Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कमरेड प्रचण्डलाई खुलापत्र

Published on 12:08:00 PM //


-बिष्णु कंडेल
कमरेड प्रचण्ड

राष्ट्रिय सलाम !
देशमा सदियौं देखि जरा गाडेर बसेको सामन्तबादलाई बर्गीय युद्धबाट मात्रै सखाप पार्न सकिन्छ गरिब, भोकानांगा जनताको रगत र पसिनाको मूल्य उठाउन शोषक र शासितवर्ग बिचको धरातललाई निराकरण गर्न समाजमा बिधमान जातीय विभेदको भेद गर्दै सम्मानपूर्वक बाच्न पाउने जनताको अधिकारलाई सुनिस्चित गर्छौ भनेर बर्गीय युद्ध सुरु गरेका माओबादीहरु । 
युद्धकै क्रममा सुरक्षित गन्तब्य र बलियो योगदान पाउने आशमा जातीय मुद्धालाई पनि संगै लिएर उठे र बिकट, गरिब र पिछडिएको बस्तीहरुका सोझा, अनपढ, बेरोजगार, दलित, जनजाति र आदिबासिहरुलाई युद्ध मैदान मा ओर्हाले भाषणको भरमा जनतामा एउटा ठुलो आश र भरोसा पैदा गरिदिए  । शाम, दाम, दण्ड, भेद, त्रास, र आशका भोटहरु बटुलेर सत्तामा पुगेपछि बिर्सिए सबै कर्तब्यहरुलाई । 
आफैले उठाएको जातियताको मुद्धा अहिले आफ्नै गलाको हड्डी भएको छ, कहिले जनजाति, कहिले आदिबासी, कहिले मधेसी, हुँदा हुँदा त देखि हालेउ बाहुन क्षेत्रीहरु उर्लिएको, नउर्लिउन् पनि किन आफ्नो अस्तित्व नै सखाप हुने भएपछी । यिनिहरुमात्रै होइन अब १०१ जातिहरु एकाएक उठ्ने छन् र बन्द, हड्ताल, चन्दा, चोरि-चाप्लुसी, आन्दोलन, बिद्रोह, युद्ध, आतंक भन्दा अरु खोइ के दियौ जनतालाई ? के सिकायौ उनिहरुलाई ? अरु ठुलाबडाहरु सत्ताको खेलमा कुर्ची दौडमै ब्यस्त छन्, मध्यम बर्गका नेताकार्यकर्ताहरु घुस, चन्दा, चोरी, चाप्लुसिमै मस्त छन् शंकटकालमा स्वास्नीको फरियाभित्र घुरिरहेका नाथेहरु जंगलबाट निस्किएको हुल संगै मिस्सिएर अहिले गाउँ बस्तिहरुमा हालीमुहाली गरिरहेका छन् । 
कति मिठो भाषण दिन्थ्यौ कमरेडहरु युद्धकालमा र भर्खरै जंगल छोडेर निस्किदा, खोइ ति चिल्ला भाषणले के नाप्यो ? पटक पटक हार्दा पनि प्रधानमन्त्रिको लागि उम्मेदवारी दिँदा तिमीलाई लाज लागेन ? के यहि थियो प्रचण्ड पथ ? भए आफ्नो नभए कसैको पनि नाइँ ? के तिमीभन्दा पछिल्लो दर्जाका नेताहरु तिमीजस्तै नालायक नै छन् र ? कि आफ्नो अस्तित्व गुम्ने डर मान्यौ ? धिक्कार छ तिम्रा चिल्ला भाषणहरुलाई ! तिमीहरुले देश चलाउन भोट मागेको हो कि देश चलाउने संबिधान बनाउन ? 
कति छिट्टै भुल्यौ आफ्नो जिम्मेवारी, जनताबाट पाएको अत्यधिक मतको दुरुपयोग गर्दा लाग्ने पापको के तिमीहरुलाई चिन्ता लाग्दैन ?  रुकुम रोल्पाका जंगलहरुमा, जुम्ला जाजरकोटका दुर्गम बस्तिहरुमा, बाग्लुंग पर्वतका पहाडहरुमा तिम्रा सिपाहीहरुलाई पाल्ने ति सोझा साझा जनताको पिर मर्का सुन्न कहिल्यै गाउँ फर्कियौ तिमि ? दिनभर झारा, मजदुरी, मेला, पर्ममा बटुलेर ल्याएको २ गाँस रोटि पनि हिजो उनीहरुले तिमीहरुसँग १-१ गास बाँडेका थिए, आज त्यहिँ इतिहास सम्झिदा आँखाबाट चुहिने नुनिलो पानीसंग फापरको ढिँडो निल्न बाध्य छन् ति गरिब जनताहरु । 
पांचतारे होटेलहरुमा बैठक बस्ने भैसक्यौ तिमीहरुलाइ सायद परलोक अनि ति आँशु धाराको पापको याद त आउदैन होला है ? तिमि त सत्ताको लोभी मान्छे उसमाथि बाहुन नै परेउ, खोइ अब देश जातीय संघियतामा जान लाग्यो, रत्ती भर चिन्ता छैन है तिमीलाई दुनियाँलाई जातियताको नारा भड्काएर, संघियताको नाममा देश टुक्राउन ? परराष्ट्र मन्त्रालयको अभिलेख कहिले खोलेर हेरेका छौ ? नेपालबाट प्रत्येक महिना कतिजना जना नेपाली छोराछोरिहरु बिदेशिएका छन भनेर ? अर्काको छोराहरुको तिमीलाई के को चिन्ता भो र ? आफ्नो छोरालाई स्वकीय सचिव बनाएकै छौ त । 
स्वास्थ्य मन्त्रालयको मृत्यु दर्ता अभिलेख हेर्ने फुर्सद तिमीलाई कहाँ होला र ? जनता कहाँ कति र कसरी मरिरहेकाछन भनेर ? तिमीलाई त कर्मचारीको सरुवा, बढुवा, क्रान्तिकारीको नभए घटुवा-पिटुवा गर्दा गर्दै ठिक्क होला ! बिचरा, कहाँबाट धेरै घुस र कमिसन आँउछ लेखाजोखा गर्न मै दिमाग तातिएको होला । हिजो पार्टीको आकार बढाउन जस्तो पायो त्यस्तैलाई अँगालो मार्यौ आज सबैलाई भाउ पुर्याउन गाह्रो भाको छ, आफै सरहको अर्को नेतालाई मार्छु भन्नेहरुलाई सलाम ठोक्नुपर्ने तिमीले, जस्तो सिकायौ उस्तै सिकेकोमा तिमि त खुसि छौ होला ? राम्रा चेलाहरु जन्मिएकोमा हैन ?
लौ त कमरेड अरुपनि धेरै सुख दुख गर्ने मन थियो तर एक त प्रदेशी भूमि उसमाथि विदेशीहरुका जुठा भाँडा माझ्न जानुपर्ने बाध्यता तिमीहरुले संबिधान बनाउने मिति सारे झैं सार्न पनि साहस आउदैन । अहिलेलाई यो कलमको निबलाई यहिनिर रोक्छु फेरी फेरी पनि आउने नै छु । 

फेरी पनि राष्ट्रिय सलाम !

पश्चिम पहाडको गाउँले भाई
हाल: लन्डन, बेलायतबाट

(यदी तपाईंहरु पनि गुल्मीन्युजमा आफ्ना बिचार, लेख, रचना, समाचार, गतिबिधी, फोटो, भिडियो वा कुनै सामाग्री पठाउन चाहनुहुन्छ भने gulmidarshan@gmail.comमा ईमेल गर्नुहोला । गुल्मीन्युजको मेनुबारमा रहेको Contact Me मा क्लिक गरी त्यहाँ राखिएको फारमबाट पनि सिधै आफ्ना सामाग्रीहरु पठाउन सक्नुहुनेछ ।)    

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग