब २० रुपैयाँमा छाक टार्न बाध्य भएका छन् ।

गत वर्षसम्म सरकारले मासिक रु. १२ सय दिएको र यस वर्षदेखि १३ सय दिएपनि यहाँ अध्ययनरत दृष्टिविहिनहरुलाई सो रकमले दैनिक २० रुपैयाँमा छाक टार्न मुस्किल परिरहेको उनिहरुलाई पठन पाठन गराइरहेका श्रोत शिक्षक एवं नेपाल बहिरा तथा सुस्त श्रवण महासंघ, गुल्मीका सचिव राममणि पन्थीले बताए । 
विद्यालय उमेर भन्दा बढीका दृष्टिविहिनहरु पनि पढ्न आएका छन् । उनिहरुको होस्टेल व्यवस्था त्यहि १३ सय रुपैयाँले पुर्‍याउनु पर्छ, यो महंगीको जमानामा एउटा व्यक्ति मासिक १२ सयमा कसरि बाँच्ला ? उनले प्रतिप्रश्न गरे । उता बोल्न नसक्ने संघका अध्यक्ष डिल्लिराज कँडेलले सांकेतिक भाषामा भने ‘राज्यले कार्यक्रम त ल्यायो, तर प्रभावकारी हुन सकेन ।’ उनले आफ्नो दोभाषे मार्फत जिल्लाका तमाम दृष्टिबिहिन र बोल्न नसक्नेहरु समाहित शिक्षा लिएर आफू अरु मान्छे सरह भएर बाँच्न चाहान्छन्, तर भर्ना भएकाहरुकै अवस्था यस्तो छ भन्दै अध्यक्ष कँडेलले हालसम्म जिल्ला शिक्षा अधिकारी यस विद्यालयमा आई दृष्टिविहिनहरुको अवस्था नबुझेको प्रति गुनासो गरे । 
बुधवार नेपाली सांकेतिक भाषा तथा आधारभुत शिक्षा कार्यक्रमको उद्घाटन गर्न आईपुगेका नेपाल बहिरा तथा सुस्त श्रवण महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद शर्माले सांकेतिक भाषामा भने ‘आवश्यक शिक्षा विस्तार गर्नको लागि आफूहरुले केन्द्रबाट पहल गरिरहेका छौं, तपाईहरु जुट्नुहोस’ । कार्यक्रममा महासंघकी परियोजना अधिकृतद्वय दिपावली शर्मा, लक्ष्मी अर्याल, उपल्लो तम्घास मा.वि. का प्रधानाध्यापक रुक्मांगद आचार्य, लेखा संयोजक उमानन्द पन्थी लगायतका वक्ताहरुले अपांगको अवस्था बारे राज्यको ध्यानाकृष्ट गराएका थिए ।
कार्यक्रम नेपाल बहिरा तथा सुस्त श्रवण संघ, गुल्मीका अध्यक्ष डिल्लीराज कँडेलको अध्यक्षता र सो विद्यालयका श्रोत शिक्षक एवं संघका सल्लाहकार विष्णु पन्थीको स्वागत मन्तब्य एवं स्रोत शिक्षक तथा संघका सचिव राममणि पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग