Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्रामिण क्षेत्रका बजारहरुमा पहिलो पटक प्रशासनको अनुगमन

Published on 4:28:00 PM //

घनश्याम गौतम
प्रशासनले जिल्लाका ग्रामिण बजार सहित सदरमुकाम तम्घासमा गरेको बजार अनुगमनबाट ठुलो परिणाममा म्याद सकिएका खाध्य सामाग्री सहित औषधीहरु बरामद गरेको छ । प्रशासनले पाँच टोली बनाएर तम्घास बजार र ग्रामिण क्षेत्रका गौडाकोट, रुन्खा, बिरबास, भेडुवा, श्रृङ्गा, बलेटक्सार, रिडी लगायतका बजारहरुमा अनुगमन गरेको थियो ।
जिल्ला प्रशासनका कर्मचारीहरुको नेतृत्वमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, प्रहरी कार्यालयका प्रतिनिध सहितको टोलीले बजारहरुबाट म्याद सकिएका बिस्कुट, चाउचाउ, सुजी, दालमोठ, औषधी, मसला, बेसार लगायतका झण्डै २ क्वीन्टल सामाग्रीहरु बरामद गरेको हो । प्रशासनले ग्रामिण बजार क्षेत्रमा पहिलोपटक अनुगमन गरेको हो ।
दशैं, तिहार जस्ता पर्व शुरु भएको र देशैभर अनुगमनमा मानव स्वास्थ्यमा असरपर्ने गरी खाध्य सामाग्रीहरु बेचबिखन भैरहेकाले अनुगमन तिब्र पारिएको थियो । प्रशासनले यस अघि तम्घासका मेडिकल पसलहरुमा गरेको अनुगमनमा पनि म्याद सकिएको औषधी बरामद गरेको थियो । पहिलो पटक भएको अनुगमनमा सामाग्री बरामद गर्ने काम मात्र भएको र अर्को पटकबाट कारवाही प्रकृया अगाडी बढाईने समेत प्रशासनले
जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बरामद गरिएको सामाग्री र व्यवसायीहरुको बिबरण तयार गरेपछि सबै सामाग्री नष्ट गरिने बताए । उद्योग वाणिज्य संघले पनि यस्ता अनुगमन बेलाबेलामा भैरहनुपर्ने भन्दै प्रशासनको अभियानलाई सहयोग गर्ने जनाएको छ । ‘यस्ता अनुगमन भैराख्नु जरुरी छ’, उधोग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले भने, ‘हामी जति बेला पनि सहयोग गर्न तयार छौं ।’
ग्रामिण क्षेत्रका व्यवसायीहरुले भने जानकारी बिनै अनुगमनमा आएको भन्दै आपत्ति जनाएका थिए । ‘केही व्यापारीले झगडा नै गरे’, ग्रामिण क्षेत्रमा अनुगमनका लागि पुगेका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने, ‘पहिलो पटक जानकारी बिनै आएर सामान उठाएको भन्दै सामान उठाउन रोक लगाउने प्रयास समेत गरे ।’
ग्रामिण क्षेत्र पुगेको टोलीले बलेटक्सारमा रहेको पाउरोटी उधोग दर्ता नगरी चलेको भन्दै दर्ता नभए सम्मका लागि बन्द नै गराएको छ । त्यस्तै तम्घासमै दर्ता बिना चलेका पसलहरुलाई तत्काल दर्ता प्रकृया शुरु गर्न समेत प्रशासनले निर्देशन दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग