Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालीगण्डकीमा श्रद्धालुको घुइचो

Published on 6:02:00 PM //


घनश्याम गौतम
हरिवोधनी एकादशीको अवसरमा आईतवार पवित्र कालीगण्डकी किनारमा नुहाउने र मेला भर्नेको घुइचो लाग्यो ।
बिहानैदेखि भक्तजनहरु नदी किनारमा नुहाउने, पुजा गर्ने गरेका थिए । पाल्पा र स्याङ्गजाको सिमाना कालीगण्डकी नदी किनारका विभिन्न स्थानमा मेला समेत लागेको छ । काली नदीको तटमा नुहाउन, तोरण तार्न हज्जारौ भक्तजन टाढा टाढाबाट समेत आएको राम्दीमा पुगेकी कमला पराजुलीले बताईन् । कालीगण्डकीमा हरिबोधनी एकादशीमा तोरन तार्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पाल्पा, स्याङ्गजा र गुल्मीको संगम रिडी, रानीघाट, राम्दी, आंधीघाट, केलादी, खोरियाघाट, हुंगीघाट लगाएतका स्थानमा मेला लागेको छ । महिला तथा पुरुषहरु ब्रत गर्ने र नदीमा नुहायो भने मनले चिताएको पुग्ने विश्वासमा नदीको तटमा भक्तजनको भिड लाग्ने गर्छ । मेलामा घरेलु सामाग्रीको किनमेल पनि अत्यधिक रह्यो ।
सुन्तला, सुपो, डोको, माटोको भाडा, तरुल, सखरखण्ड लगायतको किनमेल अधिक थियो । मेला भर्न पाल्पा लगायत स्याङ्गजा, रुपन्देहि, गुल्मी, कास्की, नवलपरासी, तनहुं लगायतका स्थानबाट आएका थिए । पाल्पाको राम्दीमा सवारी साधनको सुविधाले गर्दा हजारौको भिड लागेको थियो ।
यसैगरी कालीगण्डकी नदीको तटमा रहेको रामनदी धाम राम्दीमा श्रीमद्भागवत ज्ञानमहायज्ञ संगै धार्मिक पर्यटन महोत्सव सुरु भएको छ ।
पाल्पा र स्याङ्गजाको सिमाना रामनदी राम्दीमा सुरु भएको ज्ञानमहायज्ञमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलको मुखारविन्दवाट संगीतमय भागवत कथा बाचन गरिएको छ । महायज्ञमा संकलन भएको रकमबाट राम्दी क्षेत्रलाई व्यवस्थि गरिने यज्ञ मुल आयोजक समितिका अध्यक्ष दिलीप प्रताप खाँडले बताए ।
महायज्ञबाट उठेको रकमवाट आन्तरिक प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाको संरक्षण, सवर्द्धन र विकास गर्ने सोच आयोजकको छ । राम्दीधामको गुरुयोजना समेत निर्माण भईसकेको समितिका अध्यक्ष खाँडले बताए ।
संकलित रकमले साधु, सन्त, दीनदुःखीहरुको लागि भवन निर्माण, शौचालय, खानेपानीको व्यवस्था गर्ने यज्ञ मुल आयोजक  जनाएको छ । कालीगण्डकी नदीको तटमा मुक्तिनाथ, सेतीवेनी, रिडीऋषिश्वर, केलादी, देवघाट धाम पर्छन् । महायज्ञ सफल पार्न पाल्पा र स्याङ्गजाबासी प्रचारप्रसारमा जुटेका छन् । महायज्ञ कात्तिक २४ गतेसम्म चल्नेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग