Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिवित छँदै मृतक बनाईएकी महिलाद्वारा मुद्धा दर्ता

Published on 9:30:00 PM //

घनश्याम गौतम 
जिउदोलाई मरेको बनाएर र पढ्न लेख्न नजान्ने व्यक्तिलाई ल्याप्चे लगाउन लगाएर जालसाजी पूर्ण तरिकाले जग्गा नामसारी गरिएको बिरूद्ध पीडित पक्षले अदालतको आदेश र नामसारी बदर गर्न माग गर्दै अदालतमा मुद्धा दर्ता गराएकी छन् ।
हस्तिचौर-२ का मृतक खड्गबहादुर बोहोराको नाममा रहेको ४१ रोपनी ११ आना १ पैसा ३ दाम जग्गाको हक लाग्ने विवाहित छोरी फुर्सी भन्ने लालकुमारी अधिकारीले आफुलाई मरेको भनेर बयान दिने आफ्नै सौतेनी आमा खगी बोहोरा, बाबुको नाममा रहेको सबै जग्गा लिने उर्लाबारी-३ मोरङ्ग घर भै तम्घास-१ उदिनढुङ्गा बस्ने खेमनाथ उपाध्याय निरौला, सौतेनी बहिनी राधिका के.सी. र हस्तिचौर गाविस सचिव कृष्णबहादुर रायमाझी सहित जालसाजीमा सहयोग पुर्‍याउने अन्य चार जना विरूद्ध मुद्धा दर्ता गरेकी हुन् । अधिकारीले बुधवार अदालतमा दर्ता गरेको मुद्धामा विपक्षीहरूलाई हदैसम्मको कारवाही गरी निरौलाको नाममा दाखा गरिएको बाबुको नामको सबै जग्गा फिर्ता गराईदिन माग गरेकी छन् । 
मृतक बोहोराले हस्तिचौर-२ र ३ वार्डमा रहेको घरबारी र खेत सहितको ४१ रोपनी भन्दा बढी जग्गा २०५० सालमा ३ लाख ७५ हजार रूपैंया श्रृणमा दृष्टितमसुक पास गरी निरौलाले लिएका थिए । दृष्टितमसुक गरी लिएको जग्गा खगी बोहोराले भोग चलन गर्न नदिएपछि निरौला अदालत गएका थिए । निरौला अदालत गएपछि जग्गाको हक लाग्ने जेठी श्रीमति खगी बोहोरा र निरौला बिच माघ १० गते घरायसी मिलापत्र गरेको भन्दै अदालतमा मिलापत्रको निवेदन दिएपछि दृष्टिपासमा रहेको सबै जग्गा निरौलाका नाममा नामसारी गरिदिन अदालतले मालपोत कार्यालयलाई आदेश दिएको थियो । 
६५ बर्षिया खगी बोहोराले भने मिलापत्रमा आफुलाई १३ रोपनी खेत दिने र श्रृण तिरेर १ लाख ५० हजार रकम समेत दिने बताएपछि आफुले मिलापत्र गरेको तर लेखपढ गर्न नजान्ने भएकाले उनीहरूले आफुलाई सबै जग्गा दिएको भन्नेमा ल्याप्चे लगाउन लगाएर सुकुम्बासी बनाएको गुनासो गर्दै आएकी छन् । सबै जग्गा दृष्टितमसुक बमोजिम पास भएपछि उनी अहिले  सुकुम्बासी बनेर बुटवल गएर आफन्तकोमा बस्दै आएकी खगीले आठुलाई ठगी गरेकोले पक्राउ गरी कारवाही गर्न र जग्गा फिर्ता गरिदिन आग्रह गर्दै जिल्ला प्रशासनमा उजुरी दिएकी छन् । खगी र उनका सौतेनी छोरीहरूको हक लाग्ने ४१ रोपनी भन्दा बढी जग्गा अठार वर्षअगाडीको श्रृणको ब्याज समेत गर्दा पुगेको ५ लाख ५८ हजार ४ सय ४९ रूपैंया श्रृण असुल गर्नका लागि दृष्टितमसुककै आधारमा सबै जग्गा नामसारी गर्ने निरौलाले भने आफुले सबै जग्गा लिन नचाहेको भएपनि श्रृण असुल गर्नकै लागि सबै जग्गा नामसारी गर्नु परेको बताएका छन् । 
‘मलाई जग्गा चाहिएकै छैन’, निरौलाले भने, ‘मलाई मेरो श्रृणको ब्याज समेतको ५ लाख ५८ हजार ४ सय ४९ रूपैंया तिरे सबै जग्गा फिर्ता गरिदिन तयार छु ।’ निरौलाले आफुले खड्ग बोहोरालाई दिएको श्रृण वापतको पैसा नपाएकै कारण जग्गा नामसारी गर्नु परेको बताए । नामसारी गरिएको ४१ रोपनी जग्गामा खड्गबहादुरकी जिवितै रहेकी जेठी श्रीमती खगी बोहोरा र मृत्यु भैसकेकी कान्छी श्रीमतीकी विवाहित छोरी राधिका के.सी.ले हक दावी गरेकाले आफ्नो श्रृण असुल गर्न समस्या परेपछि आफुले सबै जग्गा नामसारी गर्नु परेको निरौलाको दावी छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग