Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसबुकले फसाद

Published on 12:43:00 AM //

फेसबुक लग इन गर्ने बित्तिकै आफ्नो वाल हेरेर रमेश क्षेत्री झसंग भए। कसैले ट्याग गरेको उनको फोटो देख्दा रमेश मात्र होइन, उनका फेसबुक साथीहरु पनि सशंकित बने। कतिपयले त उनलाई फ्रेन्डलिस्टबाटै डिलिट गरिदिए। कतिले फेसबुकको फोटो भएको पोस्टलाई रिमुभमात्र गरे।

एक जोडी पूर्ण नग्न अवस्थामा आलिङ्गन गरिरहेको फोटो कुनै अश्लील साइटबाट कपी गरेर फेसबुकमा सेयर भइरहेको थियो। र पहिचान नै नभएका मित्रले त्यसमा उनलाई ट्याग गरेका थिए। फोटोमा अरु कसैले ट्याग गरे पनि रमेशले एक महिनासम्म फेसबुक खोल्ने हिम्मत समेत जुटाएनन्। कारण प्रष्ट थियो एक निजी विद्यालयमा पढाउँदै आएका उनको फेसबुक लिस्टमा थुप्रै विद्यार्थी र आफन्तहरु जोडिएका थिए। एउटा सामाजिक संजालले उनको सामाजिक चरित्रमाथि प्रश्न खडा गराएको थियो। ...गल्ती मेरै थियो, नचिनेकोलाई फ्रेन्ड बनाएँ,' उनले सुनाए, ...अनुहार हेरेरमात्र फ्रेन्डसीप स्वीकार गरेँ। १ हजार भन्दा धेरै मेरो फ्रेन्ड लिस्टमा थिए। ती सबैले मेरो नाम जोडिएको यस्तो फोटो देखे।'
फेसबुकको संजालमा नचिनेका साथीहरु कुनै पनि समय खतरा घन्टी हुन सक्छन भन्ने उदाहरणमात्र हो रमेशको प्रसंग। सामाजिक संजालको खराब प्रयोगकर्ताले सामाजिक जीवनमा असर पार्ने र अश्लीलता फैलाउने गरेको समेत आरोप लाग्दै आएको छ।
यौनरोग बढायो
अमेरिकामा भएको एउटा अध्ययनले यस्ता सामाजिक संजालका कारण युवाहरुमा यौन सम्पर्कबाट सर्ने रोग (एसटिडी)को संक्रमण बढेको देखाएको छ। स्वास्थ्यविज्ञहरुले फेसबुकका प्रयोगकर्ताहरुले यौन गतिविधि गर्दा असुरक्षित हुनेसमेत दावी गरेका छन्। सामाजिक संजालबाट सजिलै धेरै सेक्स पार्टनर मिल्ने उनीहरुको आरोप छ। यसरी भेटिने सेक्स पार्टनरहरुमा यौन रोग भए नभएको ख्याल नै नगरी यौन क्रिडामा अमेरिकीहरु सहभागी हुने गरेको देखिएको छ।
फ्लोरिडाको सेमिनली काउन्टी हेल्थ डिपार्टमेन्टका अनुसार गत वर्ष यौन रोगीको संख्या २ सय प्रतिशतले बढेको छ। उनीहरुले गरेको अध्ययनमा यसको कारक फेसबुक जस्तो सामाजिक संजाल रहेको इंगित गरिएको छ।
फेसबुक चलाउने उमेर
फेसबुकसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गर्ने सोसलबेकर्सका अनुसार नेपालमा फेसबुक चलाउनेको संख्या ९ लाख २५ हजार नाघिसकेको छ। नेपालमा ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिलाले यसको प्रयोग गर्छन। नेपालमा फेसबुक चलाउनेमध्ये ६ प्रतिशतको उमेर १५ वर्षभन्दा कम रहेको छ। र, १८ देखि २४ वर्षका युवा सबैभन्दा बढी फेसबुकमा झुम्मिने गर्छन्। त्यसैले पनि यौन सम्बन्धि कन्टेन्ट यसमा धेरै सेयर हुने गर्छ। अझ छद्म नाम र नक्कली फोटो राखेर भर्चुअल सेक्समा रमाउनेहरु यही उमेर समूहका धेरै हुने गर्छन्।
रविन थापाले सुस्मिता कार्कीको नाममा दक्षिण भारतकी एक हिरोइनको फोटो राखेर फेक फेसबुक खोलेका थिए। बोका साथीहरुको नियत त्यसबाट प्रष्टै देखियो, थापा भन्छन्, म त छक्कै परेँ, दिनहुँ दसौँ अपरिचितहरु फ्रेन्ड रिक्वेस्ट पठाउँछन्। आफ्ना नजिकका सोझा देखिने साथीहरु समेतले त्यो फेक फेसबुक अकाउन्टमा पठाएका मेसेज हेरेर उनी जिब्रो टोक्छन्।
फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले गत साता साना केटाकेटीलाई सामाजिक संजाल प्रयोग गर्न उक्साएका थिए। यसअघि १३ वर्षमुनिका बालबालिकालाई फेसबुकमा साइन अपको सुविधा थिएन। तैपनि उमेर ढाँटेर धेरै यसको सञ्जालमा आवद्ध भइसकेका थिए। हालैका दिनमा फेसबुकमा रहेको त्यो बन्देज हटाइएको छ। जुकरवर्गलेे पठन-पाठनका लागि बालबालिकाले फेसबुक प्रयोग गर्न उपयुक्त हुने बताएका थिए। तर के सानो उमेरमै फेसबुक चलाउनु ठिक हो?
जुकरवर्गले भनेजस्तै शैक्षिक प्रयोजनका लागि फेसबुकको प्रयोग सहि हुनसक्छ तर उनले भने झै सकारात्मक कामका लागिमात्र फेसबुक प्रयोग हुन्छ त? ...उनले भनेजस्तो शैक्षिक कुरा अहिलेको फेसबुकले दिन सक्दैन,' बाल मनोविज्ञ डा. ओ केफीले भनिन्, ...यसलाई कम उमेरकाले दुरुपयोग गर्ने सम्भावना धेरै रहन्छ।'
१४ वर्षीया सुमिनाले फेसबुक गेम फार्मभिल्लामा गिफ्ट पाउने आशामा आफ्नो फ्रेन्डलिस्टमा अपरिचितहरुलाई पनि एड गरेकी थिइन्। एक दिन स्कूलबाट फर्केर होमवर्क गर्दैगर्दा क्यानाडामा रहेका अंकलले फोन गरी उनलाई बेस्कन झपारे। पछि पो थाहा भयो, उनको वालमा कुनै अपरिचित अधवैँशेले कति राम्री मैयाँ तिमी त, आइ लभ यु भनेर लेखेका रहेछन्। ठीक यही वाक्य त्यो अधवैंशेले सुरक्षाकी मम्मीको वालमा पनि गएर लेखेको अंकलले देखेपछि सात समुद्र पारबाट फोन गरी उनलाई झपारेका रहेछन्। मैले रुँदै आफ्नो कुरा बताएँ, अंकलले त्यो मान्छेलाई फ्रेन्डलिस्टबाट हटाउन भने। तर मैले जानिनँ। त्यसरी हटाउन झण्झटिलो प्रोसेस रहेछ। भोलिपल्ट अंकलले सिकाएपछि बल्ल जानेँ।
सिविन नेपालले तीन वर्षअघि काठमाडौँमा गरेको एउटा अनुसन्धान अनुसार करिब ६० प्रतिशत स्कूले बालबालिकाले नचिनेकासँग अनलाइनबाट चिनापर्ची भई व्यक्तिगत रुपमा भेटेको र ती मध्ये झण्डै १६ प्रतिशतले पहिलो भेट मै नराम्रो अनुभव गरेको उल्लेख छ। यो अनुसन्धान नेपालमा फेसबुकको प्रयोगको थालनी हुँदै गर्दा भएको हो। विगत दुई वर्षमा फेसबुक प्रयोग गर्नेको संख्या नेपालमा धेरै नै बढेको छ र यसरी यौन दुर्व्यवहारको जोखिममा पर्न सक्ने संभावना पनि धेरै बढाएको छ।
सुमिनाको जस्तो समस्या धेरैलाई पर्न सक्छ। फेसबुक आफू निकटका साथी र नातेदारहरुबीच मात्र सीमित भयो भने सशरीर उपस्थित नभए पनि उनीहरु नजिक भएको भान पार्छ। आत्मीय सम्बन्ध अनलाइनबाट गाँसिन्छ। क्याम्पसका साथीहरुको सञ्जाल बनाएर सुरु भएको फेसबुकको इतिहास हेर्ने हो भने नचिनेको मान्छेलाई साथीका रुपमा सञ्जालमा आवद्ध गरिएला भनेर यसलाई बनाउनेले समेत कल्पना गरेको देखिन्न। यसो गर्नु फेसबुकको दुरुपयोग हो भन्ने धेरैले बुझेका छैनन्। जब यसले हानी गर्छ, तब पछुताउनु भन्दा बेलैमा सचेत हुन जरुरी छ।
(नागरिक न्युज दैनिकबाट)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग