Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्यवती संरक्षणमा जुटे युवा

Published on 3:23:00 AM //

गगनशिला खड्का
प्रसिद्ध तीर्थस्थल बूढी सत्यवतीको संरक्षण र प्रचार-प्रसारमा स्थानीय युवाहरू जुटेका छन् । जिल्लाको क्षेत्र नं-१ अन्तर्गत लिम्घा र लुम्पेक गाविसको सिमानामा पर्ने बूढी सत्यवतीको विकासका लागि स्थानीय युवाले विकास समिति गठन गरेर संरक्षण अभियान सुरु गरेका हुन् । 
ठूलो लुम्पेकका युवाले सत्यवती संरक्षण तथा पर्यटन विकास नामक संस्था गठन गरेर संरक्षका लागि जुटेका छन् । युवाले सो संस्थामार्फत त्यहाँका पुराना मन्दिर तथा अन्य ऐतिहासिक वस्तुको संरक्षणका लागि कार्यक्रम सुरु गरेको बताउँछन् संस्थाका अध्यक्ष जितु तरामु मगर । 'कति ठाउँमा सामान्य मठमन्दिरको त कति प्रचारप्रसार भएको छ तर हाम्रो यति महत्त्वपूर्ण सत्यवतीको प्रचार अभावमा ओझेलमा परेपछि हामी पुराना चिज र मन्दिर संरक्षण अभियानमा लागेका छौँ,' उनले भने । 
सत्यवती क्षेत्रको प्रचारप्रसारका लागि प्रसिद्ध चारधाममध्येको एक गुल्मीको रुरु क्षेत्रदेखि र गुल्मीको सिमानामा रहेको कालीगण्डकी 'ए' जलविद्युत् परियोजनाको बाँध रहेको स्थान मिर्मीदेखि दुई छुट्टाछुट्टै ट्रेकिङ रुट निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष तरामुले बताए । 'रिडी र मिर्मी २ छुट्टाछुट्टै ठाउँबाट ट्रेकिङ रुट निर्माण गर्ने योजनामा छौँ, उनले भने, 'पहिलो चरणमा सरकारी सहयोगमा सानी सत्यवतीदेखि मुख्य स्थलसम्म ट्रेकिङ रुट निर्माणाधीन छ ।'
शिवजीले सतिदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा करङ पतन भएर सो देवस्थल उत्पन्न भएको बताइन्छ । सत्यवतीको करङ पतन भएको मानिने उक्त स्थलमा सत्यवतीको करङको प्रतीक मानिने चट्टानबाट प्राकृतिक रूपमै बनेको सातवटा कुण्ड, प्राकृतिक रूपमै बनेको आकर्षक भर्‍याङ, सीधै आकाश देखिने गुफा, ढुंगामा कुँदिएर बनेका आकर्षक तपस्यास्थललगायत आकर्षक र ऐतिहासिक स्थल रहेका छन् । यस मन्दिरमा चिच्याएर मागे मनले चिताएको कुरा पूरा हुने विश्वास छ । 
सत्यवतीमा हरेक वर्ष कात्तिक शुक्लपक्ष वैकुण्ठ चतुर्दशीमा ठूलो मेला लाग्ने गर्दछ । गुल्मी, बाग्लुङ, पर्वत, स्याङ्जा, प्युठानसम्मका भक्तजनको ठूलो घुइँचो लाग्ने सो स्थानमा बिहानपख चिच्याएर वर माग्ने गरिन्छ । मागेको वर पूरा हुने विश्वासमा भक्तजनले धुमधामसँग पूजाआजा गर्ने र बली दिने गर्दछन् । यतायात अभावमा सत्यवती ओझेलमा परेको लिम्घाका प्रधानाध्यापक घनश्याम ज्ञवालीले बताए । 'विश्वास भएपनि मनले चिताएको पुगेको बिरलै ठाउँहरूमध्ये एउटा ठाउँ सत्यवती हो, तर यातायातको अभावमा विकास हुन सकेन । पहिला यातायातका लागि नै पहल हुनुपर्छ,' उनले भने । 
प्रचार अभावमा विकास हुन नसकेको मनकामना प्रावि, ठूलो लुम्पेकका प्रधानाध्यापक कोशलराज ज्ञवालीले बताए । 'धार्मिक ऐतिहासिक रूपमा त महत्त्वपूर्ण भयो नै, बुढी सत्यवती पर्यटकीय हिसाबले पनि कम आकर्षक र महत्त्वपूर्ण छैन,' ज्ञवालीले भने, 'गुल्मी, बाग्लुङ, पर्वत, स्याङजालगायत जिल्ला तथा मनोरम हिम शंृखला देखिने अत्यन्तै आकर्षक सो स्थानको विकासका लागि पहिला बाटो पुर्‍याउन सरकारले पहल गर्नुपर्छ सँगसँगै प्रचारप्रसारमा पनि जोड दिइनुपर्छ ।' 
सत्यवतीमा रहेका पुराना मठमन्दिर तथा तपस्यास्थल संरक्षण अभावमा जीर्ण हुन थालेकाले यसको संरक्षणका लागि पनि सम्बन्धित निकायको ध्यान केन्दि्रत हुनुपर्ने उनले बताए । 'धेरै धार्मिक महत्त्वका चिज छन् तर गाउँलेको एकल प्रयासले संरक्षण गर्न असम्भव भएकाले त्यत्तिकै जीर्ण बन्दै छन्,' उनको भनाइ थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग