Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा रेल चलाऊने मन्त्री रायमाझिको गफ

Published on 9:57:00 PM //


सन्जु काउछा मगर 
हैन यो जेठ महिना त बडो गज्जबको महिना रहेछ बा ! ठुलाठालु जो गुल्मी पुग्छन ठुलै गफ ठोकेर फर्किन्छन । कस्को कुरा पत्याउने कस्को नपत्याउने ? गर्ने केही होइन गफ भने राम्रै ठोकेर फर्किन्छन पुर्व अर्थ सचिब देखी लिएर मन्त्री सम्म । धेरै भाको छैन अब रेसुङ्गामा केबलकार सन्चालन गरिन्छ भनेर डिजिकोन कन्सल्टेन्ट कम्पनीको एक टोलिले गफ ठोकेको । जे होस् काम होला नहोला, राम्रै ताली पायो उनिहरुको त्यो हल्लाले । गरे के हुँदैन, हुन पनि सक्छ भन्नेमा छन कती गुल्मेली जनताहरु अहिले ।
त्यो भन्दा केही दिन पहिले पुर्व अर्थ सचिब रमेश्वर खनाल र जलस्रोतविज्ञ डा. कृष्ण प्रसाद दुलालको अर्को एक समुहले कालिगण्डकी पछी देशकै दोस्रो ठुलो जलसाययुक्त परियोजना गुल्मीमा छ । छल्दी, पनाह र निस्ते खोलामा बाँध बाधेर ५० मेगावाट भन्दा बढी क्षमताको जलसाययुक्त विद्युत उत्पादन हुन्छ । अझ दाता पाए यो परीयोजना तुरुन्त सुरु गर्न सकिन्छ भनेर ठुलै हल्ला पनि चलाए यि समुहहरुले । ए बाबा, सम्भावना छ त राम्रो कुरा हो, पहिला चलिरहेका पारीयोजनाहरु त राम्रो सँग सम्पन्न गर, चलाऊ । काम भन्दा गफै बेसी गर्नु पर्ने ? सम्पन्न भईसकेको कालिगण्डकी र बन्दै गरेका परीयोजनाहरुको त कुन बिजोग छ, त्यता ध्यान छैन उही सबैलाई तालिको खेती गर्न ठीक्क छ यार । 
केबलकार र बिजुली पछी अर्का गफाडी नेता निस्किए हाम्रा भौतिक योजना तथा निर्माण मन्त्री टोप वहादुर रायमाझी । जैसिथोक स्थित पञ्चायन उच्च मा.विको नव निर्मीत भवनको उद्घाटन गर्न गुल्मी पुगेका मन्त्री रायमाझीले गुल्मीमा रेल चलाइन्छ भनेर फेरी अर्को गफ ठोक्न भ्याइ हालेछन बिहीवार बिहानै । लुम्विनी-चितवन हुदै स्याङजाको गल्याङ र रिडी हुँदै अर्घाखाँची सम्म रेलमार्ग निर्माण गरीने रे । अझ उनले कती सम्म भन्न भ्याएछन भने, एक अन्तराष्ट्रीय संस्थाले सहयोग गर्ने भएको छ रे, सरकारले छुट्टै रेल विभाग स्थापना गरी तुरुन्तै काम थालने रे । लौ भयो अब ? जे पनि बोल्दिने भन्या हाम्रा नेता जिहरु । अब देशकै एक मात्र रेल सेवाको त्यस्तो बिजोग छ । रेल छ भन्नुको मात्र । तराइमै भाको रेलको त त्यो हालत छ अब बाँदर लड्ने पहाडमा जहाँ चार पाङ्रे जिप त राम्रोसँग गूड्न सकेको छैन त्यहाँ रेल गुडाउँछु भनेर कस्ले पत्याउने ? गफ त ठोकेछन हाम्रा मन्त्री जीले, यस्तो गफले ताली पाउने दिन भने गए अब ।
भाषण गर्न पाएपछी ठुलै गफ ठोक्ने हाम्रो नेताहरुको बानी कहिले हराउने होला ? गर्न सकिने आधारभुत कुराहरु गरे पनि त हुन्छ नि । शिक्षा स्थिती सुधार्छौ, भ्रस्टाचारमा कमी ल्याउछौ, गुल्मेली जनतालाई सरकारी सेवाहरु चुस्त, दुरुस्त र सर्वशुलभ बनाउछौँ, लोडशेडिङ कम गर्छौँ, टेलिफोनको नेटवर्क सुधार्छौँ भन्ने जस्ता कुराहरु गर्नु नि, जुन पहल गरे सम्भव पनि छ । 
जुन जोगी आए पनि कानै चिरेको भनेको जस्तो जो-जो जान्छन सबैले एअरपोर्ट बनाउँछु, रेसुङ्गामा केबुलकार चलाऊँछु, पचासौँ मेघावाटको बिजुली निकाल्छु, रेल चलाऊछु भन्ने बाहेक अरु त कुरै नगर्ने । समाचार पढ्दा त अबको ५-१० बर्ष भित्रमा गुल्मी जिल्ला काठमाडौं भन्दा धेरै गुणा बिकाशित कुनै यूरोपियन शहर जस्तो पो हुने भो भन्ने भान पनि हुन थाल्यो होला कती जनालाई त । अब मोटरबाटो त छँदै छ, लोडशेडिङ नै भए पनि बिजुली पनि छ त्यसमाथी जिल्लामै पचासौँ मेघावाटको जलबिद्युत परीयोजना बन्ने भएपछी त लोडशेडिङ हुने कुरै भएन, केबुलकार पनि चल्ने, रेल पनि चल्ने बिदेशी शहर भन्दा के नै कम हुने भो र गुल्मी जिल्ला ? धन्य गुल्मेली जनताहरु, जो आएर जे गफ हाने पनि सुनिदिएकै छन ।                  
ए बाबा गुल्मेली जनताहरुले त्यती सार्हो साँघुरेको भिर, खसिमारेको जंगल र श्रिङ्गाको डाँडामा रेल नै गुडिदियोस भन्ने आशा पनि छैन । बरु अहिले चलिरहेकै मोटर बाटोहरुको स्थिती सुध्रियोस, हिउँदे बाटोहरुमा बर्है महिना गाडी गूड्ने बनिदिओस र हदै भए लामो दुरिको गाडी गूड्ने मुलबाटो कालोपत्रे भईदिओस भन्ने मात्र चाहना छ । न त उनिहरुलाई तत्कालै पचासौँ मेघावाट बिजुली निकालेर पुरै लुम्बिनी अञ्चल झिलिमिली पारौँ भन्ने नै छ, बरु एक डेढ बर्षदेखी पोल गाडेर तार टाँगेको ठाउँमा बिजुली बलिदेओस, अहिले भईरहेको लोडशेडिङ अली कम भईदेओस भन्ने मात्र आशा न हो । फेरी केबुलकारै चढेर रेसुङा दर्शन गर्न पाए हुन्थ्यो भन्ने पनि त छैन नि धेरैलाई, बरु रेसुङ्गा सम्म पुग्ने घोडेटो बाटो अली चौडा बनिदेओस, बर्खामा पनि मोटरसाइकल र गाडी सजिलै लग्न सकियोस, रेसुङा पुगेपछी खान बस्न पाइयोस, रेसुङ्गा जंगल क्षेत्र सुरक्षित होस् भन्ने मात्र चाहना हो ।
हाँसै उठेर आउँछ बा हाम्रा नेता जीहरुका कुरा सुन्दा त, कहिले काँही त लाटै रिस पनि उठेर आउँछ, लात्तिले हानेर बारीको पल्लो पाटामा पुर्याइदिम जस्तो । सबै कुरा त गरीसके धन्न कालिगण्डकी र बढीगाडको पानी थुनेर पानी जहाज चलाइन्छ भन्न भ्याएका छैनन, के भर र ?पालो कस्को छ अब गुल्मी जाने, भन्दिन बेर छैन । कहिले फिर्ने हो कुन्नी बुद्दी ? 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग