Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस जुध्दा दुई दर्जन घाइते

Published on 3:49:00 PM //

प्रहरीको ढिलाईले च्यापिएका चालक एक घण्टासम्म छट्पटाए-
एक घण्टासम्म एम्बुलेन्स पनि जुटेन
टेकनारायण भट्टराई
पाल्पा–बुटवल सडक खण्डको बर्तुङमा शनिबार दुई बस आपसमा जुध्दा २४ यात्रु घाइते भएका छन्। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९७७ नम्बरको बस र बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ख १४३२ नम्बरको बस जुधेको हो।

स्टेरिङमै च्यपिएका चालक गणेश थापा ।  तस्बिर : टेकनारायण भट्टराई

ती बस तानसेन नगरपालिकाको बर्तुङ बजार नजिकै घुम्तिमा ठोक्किएका हुन्।

दुर्घटनामा परेकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ। घाइतेहरू सबैको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। दुर्घटनाका कारण सडक अवरुद्ध भएपछि पाल्पा—बुटवल सडक खण्डमा चल्ने सवारी डेढ घण्टासम्म रोकिएका थिए। पाल्पाबाट बुटवल जाँदै गरेको बसको छतमा दुई दर्जन बढी यात्रु रहेका र बस तीब्र गतिमा रहेको दुर्घटनाका घाइतेले बताए।

प्रहरी ढिलाईले च्यापिएका चालक एक घण्टासम्म छट्पटाए
बुटवलबाट पाल्पा आउँदै गरेको बसका चालक गणेश थापा प्रहरीको उद्दार ढिलो हुँदा एक घण्टासम्म दुबै खुट्टा च्यापिएको अवस्थामा छट्पटाइरहे। स्टेरिङअगाडिको भाग कच्याककुचुक्क भएर उनका दुबै खुट्टा च्यापिएका थिए। टाउकोमा चोट लागेका र रक्ताम्मे अवस्थाका उनी अर्धचेत अवस्थामा उद्दारको पर्खाइमा पीडा सहेर छट्पटाई रहे। प्रहरी उद्दारमा ढिलो पुगेको र उद्दारका लागि प्रयाप्त प्रहरी नखटाइएका कारण च्यापिएका चालकले सहजै गुहार पाएनन्।

एक मिनट पैदल दुरीमा बर्तुङ प्रहरी चौकी थियो। त्यहाँ मात्रै एकदर्जन बढी प्रहरी थिए। जिल्ला प्रहरी चौकी पनि मात्रै ३ किलोमिटरको दुरीमा थियो। तर प्रहरी घटनास्थलमै पुग्न १० मिनट लागेको दुर्घटनाका घाइतेले बताए। ढिलोगरि भ्यानमा पुगेका एक दर्जन प्रहरी जवान मात्रै त्यहाँ खटिए। प्रहरीभन्दा धेरै स्थानीय युवाले उद्दारमा सक्रियता देखाए। प्रहरी नायव उपरीक्षकसहित चार जना प्रहरी निरीक्षक सहज पहुँचमा रहेका भए पनि प्रहरी नायव निरिक्षक महाप्रसाद  पाण्डेको कमाण्डमा उद्दार कार्य सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालयमा दुईवटा प्रहरी बोक्ने मिनिट्रक खाली थिए। प्रहरी जीप तीनवटा थिए। तीन सय बढी प्रहरी थिए। ५ सयभन्दा बढी मान्छे जुटेको घटनास्थलमा एक दर्जन प्रहरी खटाइएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न नसकेर पनि उद्दारमा ढिलाई भएको उद्दारमा खटिएका स्थानीय युवाले बताए। प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले आफूहरूले ढिलो खबर पाएको बताए। 'थप प्रहरी माग नभएकाले पहिलो टोलीले नै उद्दार सक्यो’, उनले भने- एक मिनट टाढा रहेको बर्तुङ प्रहरी चौकीले किन ढिलो थाहा पायो सोधपुछ गर्दैछु।

एक घण्टा लगाएर उद्दार गरिएका चालक थापालाई बोक्नलाई एम्बुलेन्स पनि जुटेन। पाल्पा-बर्तुङ चल्ने साँघुरो जीपमा कोचिएको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पठाइएको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग