Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिउँदोलाई मरेको बनाएर लाखौं मुल्य जग्गाको नामसारी

Published on 8:47:00 PM //

जिउँदोलाई मरेको र पढ्न नसक्नेलाई ल्याप्चे लगाउन लगाएर ४१ रोपनी भन्दा बढी जग्गा मालिकलाई एक समुहले सुकुम्बासी बनाईदिएका छन् । अठार वर्षअगाडी गरेको तमसुकको पैसा असुल गर्न र बाबुको सम्पत्ति विवाहित छोरीले लिनका लागि संगठित रुपमै लागेर एक समुहले हस्तिचौर-२ का खड्गबहादुर बोहोराको नाममा भएको सबै जग्गा नामसारी गराएर उनकी श्रीमती ६५ वर्षिया बृद्धा खगी बोहोरालाई सुकुम्बासीमा परिणत गरिदिएको छ । उनका श्रीमानको भने पहिल्यै मृत्यु भैसकेको छ ।
२०५० सालमा ३ लाख ७५ हजार श्रृण दिएको तमसकुको ब्याज सहितको ५ लाख ५८ हजार ४ सय ४९ रुपैंया रकम असुली गर्न मोरङ्ग उर्लाबारी-३ का हाल तम्घास-१ उदिनढुङ्गामा बस्दै आएका खेमनाथ उपाध्याय निरौला र खगीकै सौतेनी छोरी राधिका के.सी.को मिलेमतोमा जिवितै रहेकी अर्की सौतेनी छोरी फुर्सी भन्ने लालकुमारी अधिकारीलाई मरेको कागजात बनाएर खगीको हक लाग्ने श्रीमानको जग्गा निरौलाको नाममा नामसारी गरेको हो ।
गाउँका जिम्माल मानिने खड्गबहादुरले तिन श्रीमति विवाह गरेका थिए । ति मध्ये जेठी खगी निसन्तान हुन । अन्यत्रै विवाह गरेर गएकी माहिली श्रीमति हिमकली तर्फ एक छोरी फुर्सी भन्ने लालकुमारी जिवितै रहेको र मृत्यु भैसकेकी कान्छी श्रीमति कुम्भकुमारीकी एक छोरी राधिका छन् । खड्गबहादुरको सम्पत्तिमा हक लाग्ने जेठी खगी लेखपढ गर्ने नजान्ने र माहिली श्रीमतिकी छोरी लालकुमारी जिवित हुँदै मरेको कागजात बनाएर राधिका र निरौलाको संलग्नतामा खगीका नाममा हुने सबै जग्गा निरौलाका नाममा नामसारी गरेका हुन् ।
सामान्य मुल्यमा विक्रि गरेपनि हस्तिचौरको २ र ३ वार्डमा रहेको ४१ रोपनी ११ आना १ पैसा ३ दाम जग्गाको मुल्य २४ लाख रुपैंया भन्दा बढी छ । तर आफुले लेखपढ गर्न नजान्ने भएकाले आफुलाई १३ रोपनी खेत राखिदिने र तमसुक अनुसारको श्रृण तिरेर बाँकी १ लाख ५० हजार नगद पैसा दिने प्रलोभन देखाएर निरौला, राधिका, हस्तिचौर-२ कै दिपक कुँवर, भिमे बोहोरा, लाले बोहोर र गाविस सचिव समेतको मिलेमतोमा आफुलाई सुकुम्बासी बनाएको खगीको आरोप छ ।
‘शुरुमा २ वटा कित्तामा रहेको जग्गा मात्र ७ लाख ४५ हजार मुल्य गरेर विक्रि गरौं, बाँकी जग्गा तपाईकै नाममा रहन्छ भने’, बृद्धा खगीले भनिन्, ‘खेत मलाई नै रहने अन्य जग्गा विक्रि गरेर श्रृण तिर्न पनि पुग्ने भएपछि मैले हुन्छ भनें, तर उनीहरुले त मलाई सबै जग्गा नामसारी गरिदिएको भन्ने कागज बनाएर सुकुम्बासी बनाएछन् ।’ सकुम्बासी बनेपछि उनी अहिले बुटवलमा आफ्नै दाईको छोराकोमा शरण लिएर बस्दै न्यायका लागि आग्रह गरेकी छन् । ‘मलाई सुकुम्बासी बनाउन निरौला, राधिका, गाविस सचिव, गाउँका दिपक, भिमे, लाले लागेका छन् ।’, उनले भनिन् । ति सबैलाई कानुन अनुसार कारवाही गरेर जग्गा फिर्ता गराईदिन उनले आग्रह गरेकी छन् ।
निरौलाले भने २०५० सालमा दृष्टिबन्धक तमसुक गरि सबै जग्गा लिएको र खड्गबहादुरको मृत्युपछि जग्गा भोग चलन गर्न खोज्दा उनले नदिएको भन्दै भोग चलनको माग गर्दै अदालत पुगेका थिए । अदालतले भोगचलनका लागि निरौलालाई आदेश दिएपछि उनैले भोगचलन गर्दै आएका थिए । तर अहिले नामसारी गर्नेक्रममा खगीले सहजै दिन नमानेपछि उनी सजिलोबाटो खोज्दै अदालत पुगेका थिए । अदालतमा पुगेर मिलापत्र गरेपछि यस्तो जग्गा सजिलै नामसारी हुने नियममा व्यवस्था छ । अदालतमा खगीलाई जग्गा र पैसा दिने मिलापत्र भएपछि न्यायधिश खडानन्द तिवारीले मिलापत्रको जानकारी मालपोत कार्यालयलाई गराउँदै मुद्धाको दायरी लागत कट्टा गरी मिसिल नियमानुसार अभिलेख फाँटलाई दिन बैशाख २२ गते आदेश दिएका थिए ।
जग्गा निरौलाका नाममा आएपछि उनले केही जग्गा बैशाख २२ गते नै बडागाउँकी एक महिलालाई विक्रि गर्ने तयारी गरेका थिए । तर मालपोत अधिकृतले हक सारेकै दिन विक्रि गर्न नमिल्ने भन्दै अर्को दिन विक्रि गर्ने सुझाव दिएका थिए । अर्को दिन विक्रिको अन्तिम तयारी भएका बेला खगी बोहोरा रुँदै कार्यालयमै आएर आफु सुकुम्बासी भएको जनाएपछि आफुले जग्गा विक्रि गर्नबाट रोकेको मालपोत अधिकृत बिजय रानाले बताए ।
खड्गबहादुरका नाममा रहेको सबै जग्गा लिनका लागि जिउँदै रहेकी छोरीलाई समेत मृत्यु भएको प्रमाण बनाएर उनीहरुले अदालतमा पेश गरेका छन् । मरेको सिफारिस दिने गाविस सचिव कृष्णबहादुर रायमाझीले भने बुढी खगीले नै सौतेनी छोरी मरेकी हो भनेपछि आफुले अन्य मुचुल्का तयार नगरी सिफारिस गरेको बताए । ‘जे पर्छ अब त्यही सहनुपर्ला के गर्ने’, उनले भने, ‘सौतेनी आमाले नै मरेको भनेपछि सिफारिस गरिदिएँ ।’ सचिव अधिकारी सोही गाउँकै स्थानीय बासिन्दा हुन् । मरेको कागजात बनाईएकी लालकुमारीले भने आफु बाबुको अंशबाट बञ्चित भएको भन्दै प्रशासन र संचारकर्मी समक्ष हारगुहार गरीरहेकी छन् ।
सबै जग्गा लिने  निरौलाले भने आफु खगी बोहोरालाई महत्पूर्ण मध्येको १३ रोपनी खेत दिने पक्षमा रहेको तर उनकी छोरी राधिकाले त्यो खेत आफुले पनि पाउनु पर्ने भन्दै अदालतको रोहबरमा बस्न नमानेपछि त्यो खेत राधिकालाई दिने गरी खगीका नामबाट सबै जग्गा आफ्ना नाममा सारेको बताए । ‘मैले मेरो पाउनु पर्ने श्रृणको रकम बाहेक अन्य केही लिन चाहेको छैन’, निरौलाले भने, ‘तर राधिकाकै परिवारका कारण म समस्यामा परेको छु ।’
जिवितलाई मरेको कागजात बनाउने कार्यमा आफ्नो कुनै संलग्नता नभएको उनले बताए । २०४० सालमा बोर्डिङ्ग स्कुल संचालन गर्न यहाँ आएका निरौलाले तम्घासमै यतै विवाह गरेर बसेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग