Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा मलामी जाँदा

Published on 1:19:00 AM //

मञ्जु थापा
विदेशी भूमिमा एकजना साथीको मलामी जानुपर्दा स्तब्ध छु, लाग्छ- आफैँ आफ्नो मलामी गइरहेछु । अनि मेरो मृत्युको समाचार मेरा सहकर्मीले लेख्नेछन् । साथीको मृत्युको खबर लेख्न पटक्कै जाँगर लाग्दैन । तर कोरियामा ठूला सपना साँचेर अनि सुनौलो भविष्यको कल्पना गरेर आएकाहरू मृत्यु शय्यामा सुत्ने क्रम घटेको छैन, बरु बढिरहेको छ । शवयात्रामा कतिजना अब आफ्नो पालो आउने हो कि भनेर चिन्तित थिए । भय र त्रासमा काम गर्दागर्दै कुनै दिन जसलाई पनि यस्तो पालो नआउला भन्न सकिन्न ।
१९ वर्षजति अगाडि गोरखाबाट सपनाको खेती गर्न कोरिया आएका रूद्र गुरुङ धूवाधुलो खाँदै कोरियामा विभिन्न ठूला सहरमा निर्माणकर्मीका रूपमा कार्यरत थिए । भाग्य पनि कस्तो, आफैंले निर्माणको काम गरेको क्याथोलिक भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा उनले मृत्युवरण गर्नुपर्‍यो । युवा उमेरको जोस, सपना र ऊर्जालाई सेलाउन दक्षिण कोरिया आउनेमध्येका अर्का युवक हुन् मानबहादुर दर्लामी । दुवैजना आफ्नो सुनौलो भविष्यको सपना बोकेर कोरिया आएका थिए । तर उनीहरूलाई के थाहा आफ्नो अस्तु मात्र र्फकनेछ भनेर । रुद्र गुरुङका लागि पनि दक्षिण कोरिया एउटा सपनाको देश हुँदो हो, जब उनी आफ्नो सपना र रहर संगाल्ने उमेरमा यता भासिए । उनले यहाँको माटोको निम्ति आफ्नो यौवन सुम्पे, पौरख सुम्पे, सारा सीप र सिर्जना सुम्पे । अन्ततः यही माटोमा प्राण त्याग पनि गरे । दक्षिण कोरियाले अरू केके दियो उनलाई, त्यो थाहा छैन तर मुटुको रोग दिएर अल्पायु पनि यही माटोले दियो ।

दक्षिण कोरियामा कतै कठिन काम त कतै केमिकलको असरले गर्दा प्रवासी मजदुरहरूको असामयिक मृत्यु हुने क्रम बढेर गएको छ । कोरियामा मृत्युशय्यामा पुग्ने नेपालीको संख्या ९१ पुगिसकेको छ । नेपाली मजदुरको संस्था एनसीसीका अध्यक्ष डेभिड राई एक महिनामा ३ जनासम्मको मलामी गइसकेको दुःखद् अनुभव सुनाउँछन् ।

मे ९ मा कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी मृत्यु वरण गरेका काभ्रे निवासी श्रवणराज पन्तका परिवारले उनको लास बुझ्न पाएका छैनन् । विभिन्न कठिनाइले गर्दा कोरियाबाट नेपाल पठाउन सकिएको छैन । उनको मृत शरीर अझै अस्पतालमा छ । रोजगारीको सिलसिलामा २ वर्षअघि इपिएस प्रणालीमार्फत दक्षिण कोरिया आएका उनी क्यंगि्रदो आनसानको एक आल्मुनियम कम्पनीमा काम गर्दै थिए । कालले पनि कोरियासम्म खोज्दै आउँदोरहेछ । आफ्नो कुनै गल्ती नहुँदा पनि कारखानामा चलिरहेको क्रेनको हुक एक्कासि खसेर पन्तको टाउकामा बजि्रन पुग्यो । तत्काल एम्बुलेन्स बोलाई अस्पताल लगेर शल्यक्रिया गर्दा पनि उनको ज्यान जोगिएन ।

२१ वर्षको उमेरमा इपिएसमार्फत कोरिया आइपुगेका मानबहादुर गएको मार्च २९ तारिख बिहान कम्पनीको भान्सामा झुन्डिरहेको अवस्थामा फेला परेका थिए । उनी कोरिया आएको एक महिना मात्रै भएको थियो । अत्यधिक कामको चाप, एक्लोपना र भाषाको समस्याले गर्दा डिप्रेसनमा परेर उनले आत्महत्याको बाटो रोज्न पुगे । यस्तो अवस्थामा उनले न्यानो माया र सद्भाव पाएको भए सायद त्यो अवस्था आउने थिएन होला । आशाको दियो यसरी विलीन हुँदा उनका परिवारलाई कस्तो महसुस भएको होला, हामी अनुमान मात्र गर्न सक्छौं । कसैका लागि दक्षिण कोरिया सपनाको सहर होला, यहाँ कति सपना फुल्छन् पनि होेला तर परिवारबाट टाढा कतै आएर खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरमा मृत्युवरण गर्नु कति त्रासद कुरा हो । कोरियाको फितलो श्रम ऐन र मालिकको अमानवीय व्यवहारले पसिना बगाउने र सस्तो ज्यालामा श्रम बेच्ने प्रवासी मजदुरहरू दिनप्रतिदिन मृत्युको मुखमा धकेलिँदै छन् । यस्तो लाग्छ हामीले सुनौलो भविष्यको कल्पना गरेर रंगशालाको टन्टलापुर घाममा बिसौं घन्टा कुरेर निवेदन गरेको के कोरियामा हाम्रो जीवनको आहुति दिनलाई हो र ? होइन भने किन हामी मौन छौं यस्ता अकल्पनीय मृत्युमा ? सरोकारवाला हामी सबैले मनन गुर्नपर्ने बेला आएको छ, कोरियाबाट किन हाम्रो अस्तु मात्र धमाधम फर्किरहेको छ ?

लेखक दक्षिण कोरियास्थित एमडब्लु टिभीसँग आबद्ध छिन् ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग