Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडकले बढायो जग्गाको भाउ

Published on 1:47:00 PM //

शोभाखर पन्थी
अर्घाखाँची र गुल्मी जिल्लाका दुर्गम ग्रामीण क्षेत्रहरूमा जग्गाको भाउ ह्वात्तै बढेको छ । रूपन्देहीको सालझण्डी–अर्घाखा“चीको सन्धिखर्क–वाग्लुङको ढोरपाटन सडक खण्डको निर्माण सुरु भएसँगै दुई जिल्लाको सडक आसपासका जग्गाको भाउ बढेको हो ।
सडक निर्माण सुरु भएपछि अर्घाखाँचीको पोखराथोक, पटौटी, मैदान, पाली, अड्गुरी, वाङ्गला, सन्धिखर्क, अर्घा, वाँगी, हंसपुर, गुल्मीको पुर्कोट दह, म्याल पोखरी, बाँझकटेरी लगायतका गाविसमा सडकको आसपासका ठाउँमा जग्गाको मूल्यमा वृद्धि भएको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कको प्रमुख सडकमा १ हात घडेरीको ३ लाख ५० हजारसम्ममा किनबेच हुन थालेको छ । जस अनुसार २० हात मोहडा र ४०–४५ हातसम्म पिछाड भएको घडेरीको मूल्य ७० लाख रूपैयाँ पर्ने भएको छ । ३ वर्ष पहिलेसम्म ५० हजार हातको भाउमा बिक्री हुने घडेरी अहिले ३ लाख ५० हजारको भाउमा बिक्री हुदा पत्याई नसक्नु भएको स्थानीय बाबुराम सुनारले बताए ।
सदरमुकाममा शिक्षा, स्वास्थ्य, यातायात, सुरक्षा लगायत सबै किसिमको सुविधा भएकाले गाउँका मान्छेहरू ठुलो संख्यामा सन्धिखर्क आउन थालेपछि जग्गाको मूल्य बढेको सन्धिखर्क–चुत्रावेशी बजार सुधार समितिका सचिव विष्णुहरि भुसालले बताए । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्डका कारण अर्घाखाँची र गुल्मी जिल्लाका दर्जनौ“ गाविसहरूमा जग्गा जमिनको भाउमा निक्कै वृद्धि भएको बताए ।
उत्तर–दक्षिण लोकमार्गका रूपमा स्थापना हुन लागेको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक खण्डको १ सय १२ किलोमिटर ट्रयाक खोल्ने काम पूरा भएको छ । अर्घाखाँचीको पोखराथोक गाविसमा ५ किलोमिटर ट्रयाक खोल्ने काम पूरा भएमा सालझण्डीदेखि गुल्मीको बाँझकटेरीसम्मको १ सय १७ किलोमिटर ट्रयाक खोल्ने काम पूरा हुने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका प्रमुख बेल बहादुर भुजेलले बताए ।
सडक निर्माण सुरु भएको ३ वर्षमा १ सय १७ कि.मी.सडक निर्माण हुनुले योजनाको सफलता मान्न सकिने उनको भनाइ छ । निर्माणाधीन सडकको बिच बिचमा आयोजना सुरु हुनुभन्दा पहिले नै सडक निर्माण भइसकेकाले १० करोडको लागतमा १ सय १२ किलोमिटर ट्रयाक खोलिएको आयोजनाका इन्जिनियर गागल भण्डारीले बताए । सालझण्डी–ढोरपाटन सडक खण्ड निर्माणका कारण सडकको आसपासमा रहेका स्थानीय बासिन्दाहरूको करोडौँको क्षति भएको छ । दर्जनाँै परिवार त विस्थापित समेत बनेका छन् ।
 धान फल्ने खेतहरू बन्जर भूमिमा रूपान्तरण भएका छन् भने बारी र ख¥यानहरू भिरमा परिणत भएका छन । तर पनि स्थानीय बासिन्दाहरूले भने सडक निर्माणमा सहयोग पु¥याउँदै आएका छन् । मैदान गाविसका दिनेश बेलबासेले सडक सम्पन्न भएर गाडी चल्न थालेमा आफूहरूलाई राहतको महसुस हुने बताए । २ वर्ष पहिलेसम्म खेत बिक्री गर्न खोज्दा कोही नआउने ठाउँमा अहिले प्लटका प्लट खेत खरिद गर्न सहरका मान्छे आउन थालेको वाङ्गला गाविसका रुक्मागत अधिकारीले बताए ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक सम्पन्न भएपछि रूपन्देही, पाल्पा, अर्घाखाँची, प्युठान, गुल्मी, वागलुङ, रुकुम, रोल्पा र म्याग्दी गरी ९ जिल्लाका बासिन्दाहरूले लाभ उठाउन सक्ने भएका छन् । सडक निमार्णले गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका पर्यटकहरूलाई अर्घाखाँची र गुल्मीका मनोरम दृश्यका स्थलहरू घुमाउँदै वागलुङ, ढोरपाटन पु¥याएर पोखरा हँुदै फर्काउने सकिने स्थानीय सभासद समेत रहेका स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझिले बताए । ५ वर्ष पहिले आफूले यो सडकको बारेमा कुरा गर्दा नपत्याउनेहरू पनि अहिले निकै आशावादी भएको उनको भनाइ छ ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अघिल्लो वर्ष यो सडकको अवलोकन गरेका थिए । गुल्मीको तम्घास हुँदै पुर्कोट दह पुगेका डा.भट्टराई सडकको अवलोकन गर्न अर्घाखाँची आएर सन्धिखर्कमा एक रात बास समेत बसेका थिए । सालझण्डीदेखि ढोरपाटनसम्मको करिब १ सय ८० कि.मी.सडक निर्माण हुन अझै कम्तीमा ५ वर्ष लाग्ने सडक डिभिजन कार्यालय कपिलवस्तुले जनाएको छ ।
रूपन्देहीको सालझण्डीबाट निर्माण सुरु गरिएको सडक पाल्पाको सत्यवती, अर्घाखाँचीको पोखराथोक, पटौटी, मैदान, पाली, वाङ्गला, सन्धिखर्क, अर्घा, वाँगी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुर्कोट दह, म्याल पोखरी, बाँझकटेरी, सिर्सेनी, अर्खवाङ, वाङ्दी, बागलुङको दर्लिङ, राजकुट, देवीस्थान, बोहरागाउँ हँुदै बोवाङको ढोरपाटनसम्म पु¥याउने कार्यक्रम रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग