Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेपाटाईटिस बि बिरुद्धको खोप अभियानमा प्रशासनको रोक

Published on 11:15:00 AM //

घनश्याम गौतम 
पब्लिक हेल्थकेयर नेपाललाई हेपाटाइटिस बी विरुद्धको खोप लगाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि रोक लगाएको छ ।

झापा जिल्ला प्रशासनमा दर्ता भएको संस्थाले स्वास्थ्य सेवा विभागको स्वीकृतमा जिल्लाका १२ गाविसमा वैशाखदेखि खोप दिँदै आएको थियो ।

खोपको गुणस्तरीयता, शुल्क, खोप पछिको जिम्मेवारिताको विषयमा सर्वसाधारणले शंका व्यक्त गर्दै गुनासो गरेपछि प्रशासनले सर्वपक्षीय संयन्त्र बनाएर अनुगमन नगर्दासम्म पहिलो मात्राको खोप लगाएकाहरूलाई दोस्रो र तेस्रो लगाउन दिने गरी अब पहिलो मात्रा लगाउनमा रोक लगाएको हो ।

स्वास्थ्य कार्यालयको नियमित सम्पर्कमा रहेर गुणस्तर परीक्षण र मात्राको मापदण्ड पूरा गरेपछि मात्र खोप दिनुपर्नेमा सरोकारवाला संस्थाहरूलाई समेत जानकारी नदिई कार्यक्रम सञ्चालन गरेको भन्दै शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सर्वसाधरण र सरोकारवालाहरूले रेडियोहरूमा त्रासदी फैलाउने खालका विज्ञापन प्रसारण गरेर सर्वसाधारणमा भ्रम पैदा गरेको समेत गुनासो गरेका थिए । यहाँका रेडियोहरूमा यो रोग हावाबाट समेत सर्ने भन्दै अनिवार्य खोप लगाउन आग्रह गर्ने गरिएको छ ।

त्यस्तै संस्थाले खोप लगाउने क्रममा लिएको शुल्कमा समेत सरोकारवालाले गुनासो गरेका छन् । संस्थाले प्रतिव्यक्ति दर्ता शुल्क १५ रुपैंयाँ, १० वर्षसम्मका लागि ७० र १० वर्ष माथिका लागि प्रतिव्यक्ति ९० रुपैयाँ शुल्क लिँदै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अनुगमन गरी संस्थाको कार्यक्रमको प्रभावकारिताको अध्ययन नगरेसम्म अब खोपको पहिलो मात्रा नलगाउन तर दोस्रो र तेस्रो मात्राको कार्यक्रम भने नियमित गर्न निर्देशन गरिएको बताए । 'हामी छिट्टै अनुगमन गरेर अर्को कार्यक्रमको अनुमति दिने नदिने निर्णय गर्छौं,' अर्यालले भने, 'खोप अभियानका बारेमा धेरै गुनासा बढेपछि अनुगमन नगर्दासम्म अभियान रोक्नुपरेको हो ।'

पब्लिक हेल्थकेयर नेपालका अध्यक्ष जीवन ठटालले भने कार्यक्रम सञ्चालन गर्नुपूर्व समन्वयमा केही कमीकमजोरी भएको स्वीकार गरे । आगामी दिनमा यसलाई सच्याएर आगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मानव स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम भएकोले यसलाई सहज रूपमा आगामी दिनमा पनि सञ्चालन गर्ने गरी वातावरण बनाइदिन उनले आग्रह गरेका छन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग