Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रोप्दै नरोपी वर्षौंदेखि आलुखेती

Published on 4:18:00 PM //


घनश्याम गौतम
 नरोपी आलु फल्ला ? सुन्दा विश्वास नलाग्ला । जिल्लाका झन्डै एक दर्जन गाउँमा भने नरोपीकनै आलु फल्ने गरेको छ । त्यो पनि बर्षौदेखी ।
जेठ, असार र साउनमा गुल्मीका अर्खाबाङ, ह्वाङ्दी, दर्लिङ, मलायागिरी, म्यालपोखरी, अग्लुङ लगायतका गाउँमा पुग्ने जोसुकै नरोपी फल्ने आलु खेती देखेर दंग पर्छन् । यी गाउँ सदरमुकाम तम्घासबाट १० देखि १३ कोस पश्चिममा पर्छन् । बर्षातको समयमा सवारीसाधनसमेत नपुग्ने अधिकांश बासिन्दाको आम्दानीको स्रोतसमेत यही आलु हो ।
यस्तो आलु अन्यत्रको भन्दा स्वादिलोसमेत हुने गरेको छ । यहाँको उत्पादनलाई बजारको समेत समस्या छैन । वषौर्ंअघिदेखि बाबुबाजेले रोपेको आलु अहिलेसम्म निरन्तर फल्दै आएको अर्खाबाङ उच्च माविका शिक्षकसमेत रहेका लक्ष्मणप्रसाद अर्यालले बताए ।
फागुनमा मकै रोप्ने समयमा बारी खन्ने गरिन्छ । त्यससँगै आलु उम्रन सुरु हुन्छ । साउनमा आलु खनिन्छ । खन्ने क्रममा बारीमै छोडिएको आलु माटोभित्रै रहेर पुन: फागुनमा बारी खनजोत गरेपछि उम्रन सुरु गर्छ ।
यस्तो प्रक्रिया सय वर्षदेखि चल्दै आएको उनले बताए । 'गाउँमा कसैले आलु रोप्दैनन्,' उनले भने भने ।
किसानको अनुभवमा मलिलो र खुकुलो माटो भएकाले बारीमै छोडिएको आलु त्यसरी उम्रने गरेको हो । अर्खाबाङका ३ सयभन्दा बढी किसानले आलु उत्पादन गरेर बिक्री गर्दै आएको अर्खाबाङ ९ का छविलाल भट्टराईले बताए । 'हाम्रा पुर्खाले रोपेको आलु हो,' भट्टराईले भने, 'पुरानो बीउ उच्च पहाडी क्षेत्रमा फल्ने गरेकाले यहाँको उत्पादन बढी स्वादिलो हुन्छ ।' गाउँका अधिकांश किसानले बर्सेनि १० देखि ५० हजारसम्मको आलु बिक्री गर्ने गरेको उनले बताए ।
गाउँमा कृषि प्राविधिक नहुँदा समयसमयमा आलुमा रोग लाग्ने गरेको अर्खाबाङ ६ का रेशमबहादुर घर्तीले बताए । वर्षौं पुरानो आलु खेती भए पनि सबै किसानले आलुसँगै मकैसमेत रोप्ने गरेका छन् । मलिलो माटो भएकाले आलु र मकै राम्रै फल्ने गरेको किसान बताउँछन् ।
वर्षौं पुरानो आलुखेतीबाटै घरको खर्च चलाउँदै आएका बाँझकटेरी १ का बृजबहादुर खत्रीले अन्यको तुलनामा पुरानो आलु स्वादिलो हुने गरेको बताए । 'हाम्रो खान्की नै यही आलु हो,' खत्रीले भने, 'बाबुबाजेको उपहार भएकाले मकैभन्दा आलुलाई प्राथमिकता दिन्छौं ।' खाद्यान्न अभाव हुने यस क्षेत्रका बासिन्दाले बर्षातको अधिकांश समय आलुबाटै गुजारा टार्छन् ।
वर्षमा ५ देखि ७ मुरीसम्म आलु बेच्ने गरेकी बाँझकटेरीकै सरस्वती श्रीसले आफू विवाह भएर यो गाउँमा आएदेखि आलु रोप्न नपरेको  बताइन् । ग्रामीण क्षेत्रमा आलु अझै किलोमा बिक्री गर्ने चलन छैन । गाउँलेहरूले मकै, कोदोझैं मानापाथीमा भरेर बेच्छन् । आलु प्रतिपाथी ७० देखि ९० रुपैयाँमा बिक्री हुन्छ ।
कृषि कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालले खुकुलो माटो भएकाले वर्षौं पुरानो आलु त्यसरी फल्ने गरेको हुनसक्ने बताए । 'अन्य कुराका लागि त्यहाँको माटो र बीउ परीक्षण गर्नुपर्ने हुन्छ,' बाँझकटेरी पुगेका अर्यालले भने, 'मकै बालीभित्र दुर्गमका बासिन्दाले समेत वषौर्ं पुरानो आलु निरन्तर फलाउने गरेको देख्दा अचम्म लागेको छ ।'

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग