Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरो हत्याको षड्यन्त्र हुँदैछः ओली

Published on 2:27:00 AM //


सरकारमा रहेका केही मान्छेले आफूविरुद्ध अज्ञात व्यक्तिमार्फत आक्रमण गराउने र हत्यासमेत गर्ने वातावरण बनाइरहेको एमाले नेता केपी ओलीले दाबी गरेका छन् । आफ्नो सुरक्षामा खटिएको अगुवा टोलीलाई गृह मन्त्रालयले फिर्ता गरेपछि उनले यस्तो आशंका गरेका हुन् ।
‘नियोजित रूपमा मलाई आक्रमण गर्ने वातावरण बनाइदैछ भन्ने अनुभूति हुँदै थियो, सरकारको पछिल्लो क्रियाकलापले त्यो आशंका वास्तविक नै हो जस्तो लाग्न थालेको छ,’ उनले कान्तिपुरसित भने, ‘यो सबै क्रियाकलाप आपराधिक मनसायले राजनीतिक अभीष्ट पूरा गर्न योजनाबद्ध ढंगले गरेजस्तो देखिन्छ ।’
पूर्व गृह मन्त्री ओलीले आफ्नै पार्टी एमालेको एउटा समूह र माओवादीको मिलेमतोमा आफ्नो हत्याको षड्यन्त्र रचिएको दाबी गरे । ‘दिन प्रतिदिन सुरक्षा खतरा बढेको सूचना पाइरहँदा नेपाल प्रहरीका लडाकु दस्ता रहने अगुवा गाडी झिकिएको छ,’ उनले भने, ‘के–कति कारणले मेरो सुरक्षाकर्मी झिकिएको हो, मैले कुनै जानकारी पाएको छैन ।’
ओलीलाई पूर्वगृहमन्त्री र सुरक्षा खतराको मूल्याकन गरी गृहले २५ भन्दा बढीको समूहमा खटिने गरी अगुवा–पछुवा सुरक्षाकर्मीको व्यवस्था गरेको थियो । हाल उनी चढ्ने गाडी पछिल्तिर गुड्ने गरी एक पछुवा गाडीमा मात्र प्रहरी परिचालन गरिएको छ ।
‘मलाई झापा र उदयपुरमा आक्रमण भएको सबैसामु छ । मेराविरुद्ध अहिले पनि अनेक आरोप लगाइएको छ र यसैबेला सुरक्षाकर्मी झिकिएको छ । यस पछाडिको नियत के हो ?’ उनले प्रश्न गरे । ओलीले हत्याको सिकार भएका संसारका विभिन्न नेताहरूको नाम लिँदै आफूलाई पनि कसैको निर्देशनमा त्यस्तै षड्यन्त्र गर्न लागिएको दोहोर्याए । 'आफूविरुद्ध ‘सरकार र आफ्नै पार्टीका केही समकक्षीहरू लागिपरेको’ उनको दाबी थियो ।
यस सम्बन्धमा गृह मन्त्रालयमा जिज्ञासा राख्दा एक उच्च अधिकृतले ओलीमाथि हत्याको खतरा रहेको जानकारी नआएको प्रतिक्रिया दिए । ‘सार्वजनिक लेखा समितिले सरकारी गाडीको दुरुपयोग रोक्न दिएको निर्देशन हामीले उहाँलाई लिखित रूपमा जानकारी गरायौं । जानकारी गराएपछि पनि हामीले उहाँबाट गाडी फिर्ता पाउन सकेका छैनौं,’ ती अधिकारीले भने, ‘पूर्वगृहमन्त्रीलाई तीन वर्षसम्म सुविधा दिने समय सकिएका कारण अरूलाई जस्तै उहाँलाई पनि ती सुविधा रोकिएको हो ।’

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग