Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एचआईभी संक्रमितहरुको संख्या वढ्दो

Published on 1:47:00 AM //


पि.एम.मगर
राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालको जिल्ला स्तरीय समन्वय तथा सहकार्य वैठक एवं अन्तरकृयात्मक छलफल कार्यक्रम आज गुल्मीको तमघासमा सम्पन्न भएको छ ।
ग्लोवल फण्ड सातौ चरण र सेभ द चिल्ड्रेनको सहयोगमा नार्डेक नेपालद्धारा सञ्चालित एकीकृत एच.आई.भी र एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा भएको कार्यक्रमको प्रभाव, वार्षिक लक्ष्य तथा उपलव्धी, कार्यक्रमका चुनौती तथा सकारात्मक पक्ष लगायतका विषयमा छलफल भएको थियो । वार्षिक कार्यक्रम प्रस्तुुत गर्दे केन्द्रका अध्यक्ष रेशम कुँवरले तम्घासमा एउटा स्वच्छिक तथा परिक्षण केन्द्र र बुटवलमा एउटा सामुदायिक हेरचाह केन्द्रमार्फत प्रवासी र उनका परिवारजनलाई एच.आई.भी. एड्स सम्बन्धी परामर्श तथा अन्य पोषण, हेरचाह तथा सहयोग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
साथै उहाँले संस्थाको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गर्नुभएको थियो । दातृ निकाय सेभ द चिल्डेनको सहयोगमा २००९ फेब्रुअरी १ देखी १५ नोभेम्बर २०१० सम्म जिल्लाका १५ वटा गाविसमा एच.आई.भी. एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गरी सकेको र दोश्रो चरण अन्तर्गत १५ नोभेम्बर २०१० देखि हालसम्म जिल्लाका ४० वटा गाविसमा कार्यक्रमहरु सञ्चालनमा रहेको कुवँरले जानकारी दिनुभयो । सो कार्यक्रमका लागि कुल वार्षिक बजेट ६१ लाख ८१ हजार ८५ रुपैयाँ मध्ये ५१ लाख ८४ हजार ४ सय २२ रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
यस्तै एचआईभी तथा एड्स कार्यक्रमका संयोजक रामवहादुर कुवँरले संस्थाद्धारा सञ्चालन भईरहेका कार्यक्रम एवं वार्षिक लक्ष्य तथा उपलव्धीका विषयमा प्रकाश पार्नुभएको थियो । जिल्लाका ४० वटा गाविसमा कार्यक्षेत्र बनाई आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको नार्डेकले भौगौलिक रुपले पायक पर्ने गरी अमरपुरको चौरासी बजारमा १, आपचौरको इन्द्रेगौडामा १ र हँसराको खैरेनीमा १ गरी ३ वटा सुचना केन्द्र, तमघासमा १ स्वच्छिक परामर्श तथा परीक्षण केन्द्र र वुटवलमा १ सामुदायिक हेरचाह केन्द्रमार्फत प्रवासी र उनका परिवारलाई एच.आई.भी. र एड्स संवन्धी परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिलो वर्ष २ हजार ७ सय ७३ ले परीक्षण गराएकोमा ३० जनामा एचआईभी पोजेटिभ भेटिएको थियो ।
त्यस्तै दोस्रो वर्ष २ हजार ८ सय ३८ जनामध्ये १४ जना र तेस्रो वर्षको अन्तिम एक महिना वाँकी छंदासम्म २ हजार १ सय ४६ जनाले परीक्षण गराएकोमा १३ जना एचआईभी संक्रमित भेटिएका थिए । जस मध्ये पुरुषको सख्या १५, महिलाको ३४, बालकको ५ र बालिकाको सख्या ३ रहेको कुवँरले जानकारी गराउनुभयो । केन्द्रले २०५५ सालदेखि गुल्मी लगाएत अन्य जिल्लाहरुमा विभिन्न सामाजिक सेवा, आय आर्जनमुलक कार्यक्रम र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । कार्यक्रमका सहभागीहरुले जिल्लामा एचआईभी संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै यस संवन्धि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीको प्रमुख आतिथ्यता रहेको थियो भने निमित्त जिल्ला स्वास्थ्य प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवणकुमार नायकले जिल्लामा एचआईभी तथा एड्स रोग र त्यसको निवारणवारे भईरहेको प्रयासवारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दल, संघ सस्था, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । नार्डेक नेपाल गुल्मीका अध्यक्ष रेशम कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सस्थाका धनीश्वर महतले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग