Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलाई मार्ने योजना थियो

Published on 5:09:00 PM //


गत ०६८ चैत २८ मा ऊर्जामन्त्री घोषणा भएकै दिन गोकर्ण विष्टमाथि खुकुरी प्रहार भयो । आक्रमणबाट उनको दायाँ हात र टाउकोमा गहिरो चोट लागेको थियो । त्यस दिनको उनको डायरीः
२८ चैत, ०६७  
सधैँझैं ५ बजे उठेर बिहानको नित्यकर्म गरे । डाइबिटिज छ त्यसैले हरेक दिन बिहान-बेलुका हिँड्ने गरेको छु । करिब आधा घन्टा 'मर्निङ वाक' गरेर घर फकिर्ंदा ७ बजेको थियो । गुल्मी-काठमाडौं सम्पर्क मञ्चका केही साथी मलाई भेट्न घरमा आइसक्नुभएको रहेछ । उहाँहरूसँग चिया पिउँदै विकसित नयाँ राष्ट्रिय राजनीति र जिल्लाका समस्याबारे गफगाफ भयो । दिउँसो अबेरसम्ममा मन्त्रिपरिषद् विस्तार हुने र ऊर्जामन्त्रीको जिम्मेवारी मैले पाउने लगभग टुंगो भइसकेको थियो । 'आजै शपथग्रहण हुन्छ, तयारी अवस्थामा रहनुहोला' बालुवाटारबाट त्यहीबीचमा खबर आयो । यससम्बन्धी समाचार सञ्चारमाध्यमले बिहानैदेखि प्रसारण गरिरहेका थिए । समाचार सुनेर देशभरिका साथीले टेलिफोन गरेर बधाई दिइरहेका थिए । बधाई दिनेमा पार्टीका नेता, कार्यकर्ता र सामाजिक अभियानमा लागेकाहरू बढी थिए ।
 राजनीतिमा लाग्नु आफैँमा जनताको सेवा गर्नु नै हो, अझ निश्चित जिम्मेवारीमा बसेर जनताको सेवा गर्ने अवसर पाउनु मेरा लागि खुसीको विषय थियो । यस हिसाबले म उत्साही नै थिएँ । कतिवेला शपथ हुन्छ ? साथीहरू पनि फोनबाट उत्साहका साथ सोधिरहेका थिए । केही सम्पर्क मञ्चका साथी त २ बजे शपथग्रहण भनेर राष्ट्रपतिको कार्यालय शीतलनिवास पुग्नुभएछ । 'हामी त आइसक्यौँ तपाईं कतिवेला आउने' भनेर साथीहरूले त्यहीँबाट फोन गर्नुभयो । म पनि कतिवेला शपथ ग्रहणका लागि बोलाइन्छ भन्ने प्रतीक्षामै थिएँ । बधाई दिन आएका साथीहरूसँग गफ गरिरहँदा पनि एकखालको छट्पटी र हतारोजस्तो भइरहेको थियो ।
दिनभरिजसो नै साथीहरू आउने/जाने क्रम जारी रह्यो । दिउँसो ३ बजेतिर साथीहरूसँगै बसेर खाजा खाइयो । साँझतिर राष्ट्रपति डा. रामवरण यादव तनहुको कार्यक्रममा जानुभएका कारण आज शपथ नहुने तर बालुवाटारबाट आजै नयाँ मन्त्रीहरूको नामचाहिँ राष्ट्रपतिको कार्यालयमा जाने भन्ने खबर पाएँ । शपथग्रहण नभए पनि सञ्चारमाध्यमले नयाँ मन्त्रीका नामावली प्रसारण गरिरहेका थिए । शपथग्रहण नहुने निश्चित भइसकेपछि साँझ ७ बजेतिर सम्पर्क मञ्चका हेम लम्साल, बलराम बेलबासेलगायत साथीहरू पनि बिदा हुनुभयो ।
दिनभर घरमा भएकाले जिउ आलस्य भएको थियो । एकघन्टा जति वाकिङ गर्नुपर्छ भनेर घरबाहिर निस्केँ । लोडसेडिङ थियो । मुस्किलले मान्छेहरूको अनुहार ठम्याउन सकिन्थ्यो । घरअगाडि २०/२५ मिटरजति आहोरदोहोर गरिरहेको थिएँ । अचानक मुखमा मास्क लगाएको मान्छे आएर मेरो बाटो छेक्यो । म तुरुन्तै बाटो छाडेर अलि माथि आएँ । त्यतिकैमा 'मार्' भनेर कसैले भन्योे । तत्कालै मेरो बाटो छेक्ने मान्छेले मलाई खुकुरी प्रहार गर्‍योे । खुकुरी कहाँबाट कसरी झिक्यो ? मलाई केही याद नै भएन । तर 'मार्' भन्नासाथ मैले आत्तिएर दायाँ हात उठाई प्रहार रोक्न पुगेछु । उसले सकेसम्म बल प्रयोग गरेर खुकुरी प्रहार गरेको थियो । हातले छेके पनि खुकुरी हात ताछेर टाउकोमा बजि्रयो । आक्रमणकारीले मलाई मार्ने नियतले नै प्रहार गरेको थियो । उसले 'मार्' भनेपछि मैले सावधान भएर संयोगले हातले छेकेछु । हातले नरोकेको भए सायद म बच्दिनथेँ होला । पछाडि पनि खुकुरीले हानेजस्तो लाग्यो । म पछाडि र्फकें । एकजना मास्क लगाएको मान्छे थियो । म झन् आत्तिएँ र घरको गेट खोलेर भित्र पसिहालेँ । गेटबाट कसरी घरभित्र पसेँ केही याद छैन । खै, तिनीहरूले मेरो पिछा गरे कि गरेनन् त्यो पनि थाहा छैन । भित्र छिर्नासाथ कोठामा एउटा सानो बत्ती बलिरहेको थियो । हात र टाउकोबाट रगत बगिरहेको थियो । म रगतले पूरै भिजिसकेको थिएँ । दुखाइको रन्काले भित्र गएर ठुल्ठूलो स्वरमा चिच्याएछु । श्रीमती, छोरा र भतिजहरू अत्तालिएर आए । मेरो अवस्था देखेर उनीहरू पनि रुन कराउन थाले । मैले भतिजलाई ट्याक्सी लिन पठाएँ । औंला चुँडिन लागेको थियो । रगतले सिर्का हानिरहेको थियो । ट्याक्सी आइपुग्दासम्म धेरै रगत बग्छ भनेर म ट्याक्सी भएतिरै दौडेर गएँ । श्रीमतीले मलाई पछ्याइरहेकी थिइन् । भतिजले ट्याक्सी लिएर आउँदै रहेछ । ट्याक्सीमा श्रीमती, भतिज र म चढ्यौँ । मैले ट्याक्सीलाई मनमोहन अस्पताल जान भनेँ । रगत हलहली बगिरहेको थियो । म एकदमै आत्तिरहेको थिएँ । मलाई याद छ, बाटोमा जाम भएका वेला मेले ट्याक्सीलाई छिटो हाँक, साइरन बजाऊ भनेर कराइरहेको थिएँ । मेरो दिमागमा कति वेला अस्पताल पुगेर रगत रोक्ने भन्ने मात्रै थियो तर काटिएको ठाउँमा हातले समाउँदा रगत रोकिन्छ भन्ने होस नै भएन । त्यसवेला रगत बढी गएर कतै मरिन्छ कि भन्ने डर मनमा थियो । 
मनमोहन अस्पताल पुग्दासम्म धेरै रगत बगिसकेको थियो । एक्कासि झुम्म भयो, बेहोस हुन लागेजस्तो भयो । त्यसवेला निकोलाई आस्त्रोभस्की र उनको उपन्यास अग्निदीक्षा सम्झँे । जसले एउटा हात नभएर पनि संसारका मान्छेलाई ब्युँझाउने उपन्यास लेखेका थिए । 'ओहो, उनले हात काटिएर पनि त्यस्तो कृति लेखे मेरो पनि आंैला काटिएर केही हुन्न' बेहोस हुन खोजिरहेका वेला मैले अस्त्रोभस्कीलाई सम्भिmएर आत्मबल बढाउन कोसिस गरँ । रगत रोकिएपछि चाहिँ अब मर्दिनँ भन्ने लाग्यो । डक्टरले पनि खतरा छैन भन्नुभयो । डाक्टरहरूले खुकुरी हातले नछेकेको भए 'स्थिति अत्यन्त दुर्भाग्यपूर्ण' हुने कुरा सुनाउनुभयो । 'मार्ने नै गरी खुकुरी प्रहार गरिएको हो' डक्टरहरूको निष्कर्ष थियो । आक्रमणको खबर सुनेपछि धेरै साथीहरू राति नै अस्पताल आउनुभएको थियो । त्यसवेला मैले आक्रमणको समयमा देखाएको संयमताले नै मेरो ज्यान जोगायो । 
०००
यद्यपि यो ममाथि भएको पहिलो आक्रमण भने होइन । राजनीतिको दौरानमा यस्ता कैयन आक्रमण सहनुपरेको छ । ०४३ सालमा हिरासतमा नै प्रहरीले बायाँ हात भाँचिदिएको थियो । धेरैपटक पञ्चायतका मण्डलेहरूले आक्रमण गरी घाइते बनाएका थिए । तर, ती आक्रमणले मलाई त्यति धेरै दुःखी बनाएन । तर, यो आक्रमणबाट अलि धेरै गम्भीर र दुःखी भएँ । त्यसवेला हाम्रा शत्रु घोषित थिए । अहिले शत्रुको पहिचान नभई त्यस्तो हमला गरियो, दुःख लाग्नु स्वाभाविक पनि हो । हमलाको कारण के हो ? यसको पछाडि कसकोे हात छ ? अस्पतालको बेडमा उपचार भइराख्दा यस्ता प्रश्न मनमा आउँथे र रातभरि एकदमै छट्पटी भइरहन्थ्यो । जुन दिन मन्त्रीको घोषणा भएको थियो, त्यही दिन मार्ने नियतले आक्रमण गरिएको थियो । प्रहरीले केही मान्छे पनि पक्राउ गरेको छ । प्रहरी अनुसन्धानमा दुव्र्यसनीहरूले अर्को मान्छेलाई आक्रमण गर्दा म परेको भन्ने तथ्य भेटिएको सुनेँ । तर, त्यो सत्य हँुदै होइन । एउटा अपराधीले कसरी हमला गर्छ ? अपराधीको मनोवृत्ति कस्तो हुन्छ ? मलाई यसको राम्रो जानकारी त छैन । तर, लाग्छ दुव्र्यसनीले लोडसेडिङका वेला मास्क लगाएर आक्रमण गर्दैन । दुईतिरबाट छेकेर योजनाबद्ध तरिकाले आक्रमण गर्दैन । आक्रमणको पछाडि कुनै न कुनै आग्रह छ । विचार र आस्थालाई हतियारले पराजित गर्न खोज्ने शक्तिले कुनै न कुनै आग्रह राखेर योजनाबद्ध तरिकाले गरेको आक्रमण नै हो यो । 
नेपाली राजनीतिमा हतियारले विचारलाई पराजित गर्न सकिन्छ भन्ने प्रवृत्ति देखापरेको छ, यो प्रवृत्ति लामो समय रहनु नेपाली राजनीतिको लागि दुर्भाग्यपूर्ण हुनेछ । बारम्बार हमला भइरहँदा दुःख लाग्छ । मेरो दायाँ हात अझै पनि राम्ररी चलाउन मिल्दैन । प्रहरीले हमला भएको करिब दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन । तर, मलाई आशा छ प्रहरीले अपराधी खोजिरहेको छ र एक न एक दिन अपराधी भेटिनेछ । अपराधीले उन्मुक्ति पाए भने मजस्तै राजनीतिकर्मीहरू फेरि यस्ता हमलाको सिकार बन्नेछन् । आस्था र विचार बोकेर हिँडेका कोही पनि व्यक्ति मजस्तो हतियारको सिकार नबनून् मेरो चहाना यही छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग