Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाठकको कलमबाट: रेडियो कार्यक्रम 'ओझेलका खबर' ले पारेका सकारात्मक प्रभाव


-सालिक राम खत्री
नेपालको परिप्रेक्ष्यमा रेडियो सबभन्दा सुलभ र भरपर्दो सन्चार माध्यम बनेको छ। जनतालाई सुसूचित गर्ने, मनोरञ्जन प्रदान गर्ने र चेतना स्तर बढाउने काममा रेडियोहरूको महत्त्वपूर्ण भुमिका रहेको छ। रेडियोहरूको  महत्त्वको मूल्याङ्कन गर्दै हरेक बर्षको फेब्रुअरी १३ तारिकका दिन विश्व रेडियो दिवस मनाइदै आइएको छ र यस बर्ष यसै साता दिवस मनाईयो । विश्व रेडियो दिवसको अवसर पारेर रेडियो कार्यक्रमले समाजमा पारेको सकारात्मक प्रभावको चर्चा गर्न गएको छ ।
रेडियो कार्यक्रम 'ओझेलका खबर' पस्चिमान्चल क्षेत्रकै एक लोकप्रिय कार्यक्रम हो जुन सामुदायिक रेडियो स्काईले उत्पादन गर्दै आएको छ भने गुल्मीन्युज डट कम सहित एक दर्जन बढी मिडियाहरूमा प्रसारण हुने गर्छ।  सोही कार्यक्रम ले पारेको सकारात्मक प्रभावको बारेमा चर्चा गरौँ।
श्री भगवती प्राथमिक विद्यालय, बडागाउँ-८, गुल्मीमा अनियमितता हुने गरेको गुनासो आए पछि ओझेलका खबरका सन्चालक प्रेम ब. सुनार ज्यूले स्थलगत रिपोर्ट बनाएर ओझेलका खबरमा प्रसारण गरे पछि सो विद्यालयमा सुधार भएको देख्न सकिन्छ।  शिक्षक समयमा विद्यालयमा उपस्थित नहुने,  शिक्षक नियुक्ति गर्दा प्रधानाध्यापकले आफ्ना नातेदारलाई नियुक्त गर्ने, विद्यालयको आय-व्यय सार्वजनिक नगर्ने गरेको गुनासो आए पछि अभिभावकहरूको उपस्थिति मा छलफल गरिएको थियो।  सोही विषयमा जिल्ला शिक्षा कार्यालयको पनि ध्यानाकर्षण गराइएको थियो।  अहिले सो विद्यालयमा सुधारका काम भएको देख्न सकिन्छ। अहिले अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ भने  शिक्षक पनि समयमा उपस्थित हुने गरेका छन । तीन कक्षा सम्म पढाइ हुने सो विद्यालयमा चार जना शिक्षक-शिक्षिकाले  अध्यापन गराइरहेका छन।
यस्ता रेडियो कार्यक्रमले पार्ने सकारात्मक प्रभावको यो प्रतिनिधि घटना मात्र हो। यस्ता कयौँ घटनाहरू देख्न र सुन्न पाइन्छ।
भारतमा गाडी दुर्घटनामा परेर खुट्टा गुमाएका अमृत बि क को कथा- ब्यथा यसै कार्यक्रम 'ओझेलका खबर' को जीवनको गोरेटो स्तम्भमा प्रसारण  भए पछि तम्घासको एक संस्थाले पढ्ने र कृत्रिम खुट्टा को व्यवस्था गर्ने भएको छ भने घरको चुहिने छाना फेर्न विदेशमा रहनुभएका नेपालीहरूले सहयोग गर्नु भएको छ।

बडागाउँ, गुल्मी
(सालीक राम खत्री सारीक रुपमा अशाक्त हुनुहुन्छ । खत्री शारीरिक अशक्तताका कारण आठ कक्षा पास गरेर पढाई छोडेँ र घरमै बस्नुहुन्छ । उहाँले शारीरिक परिश्रम पर्ने कुनै काम गर्न पनि सक्नुहुन्न । Neural tube defect का कारण उहाँको स्वास्थ्य दिनप्रतिदिन खराब हुदै गएको छ । उपचार महङ्गो पर्ने भने पछि उहाँ यसै घरमै बस्नुभएको छ । )

भ्यालेण्टाईन डे

संगीता रौनियार
प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन । यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको छ। यो दिन आउनुअघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन्। महिना पहिलेदेखि यसको तयारीमा जुटेका हुन्छन्। ठूलाबडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवामनका निम्ति यो आत्मीय चाड हो।
१४ फरवरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वका रूपमा मनाइन्छ। क्याथोलिक र रोमनहरूको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडका रूपमा प्रख्यात भैसकेको छ। यो चाडको प्रारम्भ कसरी भयो ? भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ। हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून् भन्ने उर्दी जारी गरेका थिए। राजाको सोच थियो- सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन्। भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए। १४ फरवरीका दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस 'सेन्ट भ्यालेन्टाइन डे' का रूपमा विख्यात भयो।
पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गर्यो र प्रचलित भयो। यो दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा प्रख्यात छ। आजका युवाहरूले जुन भावले पश्चिमी सभ्यता र फेसनलाई स्वीकार गरेका छन् त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार्य भएका छन्।
आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ। प्रदर्शन गर्ने होड नै चलेको छ। 'गर्लफ्रेन्ड' र 'ब्वाइ फ्रेन्ड' बनाउने त फेसन नै चलेको छ।
आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि सोच्छन् र बढी काम गर्छन्। क्याम्पसकी एक छात्राको राय छ-'भ्यालेन्टाइन डे मनाउनुमा के नराम्रो छ र ? जिन्दगीको गोरेटोमा हामीलाई अंकुश होइन, खुसी, माया र स्वतन्त्रता चाहिएको छ। सँगसँगै पढ्दा, घुम्दा र काम गर्दा प्रेमको अंकुरण हुन्छ जुन स्वाभाविक र सहज हो। यसमा आश्चर्य मान्ने कुरै छैन। 'समयको विकाससँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ। पहिले-पहिले आफ्नो भाव व्यक्त गर्ने दिन यही हुन्थ्यो। १९ औं शताब्दीमा प्रेमपत्रद्वारा प्रेमी-प्रेमिकाहरू आ-आफ्ना भाव व्यक्त गर्थे, पछि १९६० को बेला रातो गुलाफ र फूलका गुच्छाको चलन आयो। १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार-प्रसार गर्न थाले।
धेरैजसोले कार्ड, खेलौना मुटु आकारका खेलौना, चकलेट, पर्फ्युम, मग तथा फूल उपहार दिन मन पराउँछन्। यो दिन गुलाफको फूल नै किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतीक हो। संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाषा बोल्छ। धेरै जनाको विचार छ-'यो केवल युवाहरूको चाड हो तर यो माया-प्रेम गर्ने सबैको चाड हो, यो दिन प्रत्येक युगल जोडीले प्रेम गर्न सक्छन्, तिनीहरू श्रीमान् र श्रीमती हुन सक्छन्। यो दिन सबै श्रीमान्-श्रीमतीले आ-आफ्नो जोडीलाई प्रेमको चिनो दिन कन्जुस्याइँ गर्नु हुँदैन। भ्यालेन्टाइन डेलाई लोकप्रिय बनाउन आर्चिज कम्पनीको ठूलो हात छ। आर्चिजले आफ्नो उत्पादनमा कार्ड्स्, मुटु आकारको मग, टोय, स्टेसनरी, प्रेमसन्देश, ज्वेलरी, पर्फ्युम, गृहसज्जाका सामान प्रमोट गर्छ। यसै दिन कतिपय होटलमा गीत, नृत्य र संगीतको विशेष कार्यक्रम पनि हुने गरेको छ।
यो दिन अरूलाई फाइदा होस्-नहोस् तर फूलका व्यापारीलाई धेरै फाइदा हुन्छ। यो दिन एउटा गुलाफको कोपिलाको मूल्य १ सय रुपैयाँसम्म पुग्छ। सक्कली मात्र नभै नक्कली गुलाफको बिक्री पनि उत्तिकै हुन्छ।
चाडको मौलिकतालाई ध्यानमा राख्दै यसलाई मनाउनुपर्छ। भद्दा प्रदर्शन र अश्लीलताबाट बच्नुपर्छ। माया प्रदर्शन गरेर होइन, साथीको मन शालीन व्यवहारबाट जित्नुपर्छ। विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ। अरूको लहलहैमा लागेर आफ्नो बजेट बिगार्नु मुख्र्याइँ हुन सक्छ। तसर्थ प्रेम दिवस मनाउनुहोस् तर सीमाभित्र रहेर, किनभने माया प्रदर्शन गर्न एउटा छड्के नजर नै पर्याप्त हुन्छ। —
प्रणय दिबसको अवसरमा आत्मीय मनमा प्रेमै प्रेम रसले अविषेक गर्दै प्रेम पुष्प अर्पण गर्छु !! हेप्पी भेलेन्टाइन डे !
(कान्तिपुर साप्ताहिकबाट)

चूनौती नै चुनौतीका विचमा पत्रकार महिला

-गगनशिला खड्का
नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ । तर पनि नेपालका हरेक निकायमा सोचे जति महिलाको सहभागीता हुन सकिरहेको छैन । राज्यका हरेक निकाय र निति निर्माण तहमा महिलाको सहभागीता जति हुन सक्यो त्यती नै महिलामैत्री वातावरण बन्न सक्छ । महिलाका पिर,मर्का,समस्या र मुद्धाहरु नजिक वाट बुझ्ेर समस्या समाधानका लागि पहल गर्नुपर्ने एउटा पेशा पत्रकारीता पनि हो । पत्रकारीताको माध्यमवाट जति धेरै कुराहरु उठान गर्न सकिन्छ त्यही रुपमा त्यस्ता विषयहरुको सम्बोधन पनि हुन सक्छ । सख्यात्मक हिसाबमा पत्रकार महिलाको उपस्थिती जति न्युन बन्दै जान्छ त्यती नै चुनौती पनि थपिदैँ जान्छन् । अन्य पेशाको तुलनामा पत्रकारीता चुनौतीपुर्ण छ । प्रतिस्पर्धात्मक बन्दै गईरहेको हाम्रो समाज र पत्रकारीतामा पत्रकार महिला पनि उत्तिकै प्रतिस्पर्धी बन्नुपर्ने चुनौती खडा भएको छ । छोरीलाई सामान्य घरधन्दामा सिमित राख्नुपर्ने परिवार र समाजको परम्परागत सोचाईले महिलालाई पत्रकारीता गर्न अझ असहज छ ।
राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमा आवद्ध भई काम गर्ने पत्रकार महिला पनि त्यत्तिकै टाठो र चनाखो हुनुपर्ने पेशागत दायित्व पनि हो । तर साघुरो घेरा भित्र रहेको हाम्रो समाजले नै त्यस्ता चुनौती थपेको छ जुन चुनौतीका कारण पत्रकार महिला पेशावाटै पलायन हुन बाध्य छन् । विषेश गरी यस्ता चुनौतीहरुको सामाना मोफसलमा बसेर पत्रकारीता गरीरहेका पत्रकार महिलाले भोग्दै आईरहेका छन् । शारिरीक र बौद्धिक दुबै कुरामा अगाडि हुनुपर्नै पत्रकारीता पेशामा लागेका पत्रकार महिलाले अवसर भन्दा पनि धेरै चुनौती नै खेप्नु परेको छ । मोफसलमा बसेर पत्रकारीता गर्दै आईरहेका महिलाहरुले सामाजिक,आर्थिक र नैतिक रुपमा चुनौतीको सामाना गर्नुपरीरहेको हुन्छ । आम समाजको हौसला र प्रोत्साहन भन्दा पनि बढी आलोचनाको सामाना गर्न बाध्य छन् मोफसलका पत्रकार महिला ।
उसै त आम महिलाहरुको चरीत्रमाथी नै दाग लगाउन तल्लिन हाम्रो समाजले अझ पत्रकार महिलामाथी यस्ता थुप्रै चुनौती खडा गरेको छ । आफ्नै सहकर्मीको दुव्र्यवहार र असयोग पत्रकार महिलाका लागि अहिले बलियो चुनौतीका रुपमा देखा परेको छ । आफुले काम गर्ने सञ्चार संस्थामा निर्णायक भुमिका निर्वाह गर्न नपाउनु, पत्रकारहरुका संघ संगठनमा नेतृत्व तहमा पत्रकार महिलाको सहभागीता हुन नदिनु वा नगराईनु, ठुला सञ्चार गृहमा जिल्लावाट संवाददाता राख्दा होस् वा डेक्समा पत्रकार महिलालाई प्राथमिकता दिएर अवसर नदिईनुले पनि अवसर भन्दा धेरै चुनौती देखिएका हुन् । भर्खर पत्रकारीता सिक्दै गरेको पुरुष र सात आठ बर्ष अघिदेखी पत्रकारीता गरीरहेकी महिलालाई एउटै दाँजोमा राखेर हेरीनुले पनि पत्रकारीतामा पत्रकार महिलाको अनुभवको कदर गरीदैँन भन्ने पुष्टी हुन्छ । जति सुकै अनुभवी र क्षमतावान भएपनि पुरुषको तुलनामा पत्रकार महिला कमजोर नै हुन्छ्न भन्ने मानसिकताले जरो गाडेको छ ।
अझ जिल्लामा बसेर पत्रकारीता गरीरहेका पत्रकार महिलाहरुका समस्या र चुनौती फरक खालका छन् । पत्रकारीता पेशा महिलाका लागि त्यती सुरक्षित र भरपर्दो हुदैँन भन्ने जान्दा  पनि कठोर निर्णयका साथ यसमा हाम फाल्ने महिलाहरुले चुनौती नै चुनौतीका विचमा काम गरीरहेका हुन्छन् । एकातिर दैनिक पत्रिका,टिभी र रेडियोमा समाचार लेख्ने,भन्ने र पठाउने काममै व्यस्त हुनुपर्नेै हुन्छ भने अर्कोतिर आफ्नै सहकर्मीको यौनदुर्ब्यवहार चुपचाप सहन बाध्य हुनुपर्दछ । यौनदुर्ब्यवहार भन्दा वित्तिकै यौनकार्य नै गर्नुपर्दछ भन्ने होइन । कार्यस्थलमा उसले होच्याएर आफ्ना अगाडी नराम्रा शव्दहरु बोल्नु,गलत कामको लागि प्रेरित गर्नु, चरीत्र माथी नै आच पु¥याउने खालका कुराहरु सार्वजनिक रुपमा गर्दै हिड्नु, काम गर्ने सञ्चार संस्थाको
डेक्समा बसेर काम गर्ने जुनकुनै कर्मचारीले पनि गरेर अनावश्यक गफहरु गर्न खोज्ने,समाचारदाताको कुरालाई गम्भीर रुपमा नलिई हाँसि—मजाकमा उडाईदिने र भेट्नको लागि वारम्वार दवाब दिईरहने जस्ता कुराहरुले पनि पत्रकार महिलाहरुले मानसिक तनाबमा काम गर्नुपर्ने हुन्छ । कतिपय कार्यक्रम र फोरममा उठ्ने गरेको आर्थिक अभाबका कारण पत्रकार महिलाको संख्या ठुला सञ्चारगृहले बढाउन सकेनन् भन्ने कुरा तर्क संगत लाग्दैन । अवसर भएको अवस्थामा महिलालाई निर्णायक स्थानमा किन राख्न सकिदैन ? यदी लैङ्गिक विभेद रहित समाजको निर्माण गर्ने हो भने सञ्चार क्षेत्रमा पत्रकार महिलाको संख्या किन त्यही अनुपातमा बढाउँन सकिदैँन ? पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिदैँ जाने र ठुला सञ्चार गृह महिलामैत्री बन्न सक्ने हो भने पत्रकार महिलाले चुनौतीको कमै मात्रमा सामाना गर्नुपर्नेहुन्छ । स्वच्छ र शान्त समाज निर्माणको परिकल्पना पनि त्यहीवाट शुरु हुन्छ ।
खड्का सञ्चारीका समुह गुल्मीकी अध्यक्ष हुन् ।

विचार: अर्थहिन आचार संहिता कि अनुशासनहिन राजनैतिक संस्कार ?

राम सुवेदी
यतिवेला संविधानसभाको कुरा हरेक राजनैतिक दलहरुका लागि चाहेर वा नचाहेर मुखको मन्त्र बन्न पुगेको छ । संविधानसभाले देशको संक्रमणकालको अन्त्य गर्छ, मूल कानुन ल्याउँछ, एक युगमा एक पटक जनताले आफ्नो अधिकार प्रयोग गरेर आफ्नो भविश्य कोर्ने महत्वपूर्ण स्थानमा उभिएका परिवेश, जस्ता जनमुखी र प्रचारवाजीका मीठा कुरा जनताले पनि सुनिरहेका छन् । नेता र पार्टी बोलिरहेकै छन् तर त्यससँग जोडिएको अर्को प्रशंग भनेको नेपालको मूल कानुन लेख्ने संविधानसभाको निर्वाचन र त्यससँगै जोडेर जनमत आफ्नो पोल्टामा पार्न भन्दै जानेर वा नजानेर अहिलका दलहरुले गरिरहेको अनुशासन हिन गतिविधि के गाउँ, के शहर के बजार कतै हेरि सक्नु र देखि सक्नुको छैन् ।
यस्ता अनैतिक संस्कार बोकेका नेतृत्वलाई संविधानसभाको निर्वाचन के हो ? र के का लागि भन्ने विषय नै अहिले ओझेलमा परेको छ । निर्वाचनका बेला निर्वाचन आयोगले दलहरुलाई यो गर्ने, यो नगर्ने भन्ने अनुशासनको कसी लगाइरहेको भनिएकै वेला पार्टीहरु त्यसको खुलेआम उल्लंघन गर्नुले उनीहरुको अनुशासन र नियत प्रति प्रश्न उठिरहेको छ । जनता उनीहरुको यो गतिविधि हेरेरै दिक्क छन् ।  देशमा शान्ति कायम गर्ने, जनतालाई सहज तवरले उनीहरुको जनजीविका र मौलिक अधिकारको सुनिश्चितता गर्न देशमा मुल कानुन चाहिएको बेला सामान्य आचार संहिता नमान्ने पार्टीहरुले कस्तो कानुन बनाउलान ? भोली उनले बनाएको कानुन जनतामा लागु गराउलान ?  त्यो भने आजको गतिविधिले पत्याउनै नसक्ने देखिएको छ ।
मान्छे बोल्छ, चल्छ, उड्छ, हिड्छ विभिन्न गतिविधि गर्न मन पराउँछ, किन कि उसलाई सचेत प्राणी भनिएको छ । सचेत प्राणीको जुन अस्तित्व र ईमान हो त्यसलाई क्रमशः स्वयं आफैले त्याग्दै गइरहेको छ । कारण उसको आफ्नो व्यत्तिगत स्वार्थ त्यहाँ जोडिएको छ । जसले उसलाई आफ्रनै नैतिकता र ईमान बेचिएको थाहा छैन । यतिवेला राजनीति गर्नेहरुले भन्ने गरेको भाषा नेपाल यस्तै संक्रमणमा अल्झिरहेको छ । संक्रमण ल्याउने यहीको राजनैतिक नेता र नेतृत्व पार्र्टी हुन्, यसलाई लम्ब्याईले खेलमा पनि कहिं न कहिंबाट उनीहरुकै चलखेल छ । त्यो विषयमा उनीहरुलाई कत्ति हेक्का छ त्यो उनीहरुको गतिविधिले प्रस्ट पादै आएको छ । देशमा यसखालको संक्रमणबाट मुक्त गराउने भन्दै  सबै दलहरुले त्यसको उक्तम विकल्पको रुपमा संविधानसभा अचुक अस्त्रको रुपमा जादुको छडि हो भन्दै आएकाछन् तर उता हिजोको गतिविधि र आजपनि उनीहरुको पूरानै कार्यशैलीले फेरि पुरानै अवस्थाको पुनरावृक्ति नहोला भन्ने कतै ठाउँ वाँकी राखेका छैनन् । हिजो संसद देखि सरकारसम्म पुग्दा राजनैतिक पार्टी र नेतृत्वमा देखिएको व्यक्तिगत स्वार्थसँगका यि र यस्ता गतिविधिले नेपाली जनमानसमा ठेस पुगेको थियो भन्ने आजपनि उनीहरुलाई महसुश छैन ।
 चुनावमा कसरी आफ्ना पक्षमा जनमत सिर्जना गर्ने भन्ने विषयमा गरिएका उत्तौला क्रियाक्लाप, प्रचार प्रसारका नाममा गरिएका व्यर्थका खर्च, नीति, नियम र कानुनै मिचेर गरिएका अनैतिक व्यवहारले उनीहरुको गतिविधि मन नपर्ने त एकापट्टि रहलान् तर यस्तै बदमासी गर्नेहरु भोलि निर्वाचनमा विजयी बन्ने र संविधानसभाको निर्वाचनमा पुगेभने आफ्नो भविश्य चाहने नेपाली जनताले के पाउलान ? चुनावको मुखमा आएर पार्टीहरुले अहिले देखाएको गतिविधिमा आचारसंहिता विपरितका कार्यहरु जस्तो विभिन्न सरकारी कार्यालय तथा विद्यालय, सार्वजनिक स्थलहरु एवं अनुमति विना जनताका घरघरमा जवरजस्तीरुपमा टाँगिएका पोष्टर पम्प्लेटिङ, आफ्नो पार्टीको विधान भन्दा माथि उठेर बनाइएको ठूला आकारका झण्डा, विभिन्न बजार क्षेत्रमा टाँगिएका होडिङ बोर्ड, विभिन्न स्थानमा जततालाई पैसा दिएर मागिएको मत र विभिन्न विकासे आश्वासनहरु कुन हैसियत र अनुशासनका कुरा हुनपुगे ? आम जनमानसमा यस्तै प्रश्न उव्जिरहेकाछन् । एकातिर अहिलेको राजनैतिक संस्कारमा कसरी ? कुन बहानामा हुन्छ निस्तेज गर्ने पार्टीहरुको पुरातनवादी सोंच र त्यसमाथि अनावश्यक तढ्क भडक गरि आफ्नो शक्तिको हैकम जनतालाई देखाईने उत्तौलो खेल नै सर्वमान्य बनिरहेको छ । अर्कातिर सर्व साधारणलाई विभिन्न प्रलोभन र आसा भरोसा दिलाएर उनीहरुको मतदान गर्ने स्वतन्त्र अधिकारलाई हनन् गर्ने प्रयत्न समेत भइरहेका देखिएकाछन् ।  तसर्थ नेपाली राजनीतिमा देखिएको यसखालको अनुशासन हिन गन्तव्य कहिलेसम्म कायम रहने हो र नेपाली नागरिकले आफूलाई स्वतन्त्रताको महसुस कहिले गर्ने अर्को सवाल बन्दै गइरहेको छ ।
निर्वाचन आयोगले यस्ता कार्य गर्न बन्देज त गरेको छ त्या केवल कागजमा सिमित बन्दै गएको यथार्थलाई जनतासमक्ष कसरी होईन भन्ने पुष्टि देला निर्वाचन आयोगले ? अर्को प्रश्न उतातिर पनि फर्किएको अवस्था हो । यसरी निर्वाचन आचार संहिता मिचिएको छ भनेर भन्दा भन्दै पनि त्यसको नियमन गर्ने संस्थाको उपस्थिति जनताबीच कहाँ राखिएको छ ? यसको निगरानी र नियमन अव कस्ले गरिदिने, सवाल यहाँ पनि जटिल छ । सर्व साधारणलाई उजुरी गर हामी कार्वाही गछौं निकायको यही जवाफ हो ? उता उजुरी उपर कार्वाही गर्न फेरि त्यो सर्व साधारणलाई प्रमाण पनि जुटाउनु पर्ने होला ? त्यो प्रमाण वोकेर आम सर्वसाधारणलाई निकायसम्म पु¥याउन राज्यले के व्यवस्था मिलाएको होला ? वा कुरा जहाँ गरियो यस्तै हो भनेर सेलाउँदै जाने भएपनि फेरि उजुरी  र कार्वाहीको कुरा वित्थ्यामा किन गर्नु उचित होला र ?
निर्वाचनलाई शान्त, निष्पक्ष र भएरहित बनाईने भन्दै विभिन्न शीर्षकमा वजेट विनियोजन गरिएको छ । ति र तिनका कार्यालय, कर्मचारी सदरमुकाम वा एक कार्यालयका कोठामा त्यो पनि कागजमा मात्र सिमित राख्ने प्रयत्न भइरहेका अवस्था विधितै छ । फरक मत राख्ने कसैको हिम्मत छ भने, त्यो जवाफ चाहियो, आम जनताले यस्तो अवस्थामा कहाँ कसरी कहिले भयरहित, निष्पक्ष र धादलिरहित चुनावमा सहभागीता जनाउलान ? त्यसको ग्यारेन्टी जनसमक्ष आएर बोल्ने हिम्मतवाला निकाय को हो ? र कहाँ छ ? छ भने जनता सहज रुपमा किन भेट्याउँदैन ? देखिनु प¥यो जनता यहि चाहिरहेका छन् । प्रष्ट थाहा छ आयोगको कार्यालय जिल्ला केन्द्रित छन् । क्षेत्रिय निर्वाचनसम्बन्धि काम गर्ने निकायहरु सदरमुकाम केन्द्रित गरिएको छ । गाउँ गाउँमा, त्यसमाथि पनि दुर्गम क्षेत्रमा जसले जे गरेपनि त्यसको अनुगमन गर्ने कस्ले र को हो ? यो प्रश्नको जवाफ जनतालाई कस्ले दिने हो ? प्रश्न प्रश्नमै सिमति बन्दै छ ।
आखिर जनतालाई चुनाव चाहने र नचाहनेहरुको कित्तामा वाँडेर पनि राजनैतिक दलहरुले कुनै न कुनै प्रकारले डर, धम्की र त्रासमय वातावरण सिर्जना गरेकै हुन् ।  संविधानसभा र जनताको भविश्यसँग उनीहरुको जीवनमाथि खेलवाड गरिने परिवेश सिर्जना भएकै हो । यसमा पनि कुनै दुईमत छैन् । होईन भने कसैले निर्वाचनमा आऊ, त कसैले निर्वाचनमा नजाऊ किन भनियो ?  कुरा जसले जता र जसरी आफ्नो पोल्टामा पार्ने कोसिस गरेपनि जनता प्रत्यक्ष वा अप्रत्यक्ष दलहरुका गुलाम बन्ने वातावरण बनेको वास्तविकता हो । यहाँ कुनै पार्टी, राजनीतिकर्मी, नेता वा उमेद्वालाई दोषि देखाउन खोजिएको नभई त्यहाँ देखिएको संस्कार र त्यही संस्कार र संस्कृतिमा हुर्किएको राज्यले जनता प्रति देखाएको गतिविधि यस्तै बोल्दै छ । जनता यस्तै भोग्दै छ ।  वहाना अनेक गरिएलान तर अन्ततः चाहे राजनीति होस् चाहे राज्य र त्यसमां जोडिएका निकाय हुन् चाहे कुनै अन्य व्यक्ति विषेश जो सुकै भएपनि यथार्थलाई भुलभुलैयामा राख्ने प्रयत्न भइरहेको छ । जहाँबाट जो जसलाई परिचालित गरिएको छ, परिचालित भइएको छ उही ठाउँबाट त्यसको उपहास भएको छ । यसले वास्तवमा जारि संविधानसभाको प्रशंगको कुरा र यससँग जाडिएको आचार संहिता उल्लंघनका सवालहरुले जुन जनमत पार्टीहरुले गुमाईरहेकाछन् । त्यसले उनीहरु अनुशासित र ईमान्दार छैनन् भनने प्रस्ट्याएको छ । सँगै जोडिएको संविधान लेखनको कुरा त्यो जनमुखी नभई यस्तै नेता, नेतृत्व र पार्टी ईतर नहोला कस्ले भन्न सक्छौं ? यस्तै संस्कार र संस्कृति दलहरुमा हावी हुनु नै विगतको संविधानसभा मृत्युशैयामा पु¥याउने कोसिस फेरि भोलि नहोला भन्ने विश्वास गर्ने स्थान कहाँ रहला ? यस्तो तढक देखाउने नेता भोली भ्रष्ट्र हुँदैनन् हामीले पत्याउने ठाउँ कहाँ छ ? लाखौं करोडौं रुपैयाँ खर्चेर निर्वाचनमा होमिएका उमेद्वारले फेरिपनि सुत्केरी भत्तादेखि, रातो पास्पोर्ट दुरुपयोग, सरकारी साधनको दुरुपयोग, नगर्लान जनताले कसरी विश्वास गर्नु ?
जे होस राजनीतिमा देखिएको कुसंस्कार र अनुशासनमा नरहने तिनका नेता र नेतृत्व नसुध्रिए नेपाली जतताले हिजोका दिनमा बलीदानीपूर्ण आन्दोलनबाट अपेक्षा गरेको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र कसरी सुदृढ होला चिन्ता र चासोको विषय बनेको छ । जनता आफूपनि सचेत र आफु ईतरका पार्टी नेतृत्व तथा नेतालाई सचेत बनाउनु आजको आवश्यकता रहनेछ । त्यो अभिभारा नेपाली जनताले नै लिनु पर्नेछ ।
कुनै सुझव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुनछ भने
burtibangweekly2010@gmail.com
cel. 9847722430

(सुबेदी सामुदायिक रेडियो परिवर्तन, बाग्लुङका स्टेशन म्यानेजर हुन् ) 

के छ खबर दशैंमा घर आउने हो कि होइन ?

गोकर्ण प्रकाश
ज्ञवा क्षेत्र गुल्मी । पहिले र अहिले गाउँ पनि बदलिएको छ । गाउँका ढिँकी र जाँतोहरु लोप हुने अवस्थामा छन् । बुढी आमाहरु चुलोमा दाउरा जोर्न सकस मान्छन किनकि छोराले भान्साको चुलो गोडेर टेबुल गाडेको छ । टेबुल माथि ग्याँस चुलो, ग्याँस लाइटर जोर्यो, धुँवा नउडी पुवा पाक्छ । चिया त कुरै नगरौं, बाले अतिथिलाइ काम्लोमा बसाउन नपाउँदै आमाले चिया टक्र्याईहाल्नु हुन्छ ।
बिडम्बना गाउँमा पहिले जस्तो लुठे पिंग र चर्खे पिंग लोप भैसके । पहिले जस्तो आजभोलीका दशैं तिहारमा हाम्रा आमाहरुले पत्री (टपरी) भरि रोटि भरेर दशैंको प्रसाद दिने परम्परा पनि लोप हुँदै गएको छ । रोटिको बदलामा मिठाई, नरिवल आदि दिने परम्परा धेरै गाउँहरुमा बसिसकेको छ । धुँवामा बसेर रोटि बनाउन झन्झट पनि नहुने र मिठाई, नरिवलले स्वागत गर्दा सजिलो पनि हुने गुल्मी बलेटक्सार–१ निवासी एक महिला भन्नुहुन्छ हामीले नँया परम्परा बसालेका छौं । पहिले जस्तो झन्झट नव्यहोर्ने कुरामा गाँउलेबीच सहमति गरेका छौं । प्रसादको रुपमा रोटि टक्र्याउन धेरै बिधि पुरा गर्नुपर्ने हुन्थ्यो । पत्री बनाउन जंगलका झाडीहरुमा सालको पात खोज्न जाने झन्झट हुने, पिठो पिध्न ढिकी जातो खोज्दै हिड्नु पर्ने, निकै मिहिनेत गरेर तयार भएको प्रसादको रुपका रोटीको स्वागत बिशेस  र महत्वपूर्ण हुने  भएपनि समय अनुसार मानिसहरु बद्लिदा अहिले ति कुरा केवल  चर्चामा सिमित हुन् पुगे ।
प्रदेशमा रहेका छोराछोरीलाई गाँउबाट मोबाइलमा फेसबुक, स्काईप र भाइबर जोडेर बा–आमाले सोध्छन, के छ नानि बाबु खबर विदेशको दशैंमा घर आउने हो की होइन ? साँझ पनि कुरा हुन्छ, बिहान पनि कुरा हुन्छ, बा–आमा हाम्रो पिर नगर्नु, यो साल त्यस्तै भयो मिले अर्को साल नमिले झन अर्को साल त आइ हालिन्छ नि । इन्टरनेटले संसारलाई एउटा साँघुरो कोठाभित्र कैद गरेको छ । यात्रा मार्फत पुग्न थोरै समय लाग्ने ठाउँमा भएको मान्छेसंग हातको एउटा औलाको सहारामा पलमै जोकोहि भेटिने । दैनिक भेटले गर्दा टाढाको मान्छेको न्यास्रो कम लाग्ने हुँदा चाड पर्वमा छोरो छोरी आउन नसके स्काइपबाट कुरा गर्दै हेराहेर गरेर आफूले दशैं टिका थाप्ने योजनामा कैंयौ गाउले आमाबुवा छन् ।
जेहोस गाउँ शहरमा बनावटी उल्लासमा यसपालीका दशैं तिहार कसैलाई दशा बन्ला कसैलाई आधुनिक मस्ती, तडकभडकले गुज्रने छ अवश्य अहिले चाडपर्व पनि ।

"तीजलाई सामाजिक संरचनाको विरुद्धको आन्दोलनको रुपमा रुपान्तरण गरौ"

-कल्पना पौडेल
जनसंख्याको आधारमा विश्वमा आधा आकाश ओगटेका हामी महिला आधा धर्तिका हिस्सेदार संसारको श्रृस्टीकर्ता हौं । हजारौं सन्तानका श्रृस्टीकर्ता र ममताका खानी आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छौँ । जीवनको सुरुवातदेखि नैं घात प्रतिघातमा पेलिएर काँडा बीचमा जेलिएका छौं । गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरु अत्यन्त प्रभावित छौं । सामन्तवादी समाजले महिलालाई सधै दोश्रो दर्जाको नागरिक एवं पुरुषका मनोरञ्जनको साधन, दासी र बच्चा जन्माउने मेसिनको रुपमा मात्र हेर्दै आएको छ ।

आज विज्ञानको नयाँ आविस्कारसंगै गर्भमा छोरी भएको थाहा पाए भ्रुण मैं मिल्क्याई दिने र जन्मिहाले पनि छोरा र छोरी बीचमा ठूलो विभेदबाट मुक्ति पाउन सकेका छैनन् महिलाहरुले । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिँड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरु बञ्चित छौं । बाल्यावस्था र किशोरावस्थामा बाबु दाजुको नियन्त्रण र निर्देशनमा, यौवन अवस्थामा श्रीमान र ससुराको हैकम अनि वृद्धावस्थामा छोरा नातिको अधिनमा खटिँदै सँधै अरुको खुशीको लागि आवश्यकता परिपुर्तिमा खटिँदाखटिँदै श्रम खर्चिदै बगाएका पसिनाको न त मूल्य छ, न कुनै सामाजिक मर्यादा नै छ ।

सुनौला अवसरहरुको बञ्चितमा अवला र कमजोर बनि अक्षमताको पगरी गुथेर दासता भित्र थोपरिएका छौँ भने हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरुलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ । धर्म र परम्परासँग जोडिएका थुप्रै चाडपर्वहरु हाम्रो समाजमा स्थापित छन् । ती मध्ये तीज पर्वलाई नेपाली महिलाहरुले एक "महान् पर्व" का रुपमा मनाउँदै आइरहेका छौं । तीजको अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरुले आफूहरुमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रुपमा पोख्ने प्रचलन छ ।

समाजले रुढीवादी र अन्धविश्वासलाई धर्मको नाममा महिलाहरु माथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरुप कृष्णाअष्टमी, तीज र पञ्चमीको व्रत बस्ने र व्रत बसेमा विवाहित महिलाहरुको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरुले राम्रो र धनी श्रीमान पाइने जस्ता अन्धविश्वासहरुबाट नेपाली महिलालाई ग्रसित पारिएको छ । अर्कोतर्फ तीजलाई माइत जाने, मिठो खाने राम्रो लुगा र गहना लगाउने चाडको रुपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने राम्रो लुगा, गहना लगाउनु पर्ने प्रचलनले गर्दा आज समाजमा तीज पर्व विकृतिको रुपमा स्थापित हुँदै गएको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौदेखि माइती नगएका महिलाहरु पनि माइत जान पाउने स्वतन्त्रता माथि नै ग्रहण लाग्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।

युगौंदेखि रुढीवादी, अन्धविश्वासले महिलाहरुलाई जकडाइरहेको छ त्यस माथि पनि नयाँ–नयाँ फेशनले तीज पर्व महंगो बन्दै गएमा भविष्यमा यो पर्वकै कारणले महिलाहरु माथि अझै नकारात्मक पीडाहरु भोग्नु पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरुषप्रधान प्रथाहरुले आज २१ औं शताब्दीमा पनि नेपाली महिलाहरुलाई उठ्नै नसक्नेगरी च्यापिरहेको परिवेश आम नेपाली जगतले देखेकै कुरा हो ।

त्यसैले हामीले तीजपर्वले बोकेको रुढीवादी परम्पराको विरुद्धमा संघर्ष गर्दै सामन्ती पुरुषप्रधान, सामाजिक संरचनाको विरुद्धको आन्दोलनको रुपमा यस चाडलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । हामी त्यही रुपमा अगाडि बढेको एक जुझारु, सशक्त संगठनमा आवद्ध भई अगाडि बढ्नुको विकल्प छैन । पञ्चायती कालमा पनि महिला मुक्ति, देश र जनताका गीतमार्फत देशका विभिन्न ठाउँमा महिलाहरुलाई जागरुक बनाउँदै तीजलाई आन्दोलनका रुपमा मनाउने गरिँदै आइरहेको थियो । विभिन्न कालखण्डमा देशका शासकहरुका विरुद्ध आन्दोलनहरु भएका छन् ती सम्पूर्ण आन्दोलनहरुमा नेपाली महिलाहरुको उल्लेख्य भूमिका रहेको हामी पाउँछौं । २००७ साल, २०१७ साल र २०३६ साल यी आन्दोलनहरुले केही न केही कागजी सुधारहरु भए पनि परम्परागत सुधार हुन सकेन ।

२०४६ सालको आन्दोलनले तानाशाही पंचायती व्यवस्थाको अन्त्य गर्यो र देशमा बहुदलीय व्यवस्थाको शुरुवात भयो । त्यसले राजनैतिक व्यवस्थाको परिर्वतन गर्ने काम त गर्यो तर महिलामाथि लागु हुने परम्परावादी सामन्ती समाजको सोंचको परिव्रतन हुन सकेन । महिलाहरुमाथि उही अन्धविश्वास, रुढीवादी परम्परा रही नै रह्यो । महिलाहरुले आफ्नो मौलिक हक उपभोग गर्न पाएनन् । पैतृक सम्पत्तिमा छोरा सरह छोरीलाई समान अधिकार, विवाह र सम्बन्धविच्छेदमा अधिकार, समान कामको समान ज्याला जस्ता विषयहरुमा केही सुधार भएको जस्तो देखिएता पनि व्यवहारिक पक्षहरु कमजोर देखिएका छन् । थुप्रै महिलाहरुका आवाजलाई विभिन्न महिला संघसस्थहरुले उठाउँदै आएता पनि उनीहरुले पनि ठिकसँग महिला मुक्तिको सवालको समझ कमि भएको महशुस हुन्छ ।

हामी प्रवासमा रहेका नेपाली चेलीहरुले पनि आ–आफ्नै प्रकारबाट तीज मनाउने गर्दछौं । अतिनै कामको व्यस्तताको बाबजुद पनि एक दिनको बिदा मिलाएर सबै दिदी बैनी एक ठाउँमा जम्मा हुन्छौं र मिठा मिठा नेपाली परिकार (खाजा) खाने गरिन्छ । बिसेष गरेर हामी इजरायल बासी नेपाली चेलीलाई हाम्रा नेपाली दाजु भाइहरुले खाजा खुवाउने गर्नुहुन्छ देश र आफन्तदेखि बिछोडिनु पर्दाको दुःख, पिर, बेदनालाई गीतको माध्यमबाट पोख्ने गरिन्छ । आफ्नो लोक संस्कृतिको जागेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलोको रुपमा लिनु पर्छ चाडको नाममा महंगा गर गहना लत्ता कपडा लगाएर बिकृतिको रुममा नालिहौं । कैयौं चेलीहरुले यहा पनि दिन भर पानीको थोपासम्म नपिएर आफ्नो श्रीमानको लामो आयु तथा कुमारी चेलीले राम्रो जीवनसाथी पाउँ भनेर व्रत बस्ने गर्नु हुन्छ । नारी–पुरुष समान हो भन्ने नारा घन्काइन्छन तर पनि अन्धविस्वास महिलाहरु भित्र नै रहेको पाइन्छ ।

दिनभरीको व्रत बेलुका आफ्नो श्रीमानको जल (खुट्टा धोएको पानि) खाएर मात्र समाप्त गरिन्छ । इजरायलमा पनि महिलाहरु तीजको दिन रातो सारी र छड्के तिलहरीमा झप्पक गहना लागेर निकै उत्साहित हुँदै नाच्ने र गाउने गरेको देख्न पाईन्छ। तेलअविवको लेवेन्स्की पार्कमा सम्पूर्ण महिला दिदी बहिनी भेला भएर एक आपसमा शुभकामना साटा साटा गर्दै खुशी र आत्मियता बाँडेको देख्दा यो कुनै प्रवससको भुमी नभएर आफ्नै मातृभूमी नेपालनै हो कि जस्तो भान हुन्छ । तसर्थ यस्ता रुढिवादी र अन्ध बिस्वासलाई हामी महिलाहरुले नै हटाउनु पर्दछ । आफ्नो हक र अधिकारको लागि आवाज उठाउन अतिनै जरुरी छ ।

पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनले महिलाहरुका पक्षमा केही महत्वपूर्ण उपलब्धीहरु दिएको छ । ती उपलब्धीहरुलाई संस्थागत गर्ने र त्यसैको जगमा टेकेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । जे जति अधिकारहरु कागजी रुपमा सीमित छन् ती नेपाली महिलाहरुले उपभोग गर्न पाएका छैनन् । ती अधिकारहरुलाई व्यवहारमा लागु गर्न र परम्परावादी समाजलाई चुनौती दिनको लागि सीमित उपलब्धीहरुको संरक्षण र उपभोग गर्दै अधिकार सुनिश्चितताका लागि संघर्षरत रहँदै अगाडि बढ्नु पर्दछ । त्यसले नै नेपाली महिलाहरुले मनाउने तीज पर्वलाई मात्रै नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ आयाम दिनेछ । ताकि नजीक आइरहेको महान पर्व तीजलाई विकृतीको रुपमा होईन लोक सँस्कृति जगेर्नाको ध्येयले सहज तरिकाले मनाऔं । जुन पर्व आम नेपालीहरुको घरमा सम्पन्न होस् ।
(लेखिका हाल इजरायलमा वैदेशीक रोजगारको शिलसिलामा रहनुभएको छ ।)

गजल



-कल्पना पौडेल "जिज्ञासु"

सपनिमा गजल फुर्दा निदरिमै जाग्दी रैछु
आँखा मिच्दै स्वामीसँग कलम कापी माग्दी रैछु

अन्धकार छ कोठाभरी जुन ताराको उज्यालोमा
बिना मेसै रफिद लेख्दा काफिया पो राख्दी रैछु

लेख्दै मेट्दै रातैभरी मन भित्रका भावनाहरु
नशा झैँ साहित्य रस अमृत मानि चाख्दी रैछु

मध्य रातको चिसो हावा झ्याल भित्र छिरेपछी
उडाई दिँदा पेपर त्यो छोप्न पछी भाग्दी रैछु

बच्चा जस्तो स्वभाव छ यस्तै हर्कत गर्दा खेरी
चुल्बुलपनमा प्रियलाई साह्रै प्यारि लाग्दी रैछु


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

"स्विट एन्जेल" सँगको फेसबुक भेट


गोकर्ण ज्ञवाली 
आहा ! फेसबुकको भित्ता भित्तामा दौडिरहेको मन, छेउमा एड फ्रेण्ड भनेर एउटा सुन्दर युवतीलाई फेसबुकले झुल्काइदिएपछि उतै दौडियो मन । एकछिन हेरें, को होला भनेर विचार पनि गरें । १३ म्युचल फ्रेण्ड भनेर पनि लेखेको रैछ । साथीलाई फोन गरेर सोधेँ, को हो त्यो, तेरो साथी रहेछ नि ? उसले भन्यो, अरे यार राम्री देखेर एड हानेको नि । मैले पनि क्लिक्क पारें । रिक्योस्ट सेन्ड भनेर आयो । फेसबुकले उसलाई त्यो पर्दाबाट लुकायो । एकछिन पछी त्यही युवती नोटिफिकेसनमा देखा परि । मेरो साथी बन्न पुगीछ ।


हिजोको दिन फेसबुक चलाउले मौका मिलेन, मोबाइलमा कनेक्सन सेटअप बिग्रेछ । आफुलाई फेसबुक चलाउन मात्र आउँछ त्यो सेटिंग मिलाउन आउँदैन । साथी रामलाई मिलाइदे भनेको भाउ मात्रै खोज्छ । आफुलाई अस्ति फेसबुकमा दौतरी गाँसेकी संगिनीसंग भलाकुसारी गर्ने कत्रो रहर । उसले किन नबुझेको । रामलाई आज भन्नु सम्म भने, तेरो जस्ता सुन्दरी त मेरो फेसबुकमा कति एड छन् कति ।

दिनभरी फेसबुकसंगको बिछोडमा रन्थनिए । भोक लागेको बेला त्यति पिडा हुँदैन जती पिडा फेसबुकको प्यासमा थियो । फेसबुकसंगै त्यो अदभुत सुन्दरीको तस्बिर अनि उसंग मिठा मिठा बात मार्ने कल्पना मनमा सल्बलाई रहेको थियो । सन्ध्या प्रहरसंगै छिमेकि भाउजुको सहयोगमा नेट सेटिंग सफल भयो । छिमेकि भाउजु पनि फेसबुकमा निकै क्रेज राख्नु हुन्छ । 'हट कान्छी' फेसबुकमा उँहाको नाम राख्नु भएको छ । खोजेर एड गर्दा हुन्छ उँहालैइ पनि । उँहाको फेसबुक साथीहरुको संख्या सीमामा पुगेर थामिएको छ अर्थात ५००० साथी पुगिसकेका छन् । उँहाले 'हाइ' भनेर एउटा स्टेटस अपडेट गर्दा त्यसको लागि सयौ कमेन्ट र लाइकहरु आँउछन । मलाई पनि त्यस्तै रहर थियो तर मुस्किलले महिनामा एउटा फ्रेण्ड भेटिने ।

साँझ खाना खाएपछि बार्दलीमा बसें । फेसबुक लग इन गरें । फेसबुक पेज खुलेपछि सिधै अनलाइन फ्रेण्ड लिस्टमा पुगें । 'हाइ' मेसेज आयो । हतार हतार हेरेँ । 'स्विट एन्जेल' मेसेज यु भन्ने लिंक क्लिक गरें । च्याट अघि बढ्यो । अस्ति फेसबुकमा साइनो गासेकी संगिनी थिईन यिनी । 'स्विट एन्जेल' । प्रोफाइलमा निकै सुन्दर फोटो थियो । त्यहि फोटोको रुपमा उसलाई कल्पना गरें । मिठा मिठा कुरा भए । मेरो सबै परिचय दिएँ उनलाई । उसको बारेमा सोध्दै गएँ पनि । घर मेरो दिल भित्र, परिचय-मेरो मुटु । हाम्रो भेट कहाँ हुन्छ, मुटुमा अनी धड्कनमा । तिमीलाई सम्झनु परेमा सम्पर्क नम्बर - फेसबुक छ नि के दिन के रात म यँहि हुन्छु | तिमीलाई स्पर्श गर्न पाउदिन- मज्जाले पाउछौ । तिमीले मलाई सपनीमा आउने अनुमति दिनु पर्यो नि । म हरेक रात तिम्रो सपनी बनेर आउँछु । आहा रात छिप्पिसकेछ । घडी हेरें । बिहानको २ बजेछ, च्याटकै धुनमा कतिबेला बार्दलीबाट कोठामा पुगेर सुतेछु पत्तै पाएन । 'स्विट एन्जेल' संग मिठो बिदाई गर्दै बिस्तारमा लडें ।


बुटवल, रुपन्देही नेपाल |



गजल

-अशोक गौतम क्षितिज

                                    करायो भन्यौ
                                   गरायो भन्यौ।

                               दौडी आउँदा
  खरायो भन्यौ।

राम्री छ्यौ भन्दा
सरायो भन्यौ।

वोल्दैमा मन
परायो भन्यौ।

धद्कीँदा छाती
डरायो भन्यौ।

खुशि वनाउँदा
हरायो भन्यौ।

उपचार गर्दा
चरायो भन्यौ।

हेर्दा यि आँखा
तरायो भन्यौ।

पर्खन भन्दा
टरायो भन्यौ।

तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही

कविता


कल्पना पौडेल "जिज्ञासु"

तिमी पनि मानब,
म पनि मानब
तर तिमीलाई मैले छुन सक्दिन
हाम्रो जात फरक छ रे !
आत्मियता दर्शाउँदै
प्रेमको अनुभुतिमा खुशीले
बिभोर हुँदै
तिमीलाई अँगालोमा कस्न सक्दिन,
न त हात मिलाउन सक्छु,
न त दुई हात जोडेर
शिष्टता नै गर्न सक्छु !
किनकी हाम्रो बर्ग,
हैसियत, प्रतिष्ठा सबै,
धेरै फरक छ रे !
तिमी दलित हौँ,
गरीब छौ,
तिरस्कृत छौ,
त्यसैले त,
अपहेलित र अपमानित,
भएर हेपिन्छौ ।
म इमान र जमान
अनि नैतिकताको कंगाल छु !
र पनि प्रतिष्ठाको निकै धनी छु,
किनभने
म ब्राह्मण हुँ !
हाम्रो अन्न-पानी नुन एउटै छ !
खुन एउटै छ !
तर हामी दुई मान्छे बिचमा,
यती धेरै फरक किन ?

सबै एक दिन मरेरै जानु पर्छ'
हामीले टेक्ने धर्ती एउटै,
जुन तारा चन्द्र आकाश एउटै,
अनी के मनुष्य बिचमा,
मन, भाबना र आत्मा कसरी फरक?
हैसियत, मूल्य र प्रतिष्ठा,
फरक भएका !
आचरण,
इमान,
जमान,
र नैतीकता फरक भएका मानब,
एक धर्तिमा बसेका छन ।
र हामी कसरी फरक ?
कस्ले दिन्छ यस्को
जवाफ?


 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

गजल


-कल्पना पौडेल "जिज्ञासु"


अर्को बिहे गर्नु स्वामी अकालमै मरेँ भने
धर्ती छोडि स्वोर्गलोकमा बसाइ सरेँ भने

आमाको माया कमी हुन नदिनु कैले पनि
हाम्रा प्रेमका ति निसानी टुहुरा परे भने

प्रितीको धुन गुन्जिने हामो प्रेम संसारमा
शंख फुक्दै घर भित्र मलामी ति भरे भने

फक्रेको फुल झर्ने होकी बास्ना छर्नु अगाबै
नरुनु है एक्लो पारी बैतर्नी त्यो तरेँ भने

जिन्दगीका गोरेटासँगै काट्ने तय थियो
माफि दिनु अन्जानमै मैले घात गरेँ भने

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

गजल

-कल्पना पौडेल "जिज्ञासु"

कुनै पनि सामाग्रीमा सस्तो दर छैन
महँगाई मात्र तर गुणस्तर छैन

नामर्द नेताले देशै रद्दी बनाउँदा
नेपालमा जागिरको अबसर छैन

सरकार त बदलियो भन्छन खै त
चुनाव होला जस्तो कतै खबर छैन

बन्द हड्ताल हिँसा सबै उस्तै छन
अहिलेको मन्त्री माथि नि केही भर छैन

जातजातिको निँहुमा गाँउ भाँडे पछी
शान्ती र एकताको यहाँ नगर छैन

गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

प्रदेशीको तिहार


-कुशल बुचा 

यसपल्ट नी आएन बहीनी, फेरी पहिला जस्तै भयो.!
तिमीले हेर्ने बाटो रित्तो, मेरो निधार जस्तै भयो ...!!

तिम्रो साटो म रोइदिउँला, तिम्रो आँखामा आशु नलिनु..!
आशु झर्ने मेरो आँखा, सुखेको मूल जस्तै भयो ....!!

बाबाआमा आउँला एकदिन, मन बुझाई राखनु होला ..!
सधै सुखने गोदावरीलाइ, व्यर्थै सिँचाई जस्तै भयो....!!

साथीभाईले भैलो खेली, गाउँ रमाइलो खुसी बनाउनु ..!
अरु खुसीमा रमाउने परदेशी, आफै स्वार्थी जस्तै भयो !!

आफन्तहरु मिठो रोटीसंगै, रमाई दुखसुख साट्नु होला ..!
प्रदेशी यो हाम्रो जीवनमा दुख, तितो सत्य जस्तै भयो ..!!

मिलन र बिछोड भन्छन, सबै जिन्दगीको रित हो रे ..!
खोइ किन जीवनमा आज, जीत बिछोडको जस्तै भयो ..!!

दशैँ आउँदा तिहार आउँदा मेरै झल्को आउँछ होला



-जीवन शर्मा अर्याल

दशैँ आउँदा तिहार आउँदा मेरै झल्को आउँछ होला
पिना सुक्दा काग कराउँदा मेरै झल्को आउँछ होला

रंग फेर्दा पधेंरोले घर पोतिंदा कमेरोले
लट्ठो बाट्ने खर कटाउँदा मेरै झल्को आउँछ होला

बाटोघाटो खन्दै साथी दशैँ आयो भन्दै साथी
पिङ हाल्न बाँस ढलाउँदा मेरै झल्को आउँछ होला

खेतैभरी धान फल्दा सेल रोटीका चुल्हो बल्दा
देउसीभैलो गीत बजाउँदा मेरै झल्को आउँछ होला

छोराछोरी उफ्रीउफ्री बाबुआमा परी कुप्री
जमरा टीका पर्साउँदा मेरै झल्को आउँछ होला 

आहा! हाम्रो गुल्मी (कविता)

कमल "युनिक" प्यासी

गुल्मी, ईस्मा रजस्थल-१ 
हाल: दोहा कतार

रेसुंगाको काखमा छ तम्घास हाम्रो बजार !
पर्यटकको प्यारो ठाउँ आउने जाने हजार !!

रेसुंगा गई नियाल्दा छन कति राम्रो हिमाल !
जति हेर्यो हेरु लाग्ने आहा कस्तो नेपाल !!

देबी देउताको धनी ठाउँ कलाकृतिको किल्ला !
हराभरा प्रकृतिले भरिएको गुल्मी हाम्रो जिल्ला !!

गिती कबिता 'गुनासो'




"निराश बिरहि" रेशम श्रीस

हुँदा खादा सबै आफ्ना थे नहुदा पराई
घर रित्तो शुन्य झुपडी गएछन् जलाई

आफ्नासँग आफ्नै मन दुख्छ किन यति!
रमिते बनी हेर्दछन् दु:ख मा जब दुर्गती
म त नदुखे झै हाँसी दिन्थे दुखे पनि दिल्
रोप्दै हिड्थे तीर नबुझे झै सहे सारा खिल्
एक्लो थे युद्ध थियो आफ्नैले गए ढलाई
हुँदा खादा सबै आफ्ना थे नँहुदा पराई

मतलवी दुनियाँ स्वार्थी यस्ता जमातमा
मेरो के जोर चल्थ्यो जाली यो समाजमा!
भन्नेले के-के भने सम्झीसम्झी रुन्छ मन
नून चुक छरी दिन्छन् आलो घाउमा झन
शान्त थियो दिलको तलाउ गए चलाइ
हुँदा खादा सबै आफ्ना थे नँहुदा पराई

प्रवासवाट आमालाई चिट्ठी - छोरा

छोरा-  अशोक गौतम क्षितिज , तिनाउ 98.2 एफ.एम. वुटवल
आमा- सन्ध्या & विना भण्डारी ,फर्साटिकर, रुपन्देही

शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा
ढुङ्गा गीट्टी फोर्ने गर्छु टन्टलापुर घाममा आमा ।

आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा
खटेको छु जनतन रात दिन साममा आमा।

चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ
दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा।

पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै
हात राख्छ गनाउने शौचालयको जाममा आमा।

नेपाली ले नेपाली लाई नचिनेझैं गर्दा खेरी
विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा।

लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले
मन दुख्यो खुन् पसिना साटेको छु दाममा आमा।

अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु
चुक्ता गरी घर् वारी लाई गर्नु आफ्नै नाममा आमा।

तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा
संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा।

उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला
माइत भेज्नु वुहारी लाई मेला पर्व राममा आमा।

उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ
वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा।


अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ.एम. वुटवल
______________________________________

प्रति उत्तरमा छोरा लाई चिट्ठी- आमा

चिठीको खाम पाए पछि धेरै आंशु झरे छोरा
होस् मा छु कि वेहोसमा दोधारमा परे छोरा।

चर्को घाम् मा ढुङ्गा फोर्छु भन्यौ तिम्ले विदेशमा
यहि पनि सुन फल्छ त्यती दु:ख गरे छोरा।

यसै पनि लुरे थियौ अझै धेरै दुव्लायौ कि
आठ घण्टा ड्युटी भन्यौ सोह्र घण्टा छरे छोरा।

आज सम्म काम गरेको तलव वुझी आउभो घर
कस्ले हेर्ला वहिनी लाइ म यत्तिकै मरे छोरा।

मिठो खान पार्लर जान नपाएर आज भोली
वुहारी र नाती पनि माइतै वसाइ सरे छोरा।

अन्तिम मिती आइसक्यो छैन घरमा पैसा कत्ति
के भनेर पठाउने हो आउछन् साहु भरे छोरा।

महङ्गी भो खर्च वढ्यो वैनीको फि तिरिएन
रुन्छ मन कस्तो कर्म रैछ हाम्रो हरे छोरा।

सरकारी जागीर खान्छ भर्ती भयो साथी पनि
तिमी भन्दा कमजोर थियो तिम्रो साथी नरे छोरा।

अव कुन्नी एक् दुई वर्ष भन्दा धेरै वांच्दिन की
छैन हास पिरै पिरले भैछु वर वरे छोरा

सन्ध्या & विना भण्डारी
फर्साटिकर, रुपन्देही
_____________________________________________

प्रति उत्तरमा प्रवास वाट आमालाई चिट्ठी- छोरा

प्रतिउत्तर के लेखु खै छैन केहि वात आमा
चिट्ठी पंढे भक्कानिए रोंए पुरै रात आमा।

हत्या हिंसा अपहरण देशको चाला सधै उस्तै
सुन् फलाउथे देशमै मैले राम्रो माहोल पात आमा।

भोकमरी र महङ्गीको चपेटामा हामि गरीव
धनी साहुको घरघरमा हुंदा अन्न खात आमा।

आज सम्म काम गरेको तलव दे म नेपाल जान्छु
भन्यो भने चिम्म गर्दै हान्छ मलाई लात आमा।

माइतै वस्न दिनु उनलाई नाती लाई घरमा ल्याउनु
मामा घरमा वस्यो भने चढ्छ उस्लाई मात आमा।

सावा व्याज कट्ठा गरी अर्को महिना वुझाउला
विन्ती गर्दै डल्ले साहुलाई जोड्नु दुवै हात आमा।

पढाइ छुट्दा वहिनीको झनै मन दुख्यो मेरो
अभागीनी रैछिन वहिनी पाइनीन् माईती साथ आमा।

नरे पनि भर्ती भएछ आफ्नो मान्छे सिफारीस ले
म पनि त हुन्थे होला ठांउमा आफ्ना भात आमा।

दिनु वदला भाग्य ले नि खोस्न मात्रै जान्यो हाम्रो
कहिले आउला सुदिन खै सधै भयो घात आमा।

अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ.एम. वुटवल
________________________________________

प्रतीउत्तर मा आमा ले छोरा लाई चिट्ठी- आमा

खवर रुपी तिम्रो पत्र सुन्छु जव आछ छोरा
पढ्नै नभ्याई झर्छन आंशु खै कुन्नी के भाछ छोरा।

हत्या हिंसा घट्थ्यो कि छिट्टै संविधान वने
संविधान को मिती पनि झन थपिदै गाछ छोरा।

गरीवी र महंगी नि हटाउछौ भन्ने हाम्रा
नेता लाई मात्र उहि कुर्सी ले अल्झाछ छोरा।

दुनियां ले आखा लांउछन पढाई छुट्दा वहिनीको
विहे पनि त गर्ने होला उमेर वढि राछ छोरा।

गोरा को लात त्यहां तिम्लाई घर आउन पाउनु छैन
यता मलाई दिन प्रती दिन डल्ले साहु ले खाछ छोरा।

आमा छोरा छुट्याउदा वुहारी ले सराप गर्लिन
भो ल्याउदिन नाती लाई उतै पढ्न लाछ छोरा।

दिन सुधार्न कति सम्म दु:ख गर्यौं जिवन भरी
यो कर्म ले सधै हामिलाई सत्रु हंसाछ छोरा।

कुरा सुन्दा प्रदेशी सव घर देश फर्के हुन्थ्यो लाग्छ
पल्तिर को हरी अचेल पासपोर्ट तिरै धाछ छोरा।

सन्ध्या & विना भण्डारी
सौ फर्साटिकर रुपन्देही

गजल


-निराश "बिरही" रेशम 

हाँसी-हाँसी जली दिन्छ मैन त्यो
आँफै पग्ली बली दिन्छ मैन त्यो

अधेरीमा ज्योति फैलाउँछ ऊ हेर
कालो रात छली दिन्छ मैन त्यो

लप्किन्छ उतैतिर हावाले धकेल्दा
झोका सँगै चली दिन्छ मैन त्यो

बिना स्वार्थ उजेली दिँदै कठै ऊ
आफु जल्दै गली दिन्छ मैन त्यो

जली ज्योति छर्दै गली रन्छ ऊ
आँफै जल्दै ढली दिन्छ मैन त्यो

निराश बिरही रेशमका कविता पढ्न यहाँ र गजल पढ्न यहाँ क्लिक गर्नुहोला ।

कविता


-रेशम श्रीस 'बिरही' 


उत्तानो परेर हेरी रन्छ
एकनाशले उतैतिर
खै के छ र हो?
त्यो निल गगनमा
धरतिले यस्तोरी
आफ्नो इज्जत
लुटाई रन्छ
निरलज्जा
समयसँग सम्भोग गरिरन्छ
भोली नौलो बिहानी ल्याउने आशमा
एक अशल राष्ट्र नायकको खोजिमा
मेरो देश,मेरो राष्ट्र,मेरो धरती

कविता


-दिनेश गौतम

प्रचण्ड रोग लागेको छ देशमा
कंशहरु आउछन रामचन्द्रको भेषमा
बैद्यलाई झारफुक गर्नैआउदैन
डाक्टरले बिरामी जाच्नै पाउदैन

दाह्री मात्र सेतो छ येहा
मन भने पुरै कालो छ
सुशील नेता त को छन् र येहा
दिमागभरी कुबिचारको जालो छ

माधवहरु पानीटंकीमा पैसा खनाउने
झलहरु झलमल्ल ठुल्ठुलो महल बनाउने
उपेंद्रहरुको मुखभरी बिहारी पान गनाउने
सुजाता भनौदिहरु 'रुबेल ज्वाई'को जीउ कनाउने

अरु पनि हजार छन् यहाँ चोरहरु
लेखेर कहाँ सकिन्छ र
हामीजस्ता गरिब जनताको बिन्तिले
अशान्ति कहाँ रोकिन्छ र

गरिबको रगतले नेताहरु नुहाकै छन्
जनताहरु भोकभोकै बसी यीनलाई टन्न खुवाकै छन्
आदि जनता आन्दोलन गर्ने
आदि चाही भोकभोकै मर्ने
देशलाई ठुलो रोग लागेकै रहेछ
नेपाली सबै मिलेर उपचार गर्ने कि नगर्ने?
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग