Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महशुल नतिर्ने दुई स्वास्थ्य केन्द्रको विद्युत लाइन काटियो

Published on 1:53:00 PM //

महशुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ्ग र श्रृङ्गाको विद्युत लाइन काटिदिएको छ । विद्युत लाइन काटेपछि उपचारका लागि आउने विरामीहरुको सेवा प्रभावित भएको छ । स्वास्थ्य केन्द्रहरुले सेवा सुरु गरेदेखिकै विद्युत महशुल नतिर्दा बक्यौता बढ्दै गएको प्राधिकरणले जनाएको छ । ग्रामिण क्षेत्रमा रहेका अन्य स्वास्थ्य केन्द्रले समेत बक्यौता नबुझांउदा प्राधिकरणको झण्डै ९ लाख बक्यौता बाँकी छ । सर्वसाधरणले समेत महशुल नबुझाउँदा प्राधिकरणको बाँकी बक्यौता २१ लाख भन्दा बढी पुगेको छ ।
प्राधिकरण कार्यालयका अनुसार दुई वर्ष अगाडी खुलेको रुरु हेल्थ सेन्टरको बक्यौता मात्र १ लाख ३२ हजार ४ सय ३८ रुपैंयाँ छ । त्यस्तै जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको ५ लाख ३४ हजार २ सय ८३, श्रृङ्गा हेल्थ सेन्टरको १ लाख ११ हजार ९ सय १८ रुपैंयाँ, अस्लेवा हेल्थ सेन्टरको ६६ हजार ८ सय र खज्र्याङ्ग हेल्थ पोष्टको ६१ हजार ३० रुपैंयाँ महशुल बक्यौता छ । तत्काल जोहाङ्ग र श्रृङ्गा हेल्थ सेन्टरको लाइन काटिएको र अन्यको पनि काट्ने तयारी भैरहेको प्राधिकरण प्रमुख इन्जिनियर विनोद चौधरीले बताए ।
लाइन काटिएका स्वास्थ्य केन्द्रको बक्यौता रकम बुझाउनका लागि केन्द्रमा रकम माग गरी पठाइएको र सबै केन्द्रको रकम भदौ १५ भित्र तिर्ने तयारी भैरहेको केन्द्रहरुले जनाएका छन् । जिल्ला अस्पतालले पनि बक्यौता बुझाउँनका लागि भदौ १५ सम्मको समय माग गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लाइन काट्न सुरु गरेपछि ७३ हजार ४ सय २२ रुपैंयाँ बक्यौता रहेको कारागार शाखाले जरिवाना सहित बक्यौता बुझाएको छ । त्यस्तै कृषि विकास कार्यालय, जिविस, प्रहरी चौकीहरु, विद्यालय, हुलाक लगायतले बक्यौता तिरेका छन् । लाइन काट्न सुरु गरेपछि प्राधिकरणको झण्डै २ लाख रुपैंयाँ बक्यौता उठेको छ । अझै सरकारी कार्यालय र सर्वसाधरण ग्राहक समेत गरी २१ लाख रुपैंयाँ भन्दा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग