Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६० लाख खर्चेर गौंडाकोटमा पिकनिक स्थल

घनश्याम गौतम
गुल्मी, पुस ११ । सरदुमकाम नजिकको गौंडाकोट क्षेत्रमा करिब ६० लाख लगानीमा पिकनिक स्थल निर्माण गरिएको छ । रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय भैरहवा र स्थानीय उपभोक्ताको पहलमा गौंडाकोटको दारेढुंगामा करिब ४० लाख र म्यालपोखरीमा करिब २० लाख बजेटमा वनभोजस्थलहरू निर्माण गरिएको हो ।

पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगाको फेँद गौंडाकोटको दारेढुंगामा निर्मित स्थल जिल्लाकै उत्कृष्ठ भएको छ । यस्तै, गौंडाकोटकै म्यालपोखरीमा निर्मित स्थलसमेत आकर्षक छ । सदरमुकाम तम्घासबाट करिब २० किमि दूरीको दारेढुंगामा सेनाले पैदल मार्ग निर्माण गरिदिएपछि पिकनिकमा जानेहरूका लागि थप सहयोग पुगेको छ ।
गुल्मीको गौंडाकोट गाविसको दारेढुंगामा निर्माण गरिएको पिकनिक स्पट । रूरू-रेसुंगा क्षेत्र
 संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय, स्थानीय उपभोक्ता र
नेपाली सेनाको समेत सहयोगमा निर्माण गरिएको पिकनिक
स्पट जिल्लाकै उत्कृष्ठ भएको छ ।
तस्बिर: घनश्याम गौतम

समितिले करिब २५ लाखको लागतमा दारेढुंगा क्षेत्रमा पिकनिक र भ्रमणका लागि चारवटा गोल घर, एउटा भान्सा घर, पानी सुविधाका लागि प्लास्टिक पोखरी, धारा, खानेपानी संकलनका लागि ट्यांकी निर्माण गरिदिएको अध्यक्ष निमबहादुर पाण्डेले बताए । दारेढुंगा विकास समितिका अध्यक्ष क्याप्टेन रामबहादुर थापाका अनुसार अहिलेसम्म सडक, भवन र पूर्वाधार निर्माणमा ४० लाखभन्दा बढी खर्च भइसकेको छ ।

तम्घास-रिडी सडकबाट करिब १५ मिनटको पैदल दूरी र करिब एक किमि कच्ची मोटरबाटोले दारेढुंगालाई छोएको छ । उक्त क्षेत्रबाट गुल्मी, पाल्पा, बागलुङ, पर्वत, र स्याङ्जाका मनोरम बस्तीहरू दृश्यावलोकन, कालीगण्डकी र रुद्रावती नदी, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न हिमशृंखलाको समेत सजिलै अवलोकन गर्न सकिने भएकाले पनि धैरैको आकर्षण बढेको पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

गौंडाकोट बजार नजिकबाट १० मिनटको पैदल दूरीमा पुग्न सकिने दारेढुंगा क्षेत्रलाई थप आकर्षक बनाउन स्थानीय बासिन्दाले सेनाको सहयोगमा २ सय ५० पारिजात, ५० धूपी र इपिलइपिलका बिरुवासमेत रोपेका छन् । दारेढुंगा क्षेत्र करिब साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको समितिका अध्यक्ष थापाले बताए ।

चक्काजामले रेसुंगामा भक्तजन घटे

विष्णु पौडेल
गुल्मी, कात्तिक २७ । हरिवोधनी एकादशीको अवसरमा गुल्मीका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा भक्तजनको घुईँचो लागेको छ। सदरमुकामसँगै रहेको रेसुंगा तथा कालिगण्डकी नदी रिडीमा नुहाने भक्तजनको भिड लागेको हो।

रेसुंगा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गरेमा अञ्जानमा गरेका सवै पाप नष्ट हुने धार्मिक विश्वास रही आएको छ। रेसुंगा पोखरीमा स्नान गर्नेको विहानैदेखि घुईँचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले वताए।

तर गत वर्षको तुलनामा अहिले भक्तजनको उपस्थिती कम रहेकेा छ। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको चक्काजामका कारण प्रर्याप्त सवारीसाधन नचल्दा टाढाटाढावाट भक्तजनहरु आएका छैनन्। यहाँको दर्शन गर्न गुल्मी सहित, अर्खाघाँची, वाग्लुङ्ग, प्युठान लगायतका विभिन्न स्थानवाट भक्तजनहरु आउने गर्थे।

रेसुंगामा प्रत्येक वर्षको साउन महिनाभर विशेष पुजाआजा हुन्छ भने हरीवोधनी एकादशीको अवसरमा विशेष पुजाआजा हुन्छ। यस्तै गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थलमा पर्ने रिडीमा पनि कालीगण्डकी नदीमा स्नान गर्नेको भीड लागेको छ ।  

गन्तब्य: धार्मिक स्थल 'रूरू क्षेत्र'

घनश्याम गौतम
गुल्मी, भाद्र २७  । धार्मिक एवं पर्यटकीय दृष्टिले अवलोकनयोग्य र एक पटक पुग्नैपर्ने स्थल हो गुल्मी, पाल्पा र स्याङ्जाको पर्यटकीय संगमस्थल रिडीको रूरू क्षेत्र । बुटवलबाट झन्डै ७० किलोमिटरको कालोपत्रे सडक र सदरमुकाम तम्घासबाट ४२ किलोमिटर कालोपत्रे सडकले छोएको रूरू क्षेत्रलाई नेपालका चार धाममध्येको एक धामसमेत मानिन्छ । मुक्तिनाथ, देवघाट र पशुपति क्षेत्रपछिको रूरू क्षेत्र हो ।

धार्मिक र ऐतिहासिक महत्त्व बोकेको रिडीको रूरू क्षेत्रको गत वर्षको माघमा राष्ट्रपति रामवरण यादवले समेत अवलोकन गरेका थिए । रूरू क्षेत्रलाई यसै वर्षदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी युनेस्कोले प्रकृया अगाडि बढाएको छ । त्यसका लागि युनेस्कोका प्रतिनिधिहरूको टोली रिडीमै आएर धार्मिक सम्पदाहरूको इतिहास, अवलोकन, सूचीकृतका लागि आवश्यक पर्ने पूर्वाधारहरूको विषयमा अध्ययन गरी फर्किसकेको र अव घोषणा प्रकृयामा रहेको पूर्वसभासद् प्रदीप ज्ञवालीले बताए ।

रूरू क्षेत्र धार्मिक र ऐतिहासिक महत्त्वसँगै प्राकृतिक दृष्टिकोणले समेत निकै मनोरम छ । चारैतिरको हरियाली क्षेत्र र दुई खोलाको बीचमा रहेको रिडी बजार, विभिन्न मठ, मन्दिर, वृद्धवृद्धाहरू बस्ने गरेका पुराना र आकर्षक साना-साना गुफा, ऋषिकेश मन्दिर, देशदत्त ऋषिको मूर्ति, मृगले दूध खुवाउँदै गरेकी रूरू कन्या, भृगुतुङ्गेश्वर लगायत ऐतिहासिक सम्पदा रूरू क्षेत्रका थप विशेषता हुन् । रूरू क्षेत्र जिल्लाको मुख्य प्रवेशद्वार हो भने, गुल्मी, बागलुङ र अर्घाखाँची जिल्लाका व्यापारिक बजारहरूको नाका पनि हो ।

रूरू क्षेत्रको विकासका लागि रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले समेत लाखौं रकम खर्च गरेर ऐतिहासिक संरचनाहरूको जीर्णोद्धार, संरक्षण र विकासका लागि काम गरिरहेको छ । समितिका कार्यकारी निर्देशक श्रीराम गौतमका अनुसार रूरू क्षेत्रमा अहिलेसम्म सरकारले ४० लाख रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छ । सरकारको राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरसमेत रूरू क्षेत्र हुँदै निर्माण गरिरहेकाले यसको महत्त्व अझ बढेको रिडीका हिमाल श्रेष्ठले बताए ।

त्यो बाहेक सरकारले यस वर्ष तीन जिल्ला जोड्ने गरी पक्की पुलको नक्सांकन गरी निर्माणका लागि काम अगाडि बढाएको छ ।

ओझेलमा "मधु लेक"

प्रेम सुनार
भदौ २७, गुल्मी । वरीपरी खोलाले घेरेको, खोला किनारमा हराभरा फाँटहरु, विचमा सुन्दर मधु लेकको टापु । जुन टापु विकासित मुलुकहरुमा पर्यटक आकार्षित गर्नका लागि कृत्रिम सौन्दर्य भरेर निर्माण गरेको जस्तो देखिन्छ । अनि नियाल्दै जाँदा लाग्छ, कतै यो टापु र यस वरीपरीका फाँटहरु कुनै चित्रकारले परिकल्पना गरेर कोरेको त होईन ? प्रकृतिको त्यति सुन्दर छटा हुँदा हुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ गुल्मी, अर्घाखाँची र पाल्पाको संगम स्थलमा रहेको त्यस टापु ।
‘श्रीलंका टापु’ उपमा पाएको–मधु लेक
गुल्मीको दौँघा, पाल्पाको भुवनपोखरी गाविस र अर्घाखाँचीको चिदिका ९ मा रहेको मधु लेक नियाल्ने प्राकृतिक उपासकहरु वा कुनै साहित्यकारहरुले त्यसको सौन्दर्यताको कसरी वर्णन गर्ने हुन र  त्यसलाई के उपमा दिने हुन तर स्थानिहरु त्यलाई श्रीलंका टापुको उपमा दिन्छन् ।  पश्चिम अर्घाखाँचीबाट बग्दै आएको खाँची खोला (शौर्य खोला), सिस्ने खोला र उत्तर गुल्मीबाट बग्दै आएको खर्ज्याङ खोला एक आपसमा मिल्छन मधुलेकलाई फन्को मार्दै बग्दछन रिडीखोला तर्फ कालिगण्डकीमा मिल्नका लागि । मधुलेक स्थानियतहमा निकै प्रशिद्ध छ । त्यसो त  करिव करिव उस्तै आकृतिका चिदीका ९ को हाँडीकोट लेक  र गुल्मी दौंघाको डाविले लेक पनि त्यतिकै प्रशिद्ध र मनोरम छन् । पाल्पाको हार्थोकबाट करिव १३ किलो मिटर र गुल्मीको रिडीबाट अगाह वजार, खर्ज्याङ हुँदै करिव डेड घण्टामा पुगिने मधुलेक, हाँडीकोट लेक र डाविले लेक प्रसस्त प्रर्यटकिय विकासको सम्भावना बोकेका स्थानहरु हुन् । नेपाली कांग्रेस चिदीका गाविसका पुर्व सभापति रामप्रसाद अर्याल निकै सुन्दर टापुहरु हुँदा पनि राज्यका कुनै निकायको दृष्टी पुग्न नसकेको  गुनासो गर्छन ।
त्यस्तै एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य नरबहादुर आले भन्छन–‘ति स्थानको पर्यटन विकास गर्न पुर्व मन्त्री टोपबहादुर रायमाझीले पहल गर्ने आस्वासन दिनु भएको थियो ।’ स्थानिवासी उनले भने–‘ति टापुहरुमा रिसोर्टहरु खोल्न सक्ने हो र एक देखि अर्को टापुमा आवत जावत गर्ने केवुलकार हुने हो भने त विदेशीहरु पोखरा भन्दा यहाँ घुईचो लाग्ने थिए ।’ नेकपा एमाले चिदीका गाउँ कमिटी अध्यक्ष रामजी पाण्डे मधु लेकलाई श्रीलंका टापुको उपमा दिन्छन् । ‘वरीपरी खोलाले घेरेको छ विचमा सुन्दर टापु छ’ पाण्डेले भने, ‘हामी यस मधुलेकलाई श्रीलंकाको टापु पनि भन्ने गर्दछौं ।’ त्यस टापुमा  २ वर्ष अघि जगदम्वा सिमेण्ट फ्याक्ट्रीले मार्वलको सम्भाब्यता अध्यान गरी पाल्पाको शिद्धेश्वर र त्यहाँ चुन ढुङ्गा छ भनेर मार्क  समेत लगाएकोले त्यहाँ ढुङ्गा उत्खनन गर्न रोक लगाएको पाण्डेले जानकारी गराए । प्रचार गर्नैपर्ने ठाउँ हो भन्दै पाण्डले उठान गर्न लागेको प्रति गुल्मीन्युज डट कमसँग आभार प्रकट गरे । चिदीका गाविस सचिव कृष्णप्रसाद पन्थी ति तिनवटै लेकहरु त्यति सुन्दर हुँदा हुँदै पनि गाविस स्तरबाट पर्यटन विकास गर्न नसकीने भएकोले केहि गर्न नसकीएको बताउँ छन् । ‘त्यस क्षेत्रका पुर्व सभाषद टोपबहादुर रायमाझीले त्यहाँको पर्यटन विकास गर्छु भनेको हल्ला छ , गाविसलाई भने कुनै जानकारी छैन’–पाण्डेले भने ।
एकिकृत नेकपा माओवादी खर्ज्याङ गाउँ कमिटी अध्यक्ष कमल पाण्डे भन्छन–‘यि तिन जिल्ला र तिनै वटा गाविस अनि तिनै वटा खोलाहरुको संगम स्थलमा रहेका लेकहरुमा पर्यटकिय विकास गर्न सके त्यहाँ आन्तरिक तथा बाहय पर्यटकको घुँईचो लाग्ने थियो ।’ हाँडीकोट लेकको फेँदीमा तिन वटै जिल्लाको निकै प्रशिद्ध झाँक्रीको थान छ । त्यहाँ हरेक बैशाखे पुर्णीमाको दिन  वली चढाईन्छ र मेला लाग्ने गर्दछ । कमल पाण्डेका अनुसार पाल्पा तर्फ दाङसा फाँट, गुल्मी तर्फ बन्दुखा फाँट, अर्घाखाँची तर्फ दिशा वगर फाँट लगायत प्रशस्त खेतहरु छन् । हाँडीकोटबाट मधु लेक जोड्ने पुल बने पनि मोटरबाटो पुराउन नसकीएको एमाले अध्यक्ष पाण्डे बताउँछन् ।
माथील्ला तहका नेताहरुबाट त्यस स्थानको विकासप्रति दृष्टी पुग्न नसकेको उनको गुनासो छ । यस सम्वन्धमा पुर्व सभाषद टोपबहादुर रायमाझीसंग सम्पर्क राख्दा उनले त्यहाँको पर्यटन विकासका लागि प्रयास भई रहेको बताए । सातमुरे जल विद्युत आयोजनासंगै समग्र लुम्वीनीको पर्यटन विकास कार्यक्रम भित्र त्यो स्थान पारिएको उनको भनाई छ । त्यसको उचाई कति छ ? क्षेत्रफल कति हो ? गाविसमा त्यसबारे कुनै तथ्य नभएको चिदीका गाविस सचिव पन्थीले बताए । ‘त्यस्तै २ सय रोपनी होला, माथी टापुसम्म हिँडेर विस पच्चीस मिनेटमा पुगिन्छ’ उनले भने, ‘माथी टापुमा रहेकोले होटलहरु बनाउन सकिन्छ ।" उनका अनुसार त्यस लेक वरी परी जंगलमा चितुवा लगायतका जनावर र कालिज लगायतका पन्छीहरु प्रसस्त छन् ।
नेपालका विभिन्न स्थानमा यति मनोरम प्राकृतिक छटा हुँदा हुदै पनि नेपालीहरु  स्वदेशमा घुम्न नचाहनु र सरकारी पक्षले पर्यटन विकासमा खासै चासो नदिनु दु:खको विषय भएको रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख दीन पन्थी बताउँछन् । अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका यस्ता थुप्रै प्राकृतिक छटाहरुको राज्यले खोज अनुसन्धान गरी पर्यटन विकासमा ध्यान दिनु पर्ने साहित्यकार समेत रहेका पन्थीको सुझाव छ ।

साउने औँशीको मेला भर्न रेसुङ्गामा श्रृद्धालु भक्तजनहरुको घुँईचो

पि.एम.मगर
गुल्मी, साउन २२ । मंगलवार श्रावण कृष्ण पक्ष औशी तीथि, गुल्मीको रेसुङ्गामा विहानैदेखि श्रृद्धालु भक्तजनहरुको घुईचो लागिरहेको छ । आज विहानैदेखि श्रद्धालु भक्तजनहरुको घुँईचो लागिरहेको छ । पश्चिम क्षेत्रकै ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय धरोहर गुल्मीको रेसुङ्गाको पोखरीमा चारधाम सवै क्षेत्रवाट जल ल्याई मिसाईएकाले त्यस पानीले स्नान गरी पुजा आराधना गरेमा मोक्ष प्राप्ति हुन्छ भने धार्मिक विश्वास रहेको छ ।
तस्बिर: शिवलाल सुबेदी 
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउने सक्रान्तिदेखि एक महिने साउने मेला पनि चलिरहेको छ । तर पनि साउने औँशी पर्व अर्थात आजको दिनलाई अझ विशेष रुपले हेर्ने गरिन्छ । रेसुङ्गामा रहेको पोखरीमा रेसुङ्गामा दर्शन तथा पुजा आरोधनाका लागि गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, वाग्लुङ्ग, प्यूठान, पाल्पा, स्याङ्गजा, रुपन्देही लगायत देश विदेशवाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष लाग्ने मेला यस वर्षपनि साउन १ गतेदेखि विभिन्न धार्मिक, आध्यात्मिक, भजनकृतन, पुजा आरोधना, मध्यान्हकालीन र सन्ध्याकालीन आरती लगायतका कार्यक्रमहरु चलिरहेका छन् ।
रेसुङ्गा संरक्षण समितिका सचिव कुञ्जरमणी गौतमले सर्वसाधारण धर्मालम्वीहरुका लागि सामुहिक रुद्री तथा ग्रह जपको व्यवस्था मिलाईनुका साथै टाढा टाढावाट आउने श्रृद्धालु भक्तजनहरुका लागि आवास र सामान्य खानाको व्यवस्था गरेको वताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० जना भन्दा वढीले सामुहिक पुजाका लागि नाम दर्ता गराईसकेको र गएको १८ गते १८ जनाको सामुहिक रुद्री पुजा सम्पन्न भईसकेको छ ।
वाँकी धर्मालम्वीका लागि भने २८ र ३१ गते सामुहिक रुद्री पुजाको व्यवस्था मन्दिरले मिलाएको छ । त्यस्तै साउन २६ गतेका दिन भक्ति संकृतन प्रतियोगिताको पनि आयोजना गरिएको र सहभागीताका लागि विभिन्न संघ संस्था, आमा समुह, क्लव, शिक्षण संस्था लगायतलाई समितिले अनुरोध समेत गरेको छ । धार्मिक रुपवाट मात्र नभई रेसुङ्गामा पुगेपछि त्यहाँ रहेको भ्यू टावरवाट सुन्दर हिम–श्रृंखलाहरु र टाढा टाढाका दृष्यहरु समेत देख्न सकिन्छ ।

रेसुंगामा पर्यटकको भीड

घनश्याम गौतम
गुल्मी, श्रावण १७ । धार्मिक र पर्यटकका लागि निकै रमणीय यहाँको धार्मिक क्षेत्र रेसुंगामा धार्मिक पर्यटकहरूको चहलपहल बढेको छ । सयौं शताब्दी अगाडि ऋषिमुनीहरूले तपस्या गरेको स्थान, दुई सय वर्षअघिका शिलालेख र भग्नावशेष घरहरू र रेसुंगा डाँडाबाट देखिने रमणीय हिमशृंखलाहरूको दृश्यले रेसुंगा पछिल्लो समयमा पर्यटकहरूको आकर्षण बन्ने गरेको छ ।

धार्मिक रूपमा हिन्दु धर्मका सबै तीर्थस्थलहरूबाट ल्याइएको पानी मिसाएर स्नान गर्ने पोखरी निर्माण गरिएको छ । जुन पोखरीमा साउन महिनामा स्नान गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वासका कारण साउन महिनाभर रेसुंगा पोखरी स्नानका लागि सर्वसाधारणको भीड लाग्ने गरेको छ । २२ गते परेको साउने औंशी रेसुंगामा सबै भन्दा बढी धार्मिक पर्यटकहरू आउने दिन हो । औंशीका दिन रेसुंगा पोखरीमा स्नान गर्नका लागि गुल्मीसँगै बागलुङ, पाल्पा, अर्घाखाँची, प्यूठान र रुपन्देहीसहित भारतबाट समेत धार्मिक पर्यटकहरू आउने गर्छन् ।

'धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा सबै थोक रहेछ', व्यावसायिक कामका लागि काठमाडौंबाट तम्घास आएका प्रवीण श्रेष्ठले भने, 'साँच्चै रेसुंगाको टुप्पो मै पुग्दा त छुट्टै खालको मज्जा पो हुँदो रहेछ ।' रेसुंगाको टुप्पोमै पुग्दा मज्जा नलागोस् पनि किन, समुन्द्री सतहबाट २ हजार ३ सय ३९ मिटर उचाइमा रहेको रेसुंगाडाँडाँ । त्यसमाथि अझै जिविसले २७ लाख खर्चेर बनाएको २५ फिट अग्लो भ्यू टावर । डाँडाको टुप्पोमै पुगरे हेर्दा जति नै रमाइलो छ, जैविक विविधता, पर्यटकीय र वातावरणिय दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण पनि छ रेसुंगा क्षेत्र ।

सदरमुकाम तम्घासबाट सवारी साधनमा आधा घन्टा र पैदल दूरीमा एक घन्टा समय लाग्ने रेसुंगा धार्मिक रूपले पनि २ सय ५० वर्ष अगाडि स्वामी शशिधरले तपस्या गरेको स्थान हो । रूरू रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति र रेसुंगा संरक्षण समितिले पूर्वाधार निर्माण, मन्दिरहरूको जीर्णोद्धार, सडक र व्यवस्थित पार्कहरूको निर्माण गरेपछि त रेसुंगा क्षेत्रमा आर्कषण बढेको र जिल्लामा हुने गोष्ठी, सम्मेलन र बैठकका लागि पनि रेसुंगा छनोटमा पर्ने गरेको रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

जिल्ला वन कार्यालयका अनुसार ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुंगा जंगलमा एक धार्मिकसहित १३ वटा सामुदायीक वन छन् । यसै जंगलको स्रोतका रूपमा रहेका मुहानबाट १४ गाविसमा खानेपानी सुविधा पुगेको छ । जिल्ला विकास समितिको तथ्यांकमा यस जंगलमा १ सय ६० खानेपानीका मुहान छन् । हिउँदको सुख्खा समयमा पनि यस जंगलबाट ४० भन्दा बढी मुहानबाट पानी बगिरहेको हुन्छ ।

प्रचार अभावमा ओझेलमा पर्‍यो बहुरुपी शिला (अडियो कुराकानी)

प्रेम सुनार
साउन २, गुल्मी । गुल्मीको म्याल पोखरी गाविसमा एउटा अचम्भ लाग्दो बहुरुपी शिला प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । म्यालपोखरी गाविस वडा नम्वर ४ स्थित चुरुङ्गा ईद्र भन्ने स्थानमा रहेको ढुङ्गाको उक्त शिला मानिसले कुँदेर राखे झैँ बहुरुपी छ ।
उक्त  शिलाको पुर्व तर्फ हात्तिको पाईला छ । पुर्वमै दुई वटा नागको आकृति छ । उत्तर तर्फ धेरै गाईका पाईलाहरु छन् । प्रकृतिको अचम्म लाग्दो आकृति स्थानियवासीले देखेर पुजा गर्न लागेको धेरै वर्ष भयो तर प्रचार प्रसारको अभावमा त्यसको संरक्षण र  पर्यटन  विकास हुन नसकेको स्थानिय समाज सेवी टेकराज पोखरेलले बताउनु भयो । ‘प्रचार प्रसार हुन सके त्यो बहुरुपी मुर्ति हेर्न जानेहरुको भिड लाग्ने थियो’ उहाँले भन्नु भयो ‘सञ्चार माध्यमले प्रचार प्रसार गरिदिनु पर्यो ।’
त्यस प्राकृतिक मुर्ति भन्दा अलि माथी मालिकाको मन्दिर छ । त्यसो भएको हुनाले पनि उक्त प्राकृतिक मुर्ति कुनै धार्मिक कथासंग जोडिएको हुन सक्ने बताईएको छ । त्यस मुर्तिको आकृतिबारे उनै स्थानिय समाज सेवी टेकराज पोखरेलसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गरेको छोटो कुराकानी सुनौँ: 

गुल्मी जिल्लाको पहिलो पर्यटकिय बनभोज स्थल दारेढुङ्ग पार्क ? (फोटो फिचर)

प्रेम सुनार
गुल्मी । आकर्षणको दृष्‍टिले जिल्लाकै पहिलो मानिएको रेसुङ्गा क्षेत्र दारे ढुङ्गा पार्क तथा पिकनिक स्पट यति बेला निकै चर्चामा रहेको छ । समुन्द्री सतहदेखि करिव १८ सय मिटर उचाईमा प्रशिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गाको काखमा अबस्थित उक्त पार्कमा पिकनिक एवं रमाईलोको लागि जानेहरुको भिड बढेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित करिव २५ लाख लागतमा निर्मित उक्त पार्कमा ४ वटा गोल घर, एउटा भान्सा घर, एउटा प्लास्टिक पोखरी, एउटा धारा र खानेपानी संकलन गर्ने टंकी समेत रहेको छ । बनभोज जानेहरुले भाँडा बोकेर जानु पर्दैन सवै त्यही उपलब्ध रहेको बताउनुहुन्छ निर्माण समितिका सचिव गोकर्ण कार्की ।

गौँडाकोट र दुविचौर गाविसको सिमनामा पर्ने उक्त पार्क सम्म पुग्ने मोटरबाटो भएता पनि एक किलोमिटर तलदेखि हिड्नु पर्दछ । पूर्वमा गुल्मी र पाल्पाका मनोरम गाउँबस्तीहरु, उत्तर तर्फ गुल्मी, बाग्लुङ्ग, पर्वत र पोखरा तर्फका मनोरम हिम श्रृखला एव कालिगण्डकी र रुद्रावती नदि र चारैतिरका सुन्दर बस्तीहरु नियाल्दा दिन गएको पत्तै नहुने उक्त स्थान एकान्त, शान्त र मनोरम छ । त्यही सम्म पुग्ने मोटरबाटो खन्ने प्रयास भएको समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।
रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले निर्माण गरेका अन्य पार्क मध्ये उचाईमा रहेकोले त्यो पार्कमा धेरैको आकर्षण बढेको समितिका अध्यक्ष निमबहादुर पाण्डेले बताउनुभयो । ‘समितिले दुबिचौरमा पनि रानीपोखरा बनभोजस्थल निर्माण गरेको छ –पाण्डेले भन्नुभयो – त्यहाँ पनि गत वर्षदेखि पिकनिक जानेहरुको संख्या बढेको छ भने हालै उद्घाट गरीएको दारे ढुङ्गा पिकनिक स्पटमा त झन छिट्टै मानिसहरुको आकर्षण बढ्यो।’ दारे ढुङ्गामा अझै आवस्यक भौतिक पूर्वाधारहरु निर्माण गर्न बाँकी रहेकोले मन्त्रालयबाट थप रकम परे अरु आकर्षणको केन्द्र बन्ने पाण्डेको भनाई छ ।
दारेढुँगा पिकनिक स्पट सदरमुकाम तम्घासबाट मोटर साईकलमा १५ मिनेटमा पुग्न सकिन्छ भने हिडेर करिव एक घण्टामा पुगिन्छ । तपाईँपनि पुग्ने कि एकपटक दारेढुँगा पिकनिक स्पटमा ? यदी पुग्नुभएको छैन भने आउनुस् हेरौ सोही पार्कका केही तस्बिरहरु:







माथिका सम्पूर्ण तस्बिरहरु अशोक थापाले खिच्नुभएको हो ।

यस्तो रह्यो रिडिको सक्राँन्ती मेला (फोटो फिचर)

गुल्मीको रिडिमा माघे सक्राँन्तीको अवसर पारेर आयोजित मकर सक्राँन्ती मेला हिजो सम्पन्न भएको छ । राष्ट्रपती डा. रामबरण यादवले उद्घाटन गर्नुभएको मकर सक्राँन्ती मेला गत १ गतेदेखी ३ दिन सम्म चलेको थियो । मेलास्थलबाट रुरु नेटवर्कका संचालक सुन्दर कसजुले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:  



















माथिका सम्पूर्ण तस्बिरहरु सुन्दर कसजुले खिच्नुभएको हो । 

यस्तो रह्यो राष्ट्रपतिको रिडी भ्रमण (फोटो फिचर)

राष्ट्रपति डा. रामवरण यादव मकर संक्रान्तिको अवसरमा आज गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी स्थित काली गण्डकि स्नानका लागि गुल्मी आउनुभएको थियो । हेरौँ सोही अवसरमा रिडी पुगेर गुल्मीन्युज सहयोगी घनश्याम गौतमतारा भुषालले खिच्नुभएका केहि तस्विरहरु:








बेहुली जस्तै सिँगारियो रिडी, सुरक्षा ब्यवस्था कडा पारियो (फोटो फिचर)


घनश्याम गौतम
रिडी (गुल्मी)– धार्मिक क्षेत्र रुरुमा माघे संक्रान्ति मेलाको अन्तिम तयारी पुरा भएको छ ।
यस वर्षको मेलामा कालीगण्डकी गण्डक स्नान, श्रृषिकेश दर्शन र रिडी क्षेत्र अवलो कनका लागि राष्ट्रपति रामबरण यादव समेत आउने भएपछि रिडीबासी समेत उत्साहित भएका छन् । राष्ट्रपति यादवको सुरक्षा व्यवस्थाका लागि समेत सबै तयारी पुरा गरिएको मेला मुल आयोजक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले बताए ।
हेरौँ रुरु क्षेत्र रिडिबाट रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नु भएका मेला तयारी सम्बन्धी केही फोटोहरु ।
राष्ट्रपति यादवको सम्मानका लागि रिडीबासीले रुरु क्षेत्रलाई नै आर्कषक बनाएर सिंगारेका छन् । रिडी बजार ध्वजापतका र स्वागतद्वारले सिंगारिएको छ । राष्ट्रपति यादवको कालीगण्डकी स्नानका लागि मुल आयोजक समितिले कालीगण्डकी किनारमा अस्थायी स्नान घर निर्माण गरिदिएका छन् । विश्व सम्पदा सुचिमा सूचिकृतको प्रकृयामा रहेको रुरु क्षेत्रको अवलोकनका लागि राष्ट्रपतिले इच्छा व्यक्त गरेका हुन् ।
माघे संक्रान्ति मेलामा राष्ट्रपति यादव सहित सरकारका मुख्य सचिव लिलामणी पौडेल, यादवका स्वकिय सचिव ललित बस्नेत, पूर्व सभाषद प्रदिप ज्ञवाली लगायतका उच्च पदस्थ व्यक्तिहरु सोमबार रिडी आउने भएका हुन् । मेलाको व्यवस्थापन र संयोजन गुल्मी, पाल्पा र स्याङजाका जिविस, प्रसाशन र प्रहरी कार्यालयले गरेका छन् ।
मुख्य चारधाम मध्येको एक मानिने रुरु क्षेत्रलाई युनेस्कोले यसै बर्षदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने गरी प्रकृया अगाडी बढाएको छ । त्यसका लागि युनेस्कोका प्रतिनिधीहरुको टोली रिडीमै आएका धार्मिक सम्पदाहरुको इतिहास, अवलोकन, सूचिकृतका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विषयमा अध्ययन गरी फर्किसकेको र अब घोषणा प्रकृयामा रहेको पुर्व सभाषद प्रदिप ज्ञवालीले बताए । सूचिकृतको प्रकृयामा रहेको अवस्थामा राष्ट्राध्यक्षबाटै यस क्षेत्रको अवलोकन हुने भएपछि स्थानीय बासिन्दा समेत उत्साहित भएका छन् ।
धार्मिक महत्वमा पशुपति, मुक्तिनाथ, देवघाट पछि रुरु क्षेत्र प्रख्यात रहे पनि संरक्षण, प्रचारप्रसारको अभावमा रुरु क्षेत्र ओझेलमा पर्ने गरेकोले यस वर्ष तिनवटै जिल्लाहरुको संयोजनमा मेलालाई भब्य रुपमा सम्पन्न गर्न थालिएको स्थानीय विकास अधिकारी ज्ञवालीले बताए । गुल्मी, पाल्पा र स्याङजाको संगम स्थलमा पर्ने कालीगण्डकी स्नान, श्रृषिकेश र रुरु कन्याको दर्शन गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वास सहित रिडी मेला तिनदिनसम्म चल्ने गर्दछ ।
स्थानीय विकास अधिकारी ज्ञवालीले राष्ट्रपति यादवले मेलाको पहिलो दिन माघ १ गते गण्डक स्नान गर्ने, श्रृषिकेश, रुरु कन्या र देवदत्तको दर्शन गर्ने, गरी स्थानीय बासिन्दासंग रुरु क्षेत्रको महत्व र समस्याका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । त्यसका लागि राष्ट्रपति २ घण्टा रिडीमै रहने छन् ।
गण्डक स्नानसंगै हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, डाला, नाङला, लगायतका सामाग्रीहरुको खरिद विक्रिका लागि समेत रिडी मेला यस क्षेत्रमै प्रख्यात मानिन्छ ।
मेलाका लागि रुकुम, बाग्लुङ्ग, लगायतका जिल्लाहरुबाट भेडाको उनबाट तयार पारिएका राडी पाखी विक्रिका लागि व्यापारीहरु आउने गर्दछन् । मेलाका लागि व्यापारीहरु आउने क्रम शुरु भैसकेको समितिले जनाएको छ ।
राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तिहरु समेत मेलामा सहभागी हुने भएकाले यस वर्षको मेलामा आवश्यक सुरक्षा व्यवस्थालाई मजबुत पार्न थालिएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए । त्यस्तै जिल्ला स्थित प्रहरी, कालीदत्त गुल्म लगायतले समेत रिडी मेलाको सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिरहरेको ज्ञवालीले बताए ।






माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नुभएको हो ।  
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग