Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१६ वर्षपछि जिविसका कर्मचारीको जिम्मेवारी परिवर्तन

Published on 10:05:00 PM //


घनश्याम गौतम
जिल्ला विकास समितिमा कार्यरत कर्मचारीहरुको १६ वर्षपछि जिम्मेवारी हेरफेर गरिएको छ ।
दैलेखबाट सरुवा भै आएका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले एउटै कर्मचारी सधैभरी एउटै फाँटमा रहँदा कार्य सम्पादन प्रभावकारी
नहुने र कर्मचारीको बृद्धि विकासमा समेत प्रभाव पर्ने भन्दै जिम्मेवारी र फाँट परिवर्तन गरेका हुन् । परिवर्तनसंगै १६ वर्ष देखि दर्ता चलानी फाँटमा काम गर्दै आएका अर्जुनप्रसाद श्रेष्ठ आइतवार देखि योजना फाँटमा काम शुरु गरेका छन् । २०५२ सालमा मुखियाबाट सेवा शुरु गरेका श्रेष्ठ २०६३ मा खरदारमा बढुवा भएपनि दर्ता चलानीमै काम गर्दै आएका थिए ।
योजना फाँटमा उनले फाँट प्रमुखको सहयोगीका रुपमा काम गर्नेछन् । खाली भएको दर्ता चलानी फाँट अब जिविसका सबै भन्दा पुराना कार्यालय सहयोगी कुलानन्द सापकोटाले सम्हालेका छन् । त्यस्तै १६ वर्ष देखि नै जिविसको प्रशासन फाँटको जिम्मेवारी सम्हाल्दै आएका खड्गबहादुर थापाले आइतवार देखि नै योजना फाँट प्रमुखको जिम्मेवारी शुरु गरेका छन् । २०५२ सालमै नायव सुब्बाबाट सेवा शुरु गरेका थापा गत वर्ष देखि अधिकृतमा बढुवा भएका छन् । थापा योजनामा सरुवा भएपछि खाली भएको प्रशासन प्रमुख जिल्ला प्राविधिक कार्यालयका नायव सुब्बा खिमबहादुर अधिकारीले पाएका छन् ।
झण्डै २ वर्ष देखि एक जनाको भरमा चल्दै आएको आन्तरिक लेखा परिक्षक शाखामा योजना फाँटका नासु धु्रव मरासिनीले जिम्मेवारी पाएका छन् । लेखा शाखामा २२ वर्ष काम गरेका मरासिनी पनि योजना शाखामा ७ वर्ष देखि कार्यरत थिए । स्थानीय विकास अधिकारी रेग्मीले कर्मचारीको सल्लाहमा सबै फाँटमा कम्तिमा दुई जना हुनेगरी आन्तरिक जिम्मेवारी हेरफेर गरिएको बताए ।
‘लामो समयसम्म एकै फाँटमा एउटै कर्मचारी राख्दा काम प्रभावकारी नहुनपनि सक्छ’, उनले भने, फाँट परिवर्तन गर्दा कर्मचारीको बृत्ति विकास र सेवा दिने शैली समेत परिवर्तन हुन्छ ।’ दर्ता, योजना र प्रशासनमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएपछि कर्मचारीहरुमा समेत नयाँ उत्साह थपिएको छ । ‘लामो सयम एकै फाँटमा काम गर्दा भन्दा सयम सयममा हुने परिवर्तनले हामीलाई पनि सिक्ने र सेवा दिने कार्य शैलीमा परिवर्तन हुन्छ’, प्रशासनबाट योजनामा सरुवा भएका थापाले भने, ‘यो धेरै पछि भयो, पहिल्यै
हुनुपथ्र्यो ।’ कर्मचारीहरुका अनुसार यसरी आन्तरीक जिम्मेवारीमा हेरफेर गरिएको यो पहिलो पटक हो ।
जिम्मेवारी हेरफेर गरिएका अधिकांश कर्मचारीहरुले सकारात्मक काम भन्दै जिम्मेवारी परिवर्तनले क्षमता विकासमा समेत सहयोग पुग्ने बताएका छन् । जिविस र प्राविधिक कार्यालयमा समेत गरी ७९ कर्मचारी कार्यरत छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग