Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा नेपाली मर्ने क्रम बढ्दो, समस्या अन्त्येष्टीको

Published on 3:47:00 AM //


 गत सप्ताहन्त ब्लड क्यान्सर पीडित विद्यार्थी नवीन परियारको दुःखद निधनको खवरले नेपाली समाज विक्षिप्त बन्यो । २१ सेप्टेम्बर, २००९ मा पढ्न युकेका आएका उनलाई बचाउन सारा नेपाली समुदाय, चिकित्सक लागे तर उनले सदाका लागि यस संसारबाट विदा भए । उनको देहवसानको पीडा त छंदैछ, तर अब नेपाली समुदायलाई अर्को चिन्ता थपिएको छ, कसरी अन्त्येष्टी सक्ने भन्नेमा ?
अल्डरसट यूके बसिरहेका गुल्मी निवासी ९० वर्षीय भूपू गोर्खाली काशीराम थापा पनि यही साता बिते । बितेपछि स्थानीय काउन्सिलले दिने सहयोग समेत रोकियो । साथमा रहेकी १७ वर्षीया छोरी एक्लैले केही गर्न नसक्ने भएपछि अहिले एनआरएन यूके, गुल्मी जिल्ला समाज यूके र रसमोर नेपलिज कम्युनिटी यूके दाहसंस्कार सम्पन्न गर्न आर्थिक संकलनमा व्यस्त छन् ।
गत महिना निर्दोष नेपाली उमेश चौधरीको क्रोयन्डनमा हत्या भयो । उनको परिवारमा कमाउने कोही नभएपछि आर्थिक राहतका खातिर एनआरएन यूके र एसोसिएसन अफ नेपाली मधेशी इन यूके यतिखेर अनुनय गरिरहेका छन् ।
त्यस्तै, रायात लन्डन कलेजमा अध्ययनरत विद्यार्थी शुक्रराज थापाको केही महिनाअघि हृदयघातबाट देहावसान हुंदा अन्त्येष्टी खर्च ३ हजार ५ सय पाउण्ड जुटाउन हम्मेहम्मे पर्‍यो नेपाली समुदायलाई । चेल्सी नजिक थेम्स् नदीमा मृतावस्थामा भेटिएका स्याङ्जा पाक्वादीका नेत्रबहादुर केसीको अन्त्येष्टीमा धेरै हात फैलाउनुपरेको आर्थिक संकलनमा जुटेका समाजसेवी उमेश मोक्तानको अनुभव छ ।
अरु त अरु, बेलायतको त्यत्रो सम्मान पाएका अनि स्थानीय काउन्सिलबाट सहायता पाएका भिसी लछुमन गुरुङका लागि समेत चन्दा उठाउनु पर्‍यो अन्त्येष्टी गर्न । सडक दुर्घट्नाका गम्भीर घाइते मनोज रिमाल र कृष्ण गुरुङको उपचारमा पनि अप्ठेरो स्थिति आइपर्‍यो आर्थिक सहयोग जुटाउन ।
उल्लेखित घट्नाबाट बेलायतमा नेपाली मर्ने, दुर्घटनामा पर्ने क्रम बढिरहेको अनुमान लगाउन कठिन छैन् । पछिल्ला केही वर्षयता बेलायतमा नेपालीहरुको संख्या वृद्धिसंगै आपतविपतका घट्ना पनि थपिंदा छन् । ‘काम गरे पैसा हुने, पैसा भए मात्र बाँच्न सकिने’ बेलायती सामाजिक संरचना हेर्दा आफ्नै निजी खर्चले उपचार, अन्त्येष्टी गराउन सक्ने नेपालीहरुको हैसियत कम मात्र छ । मुठ्ठीभरले सके पनि प्राय नेपालीहरुले हात फैलाउनुको विकल्प देखिंदैन् ।
‘केही आपतविपत पर्ने वित्तिकै शुरुमा हाम्रै संस्थाकै थाप्लोमा आउंछ’- एनआरएन यूके अध्यक्ष सूर्य गुरुङ भन्छन्-’नगरौं एनआरएन यूकेले गर्न सक्छ भन्ने अपेक्षा सबैमा छ, गरौं आर्थिक भारले धान्नै सकिएन ।’ दुई वर्ष यता अन्त्येष्टी लगायत १९ वटा कल्याणकारी कार्यमा करिव १६ लाख खर्च भइसकेको जनाउंदै गुरुङले भने-’आपतविपतका घट्ना बढिरहंदा हामीले कल्याणकारी कोष अभिवृद्धि गर्न अगष्ट १४ मा च्यारिटी डिनर कार्यक्रम नै राखेका छौं ।’
अन्त्येष्टीका लागि युकेमै जलाउने हो  भने कम्तीमा २५ सय र शव नेपाल पठाउने हो भने झण्डै ३५ सय पाउण्ड सम्म फ्युनरल सर्भिसेस्लाई बुझाउनुपर्ने भएकाले यो कर्मकाण्ड एक्लो प्रयासमा सहज छैन् । अन्य कानुनी प्रक्रिया पनि
छंदैछ । ‘फेरि कुनै पनि जहाजले अस्तु लैजान मान्दैनन्’-मोक्तान भन्छन्-’शव पठाउन पनि हरेक निकायसंग प्रक्रिया पुरा गरेर महिनौं पछि मात्र सकिन्छ ।’
अध्यक्ष गुरुङ बेलायतमा नेपालीलाई आइपर्ने संकट टार्न सबै नेपाली संघसंस्था मिलेर वृहत् कल्याणकारी कोष स्थापना गर्न जरुरी देख्छन् । अहिले बेलायतमा खुलेका करिव तीन सय संस्थामध्ये अप्ठेरो पर्दा आधाले मात्र भएपनि सहयोग गरिदिए नेपालीको उद्दार हुने आशा गुरुङको छ ।
कान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग