Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढिँकी जाँतो हराउँदै

Published on 3:35:00 AM //


भरत पाण्डेय
स्थानीयरुपमा चलन चल्तीमा आएका जाँतो ढिकी कोल जस्ता परम्परागत साधनहरु विस्थापित हुन थालेका छन्। बजारमा पाइने विभिन्न किसिमका तेलहरुको उत्पादनले गर्दा स्थानीयरुपमा साचालनमा आएका कोलहरु लोप हुने अवस्थामा पुगेका हुन्। 

केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँहरुमा कोलहरु साचालन हुने गरेकोमा अहिले ती स्थानहरुमा कोलहरु देख्न नपाइने हाडहाडे गाविसका स्थानीय समाजसेवी छन्द बहादुर पहराईले गुनासो गर्नुभयो। पहिला पहिला सबै ठाउँहरुमा तोरी संकलन गरी त्यसलाई परम्परागत रुपमा पेलेर तेल बेच्ने गरेको तर अहिले परम्परागतरुपमा पेलेको तेललाई अन्य तेलहरुले विस्थापित गरेपछि यसमा काम गर्ने व्यक्तिहरु अन्य पेशामा लाग्न बाध्य भएका छन्। कुनै समय गुल्मीका अधिकाँश ठाउँहरुका दाङ प्यूठान तथा तराईका विभिन्न भागहरुबाट तोरी खरिद गरी संकलन गरेर महिनौंसम्म तेल पेल्ने गरीन्थ्यो तर आजभोलि तोरी कुनै शुभकार्यमा धुप राख्नसमेत गाह्रो भएको हस्तीचौर-७ निन्थरा निवासी दानबहादुर जिसीले बताउनुभयो। 

विगतका दिनहरुमा कोलभाडामा लिएर दैनिक जम्मा २ माना तेल कोलधनीलाई दिएर आफूलेसमेत राम्रो आम्दानी गरेको तर अहिले भने लगानी समेत उठ्न धौ-धौ भएकोले यो पेशा नै विस्थापित हुन पुगेको अर्खले गाविस-६ निवासी टीकाराम मरासिनीले बताउनुभयो। अहिले कोलमा तेल पेल्नुमा फाईदा नभएको बडागाउँका कृषक बोम बहादुर छन्तेलले बताउनुभयो। यस पेशाको काममा धेरै जना खट्नुपर्ने तर आम्दानी भने थोरै हुने भएकोले तेलबाट फाइदा होइन खर्च चलाउनसमेत गाह्रो भएको छ।

अहिले सामानहरुमा गुणस्तरभन्दा सस्तो खोज्ने बानीले गर्दा कोलमा पेलेको तेल अन्य तेलको तुलनामा धेरै महँगो भएकोले पनि स्थानीय बजारमा यसको महत्व घटेको स्थानीयको गुनासो छ। परम्परागतरुपमा उत्पादन हुने तेल आजभोली मेसीनमा पेलीन्छ र खुलारुपमा पनि किनबेच गर्ने खुला बजार भएकोले महँगो तेल उपभोक्ताहरुले किन्न अलि समस्या मानेको व्यवसायीहरुको गुनासो रहेको छ। स्थानीयरुपमा उत्पादन हुने तेल बढी स्वस्थ्कर हुने भएकोले सुत्केरी महिला नवजात शिशु तथा कुनै घाइतेको ठोकीएको वा सुन्निएको ठाउँमा लगाउँदा हड्डीलाई आराम हुने तथा कपालमा प्रयोग गर्दा रंग नझर्ने जस्ता फाइदा हुने भएकोले घरेलु तेलको प्रयोग बढी मात्रामा गर्न खोज्दछन्। तर अहिले कोलहरुले गर्ने काम आधुनिकताले गर्दा मेसिनले गर्ने हुँदा पनि कोलहरु हराएको व्यावसायीहरुको गुनासो रहेको छ।

कुटानी-पिसानी मेसिनहरुको बढ्दो प्रयोग संगै ढिँकीजाँतोसमेत लोप हुन थालेका छन्। धान दाल बेसार गहुँ कोदोलगायतका खाद्यपदार्थ ढिकीमा कुट्ने र रसिलो खान पाइने भए पनि अहिले धेरै चिज आफूले उत्पाखन नै नगरेर बजारको नै प्रयोग गर्ने अलिकती सामान पनि मेसिनमै कुटानी-पिसानी गर्ने कारणले ढिकी गाउँमा देखिनसमेत छाडेको धुर्कोट् रजस्थल-२ का ८६ वर्षीय वृद्ध वीरबहादुर पाण्डेले बताउनुभयो। ए बरै ढिकीमा कुटेको चामलको भात रसिलो हुँन्छ भनेर रातभरी सास्त्र हाल्दै कुटिन्थ्यो तर अहिले गाउँमा धेरै धान नै हुन छाड्यो खाली बजारको चामल खान्छन्। अलिअलि भएको पनि मिसीनमा लैजान्छन् पाण्डेले भन्नुभयो- ढिकीमा कुटेको बेसार दाल ढिकीमा फलेर राम्रो बनाएको गहुँ कोदो त देख्नै छाडियो।

घरमा पुजाआजा र छोरीचेली घरमाइत गर्दा तथा मेलोमेसोमा घरमै चामल पिसेर रोटी बनाउने गरिए पनि अहिले मेसिनको प्रयोगले धेरैका घरमा जाँतोसमेत राख्न छाडेको पिपलधारा-२ का निमबहादुर थापाले बताउनुभयो। मेसिनमा पिसेको चामल देउतापितृलाई चल्दैन भनेर घरमै चामल पिसेर रोटी पकाईन्थ्यो तर अहिले त मेसिनमा गयो कोदो मकै चामल एकैठाउँ पारेर चामलको पिठो आउँछ मिठोचोखोको पनि स्वाद छैन गतिलोको पनि स्वाद छैन। छिटो र सजिलो भए भयो।

पहिला पहिला घर-घरमा जाँतोहरु हुने भएकोले मकै कोदो गहुँदेखि लिएर थोरै थोरै दाल पिस्न पनि सजिलो हुने र खान पनि स्वादिलो भए पनि अहिले घरमा जाँतो नभएर कि बजारको पुरानो दाल खानुपर्ने घरको दाल पनि नपिसिकनै गेडैसित पकाउनुपर्ने गरेको थापाको गुनासो छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग