Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडक्रसको अभियानले गाउँ फेरियो

Published on 12:02:00 PM //

गगनशिला खड्का
आजभोलि कुनै व्यक्ति सवारी दुर्घटनामा पर्‍यो वा रूखबाट लडेर हातखुट्टा भाँचियो भने तत्काल प्राथमिक उपचार गर्न सक्षम भएका छन् गुल्मीको गाँैडाकोट गाविसका स्थानीय बासिन्दा । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रममा गौँडाकोट गाविसका स्थानीय बासिन्दाले प्राथमिक उपचार सिकेका हुन् । 
आजकाल गौँडाकोट गाविसका बासिन्दा स्वास्थ्यचौकी वा उपस्वास्थ्य चौकीमा पहिलेको तुलनामा कम जाने गरेको बताउँछिन् प्राथमिक उपचार स्वयंसेवक विमला थापा । उनले भनिन्, 'रेडक्रसले तालिम दिएपछि त साना-तिना दुर्घटनाका घाइते अस्पताल जानै छाडेका छन् ।' आफूहरूले कुनै पनि खाने औषधि भने नदिने उनले बताइन् । 
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले गौँडाकोट गाविसमा कार्यक्रम सञ्चालन गरेको धेरै समय नभए पनि समाजमा ठूलै परिवर्तन भएको बताउँछिन् अर्की स्वयंसेवक नमिता ज्ञवाली । गाँैडाकोट गाविस- ४ निवासी ज्ञवालीले रेडक्रसले सञ्चालन गरेको प्राथमिक उपचार स्वयंसेवक तालिम, सफा घर प्रतियोगिता, सफा बच्चा प्रतियोगिता, स्वयंसेवक बैठक, खुला दिसामुक्त क्षेत्र घोषणालगायतका कार्यक्रमले छोटो अवधिमै गाउँको मुहार फेरिएको बताइन् । उनले भनिन्, 'यो गाविसमा चलेको कार्यक्रममध्ये सबैभन्दा बढी सरसफाइ कार्यक्रमको प्रभावकारीता देखिएको छ, सबै गाउँ हेर्नुस् त, कति सफा छ ?'
रेडक्रसले सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार तालिम २३ जनालाई दिएको भए पनि अहिले जम्मा १७ जनामात्र कार्यरत छन् । 
प्राथमिक उपचार स्वयंसेवक भएपछि गाविसमा धेरैलाई फाइदा पुगेको गौँडाकोट गाविस-३ निवासी शान्ति तङनामीले बताइन् । सदरमुकाम तम्घासनजिकैको गाविस भएपनि चेतना र विकासका दृष्टिले गाउँ पछाडि परेको उनको भनाइ छ । तङनामीले भनिन्, 'हामीले निःस्वार्थ रूपमा सेवा गर्दा कतिपयले यिनीहरूले भत्ता खाएर काम गरेका हुन् भनेको सुन्दा दुःख लाग्छ ।'
गाँैडाकोट गाविसका दुईवटा विद्यालयमा सञ्चालन गरिएको सफा बच्चा प्रतियोगिताले बालबालिकालाई सफा बनाउनको लागि राम्रो भूमिका निर्वाह गरेको म्यालपोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर बस्नेतले बताए । उनले भने, 'यस सरसफाइ कार्यक्रम विद्यालयमा सञ्चालन भएपछि बालबालिका सधैँ सफा भएर आउँछन् ।'
प्रधानाध्यापक बस्नेतले विद्यालयमा आउने विद्यार्थीले हातको नङ काटेका छन् कि छैनन्, कपडा सफा छ कि छैन र कपडा मिलाएर लगाएका छन् कि छैनन् भन्ने आधारमा सफा बच्चाको छनोट गरिने पनि जानकारी दिए । सफा बच्चा प्रतियोगिताले गौँडाकोट गाविसका अभिभावकमा समेत चेतना फैलाएको छ । 
श्री माईका स्थान प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ५ वषर्ीय हिमाल सुवेदीले घरमा आएर दिसापिसाबपछि साबुनपानीले हात धुनुपर्छ भन्ने कुरा दैनिक आफूहरूलाई सिकाउने गरेको आमा जानकी सुवेदीले बताइन् । 
उनले भनिन्, 'यसलाई राम्रो लुगा लगाएर मात्र स्कुल पठाउनुपर्छ नत्र जाँदैन,' उनले भनिन्, 'मैले चर्पी गएर आएपछि मम्मी साबुनपानीले हात धुनु भयो कि भएन भनेर सोध्छ ।' 
यस्तो कार्यक्रमका लागि गुल्मीका अन्य गाविसबाट पनि माग आइरहेको नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखा फिल्ड अधिकृत दीपक पोख्रेलले बताए । उनले भने, 'गुल्मीका अन्य गाविसमा पनि यस्तो खालको कार्यक्रम चल्नुपर्छ भन्ने स्थानीयको माग छ ।'
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले १२औँ राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर गुल्मीको गौँडकोट गाविस-५ लाई खुला दिसामुक्त वडा घोषणा गरेको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग