Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई ठुला कच्ची सडकको गुणस्तरीयतामा शंका, दलहरुको चासो

Published on 4:04:00 PM //

घनश्याम गौतम
निर्माण भएको झण्डै दुई दशकपछि स्तरोन्नती शुरु भएका गुल्मीका दुई ठुला कच्ची सडकको गुणस्तरीयतामा शंका गर्दै राजनीतिक दलहरुले चासो देखाएका छन् ।
विश्वबैंकको आइडिए ऋण तथा अनुदान सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडिपी)ले रिडी रुद्रवेणी वामीटक्सार र तम्घास सिमलटारी पुर्कोटदह सडकको स्तरोन्नती शुरु भएको छ । जिविसले आह्वान गरेको ईबिडिङ्गमा दुई छुट्टाछुट्टै कम्पनीले ३४ प्रतिशतसम्म कम कबोलमा ठेक्का निवेदन स्वीकृत भएपछि राजनीतिक दलहरुले सम्झौता अनुसारको गुणस्तरीयता नहुने आशंकामा चासो व्यक्त गरेका हुन् ।
रिडी रुव्रवेणी वामीटक्सार खण्डमा धादिङ्गको प्यासिफिक विल्र्डस प्रालिको र तम्घास सिमलटारी पुर्कोटदह खण्डमा काठमाण्डौको महादेव, खिम्ती, मिचिको संयुक्त कम्पनीको ठेक्का स्वीकृत भएको थियो । दुवै सडकमा जिम्मा पाएका कम्पनीले काम शुरु गर्नु अगाडीको सडकको अवस्थाको बारेमा अनुगमन गरी निर्माण सम्पन्नपछि सम्झौता अनुसारको काम भए नभएको र गुणस्तरीयता मापनका लागि सजिलो होस भनेर दुवै सडकको अनुगमन गरिएको नेपाली कांग्रेस जिल्ला सचिव विष्णु बलालले बताए ।
जिविसले रिडी रुद्रवेणी वामी खण्डका लागि ३ करोड ८ लाख ८० हजार रुपैंयाको ठेक्का आह्वान गरेकोमा १ करोड ७९ लाख २ हजार रुपैंया र तम्घास सिमलटारी पुर्कोटदह सडकका लागि २ करोड ७१ लाख ७५ हजार ठेक्का आह्वान गरेकोमा १ करोड ७९ लाख २९ हजार रुपैंयामा ठेक्का स्वीकृत भएको थियो । ठेक्कामा प्यासिफिक विल्र्डसले ३४ प्रतिशत कममा र महादेव, खिम्ती, मिचिकोले २५ प्रतिशत कममा काम गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
धेरै प्रतिशत कममा ठेक्का स्वीकृत भएका दुवै कम्पनीले सम्झौता भएको तिन महिना ढिलोगरी यसैसाता देखि स्तरोन्नतीको कार्य शुरु गरेका छन् । २०४५ सालदेखि निर्माण शुरु भै २०५२ सालबाट यातायात संचालन भएको रिडी रुद्रवेणी वामीटक्सार सडक जिल्लाकै सबै भन्दा बढी व्यस्त सडक हो । दैनिक १ सय २० भन्दा बढी सवारी ओहोरदोहोर गर्ने सडकमा अहिलेसम्म पाल्पाको सडक डिभिजन कार्यालय र जिविस गुल्मीले गरी ५ करोड भन्दा बढी लगानी गरिसकेका छन् । तर सडक जिल्लाकै सबैभन्दा बढी जिर्ण र जोखिमयुक्त छ ।
जिविस इन्जिनियर पुष्परत्न रञ्जितका अनुसार रिडी रुद्रवेणी सडकमा ३ किलोमिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा गर्ने, नाली खन्ने, कल्भर्ट निर्माण लगायतका काम हुनेछन् । रिडी रुद्रवेणी सडक बढी चट्टानयुक्त र अत्यन्तै साँघुरो समेत भएकोले बढी चासो दिनु परेको एमाले अध्यक्ष बोमबहादुर खड्काले बताए । ‘त्यसमा पनि सरकारले तोकेभन्दा ३४ प्रतिशत घटाएर कम रकममा कम्पनी काम गर्न सहमत छ’, खड्काले भने, ‘त्यसैले पनि यो सडक निर्माणमा राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायत सबैले चासो दिनु जरुरी छ ।’
जिल्लाको १ नं. निर्वाचन क्षेत्र र बाग्लुङ्ग जिल्ला जोड्ने यो सडक ४२ किलोमिटर लामो छ । त्यस्तै १२ वर्ष अगाडी देखि यातायात संचालन शुरु भएको जिल्लाको निर्वाचन क्षेत्र नं. ३ सहित प्यूठान जोड्ने तम्घास सिमलटारी पुर्कोटदह सडक खण्डमा भने साढे ७ किलोमिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा, वाल, नाली निर्माणका काम हुने परियोजनाले जनाएको छ । दुवै सडक जिल्लाका अति महत्वपूर्ण सडक भएकाले यस वर्ष स्तरोन्नती गर्ने र अर्को वर्षबाट त्यसको कालोपत्रेका लागि प्रकृया अगाडी बढाईने परियोजनाका इन्जिनियर एन्जल श्रेष्ठले बताए । 
सडक निर्माणसंगै सडकका लागि आवश्यक पर्ने जग्गा खरिद र सामाजिक क्षेत्र सहयोग कार्यक्रम समेत संचालन भैरहेको परियोजनाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग