Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पर्यटक पर्खाइमा गुल्मी

Published on 11:17:00 PM //


लक्ष्मीप्रसाद खतिवडा
ऐतिहासिक तथा धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गुल्मी पर्यटक स्वागतको तयारीमा जुटेको छ । पर्यटन वर्ष २०११ राष्ट्रिय अभियानसँगै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुल्मीका पर्यटन व्यवसायीले अभियान सुरु गरेका हुन । जिल्लामा प्राकृतिक तथा सांस्कृतिक पर्यटनका प्रचुर सम्भावना रहेको व्यवसायी बताउँछन् । रुरु तथा रिडी क्षेत्र, तम्घास बजार, टिमुरे दह, रेसुंगा भ्यु टावर, चक्रेश्वर, शिवालय, विचित्र गुफा, सिद्धेश्वर गुफा, चारपाला दरबार आदि गुल्मीका हेर्नलायक स्थान हुन् । बाटोमा पर्ने पाल्पाकॊ तानसेन बजार, श्रीनगर भ्यु टावर, भैरवस्थान मन्दिर पनि पर्यटक आकर्षणको केन्द्र हुन् । राजधानीबाट करिब ४ सय किलोमिटर टाढा रहेकॊ गुल्मीसम्म पर्यटक लान अहिलेसम्म कुनै ठोस पहल नभए पनि आगामी दिनमा प्याकेजको व्यवस्था गरिने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी बताउँछन् ।
प्रचारको अभावमा लुकेर रहेका कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय कृषि तथा साना उद्योगका उत्पादनको बजारीकरण गर्ने र पर्यटकीय स्थलको प्रचार-प्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा गुल्मीलाई चिनाउन हामी लागिपरेका छौ, भण्डारीले भने । सदरमुकाम तम्घासको शिरमा रहेको रेसुंगा लेक यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यस्थल मानिन्छ । तम्घासबाट सबेरै हाइकिङ गरी सूर्योदयको मनोरम दृश्य हेर्न सकिन्छ । रेसुंगासम्मको यात्रामा ढकमक्क लालिगुराँस चिसो सिरेटो र चराचुरुंगीको मिठो धुन सुन्न पाइन्छ । रेसुंगा पुग्नुअघि महापोखरी, रेसुंगा यज्ञ धर्मशाला र सिद्धस्थानका साथै भ्यु टावरमार्फत मौसम सफा भएका वेला भारतको गोरखपुरसम्म देख्न सकिन्छ । यज्ञशाला दर्शनका लागि पुग्ने पर्यटकका लागि निःशुल्क खान बस्नको व्यवस्था उपलब्ध छ । छिमेकी जिल्ला पाल्पा, प्युठान, स्याङ्जा तथा अर्घाखाँचीबाट आन्तरिक पर्यटकको भीड रेसुंगामा लाग्न थालेको स्थानीयवासी बताउँछन् । 
जिल्ला सदरमुकामबाट १८ किलोमिटर उत्तर क्षेत्रमा विचित्र गुफा छ । धुर्कोट गाविसमा पर्ने गुफाको बनोट अन्य गुफाभन्दा बेग्लै किसिमको छ । गुफाको तल्लो भाग लेसाइलो माटोले बनेको छ भने दायाँबायाँ भित्ता एवं छत विभिन्न किसिमका चट्टान चुन ढुंगा पारदर्शक पत्थर आदिले बनेको छ । भित्ता एवं छत आकर्षक मूर्ति बुट्टा तथा आकृतिले सिँगँरिएको छ । यहाँ पुग्ने जोकोही पनि गुफा विचित्रको भएको अनुभव सुनाउँछन् । अन्य ठाउँका गुफाभन्दा यो फरक छ । उचित प्रचारप्रसार गर्न सके यो गुल्मी जिल्लाको पर्यटन गन्तव्य बन्ने निश्चित भएको नेपाल पर्यटन बोर्डबाट गुफा अध्ययन गर्न पुगेका वरिष्ठ मार्केटिङ अधिकृत कुबेर विष्ट बताउँछन् । 
गुल्मीमा बहुआयामिक धार्मिक महत्व बोकेको विचित्र गुफा, प्रसिद्ध तीर्थस्थल रुद्रवेणीधाम, यज्ञशाला आदि जिल्लामा छन् । मुक्तिक्षेत्र र दामोदर कुण्डबाट सुरु भई बगेको कालीगण्डकी एकमात्र शालिग्राम पाइने नदी हो । नदीको तटमा अवस्थित रुद्रवेणीधाममा संसारकै सबैभन्दा धेरै संकलित १७ हजार शालिग्रामको दर्शन एकैपटक गर्न पाइन्छ । 

जिल्लाका पर्यटन गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउन तथा यस क्षेत्रको उत्पादन निर्यात गरी आर्थिक विकास गर्न विमानस्थल अनिवार्य रहेको स्थानीय सरोकारवाला बताउँछन् । 
पर्यटक आवागमन सहज बनाउन र यहाँ उत्पादन हुने उखु, सुन्तला, कफीजस्ता कृषिबालीका साथै विश्व बजारमा उच्च मूल्य पर्ने अगरउडको निर्यातका लागि सिमिचौर विमानस्थल निर्माण गर्नु अपरिहार्य रहेको गुल्मी उद्योग वाणिज्य संघका कोषाध्यक्ष तारा भुषालले भने । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पर्यटनमन्त्री भएका गुल्मीवासी प्रदीप ज्ञवालीले विमानस्थलको प्रस्ताव गरेका थिए । तर लामो समय बितिसक्दा पनि निर्माणकार्य अगाडि बढ्न सकेको छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग