Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘विदेश नजानुस्, अदुवा खेती गर्नुस्’

Published on 12:19:00 AM //


तुलबहादुर अधिकारी
अदुवा कृषक, पाल्पा
पारिवरिक स्थिति तथा समाजमा शिक्षाप्रतिको चेतना अभावले १० कक्षाभन्दा माथि अध्ययन गर्न सकिनँ । अहिलेको समयमा यो स्तरको शिक्षाले गुजारा नचल्ने देखेपछि रोजगारीका लागि भारत गएँ र त्यहाँ एउटा टेक्सटाइल उद्योगमा काम पाएँ । कामप्रतिको लगनशीलताले छिट्टै काम सिकें र उद्योगमै मेसिन फिटरको रूपमा काम पाएँ । तर, राम्रो कमाइ भए पनि देशप्रतिको मायाले भारतमै रहिरहन दिएन । गाउँठाउँमा सुखदुःख गरेर बस्ने निधो गरी २०४९ सालदेखि भारत बसाइ अन्त्य गरें र लागें गाउँमै अदुवाखेतीतिर ।
भारतमा रहँदा अदुवाका विभिन्न प्रशोधित सामान देखेको थिएँ । त्यसैले ममा अदुवाप्रतिको आकर्षण अलि बेसी नै रह्यो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले अदुवा प्रवद्र्धन कार्यक्रमअन्तर्गत भैरवस्थान भारकोट गाउँमा अदुवा उत्पादक समूह गठन ग¥यो । सुरुमा त्यस समूहको सदस्यता लिएँ । अदुवाबाट राम्रो आम्दानी हुने कुरा बुझ्दै गएँ र सबैलाई प्रेरित पनि गरें ।
मैले ८० किलो बीउ लगाएर यो खेती सुरुवात गरेको हुँ । त्यसपछि बर्सेनि उत्पादन बढ्दै गयो । यसैबाट वार्षिक १ देखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न थालें । अदुवाखेती मेरो आम्दानीको बलियो स्रोत बनेको छ ।
पछिल्लो समय जिल्लाभित्र र बाहिर अदुवाको प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छु । मैले विभिन्न जातका अदुवा लगाई अनुसन्धनात्मक काम पनि सँगसँगै गर्दै आएको छु । मेरो ‘भैरव अदुवा प्रशोधन केन्द्र’ले पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ र अर्घाखाँचीको अदुवा प्रशोधन गर्ने र नेपाल, भारतका साथै जर्मनीसम्म पु¥याउने काम गर्दै आएको छ । अदुवाको मागअनुसार यसमा विविधता ल्याउने प्रयास पनि गरेको हुँ तर सफल भइनँ ।
अदुवाखेतीबाट म एकदमै सन्तुष्ट छु र अझ विस्तार गर्दै लैजाने सोचाइ बनाएको छु । अदुवाखेती भिरालो जमिनमा बिनासिँचाइ कम मेहनेतमै गर्न सकिन्छ । यसबाट छोटै समयमा बढी फाइदा लिन सकिन्छ । अन्य खेतीलाई यसले केही असर गर्दैन । गाउँले किसान दाजुभाइ र बेरोजगार युवाहरूलाई विदेश जानुभन्दा अदुवाखेती नै गर्नुस् भन्ने सल्लाह दिन्छु ।
प्रस्तुतिः अमृत अधिकारी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग