Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति प्रक्रिया टुंगिने खबरले खुसी

Published on 11:12:00 AM //

घनश्याम गौतम 
राजनीतिक दलका शीर्ष नेताले राजधानीमा दिनहुँ गरेको वार्ता र शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको खबरले सर्वसाधारण उत्साही बनेका छन् ।

संविधानसभाको पटकपटक म्याद थपिरहँदा र विवादहरू बढ्दा निराश बन्दै गएका उनीहरूले पछिल्ला दिनमा भएका वार्ता र सार्वजनिक भएका खबरले आशा पलाएको प्रतिक्रिया दिएका छन् । सदरमुकामका सार्वजनिक स्थल, चोक र गल्लीहरूमा शान्ति प्रक्रिया अन्तिम टुङ्गोमा पुर्‍याउन मुख्य दलहरू बल्ल गम्भीर बनेको चर्चा चल्न थालेका छन् । चर्चासँगै सर्वसाधारणले सेना समायोजन, राज्यको पुनर्संरचना, निर्वाचन प्रणालीलगायत विवादित विषयमा विभिन्न अडकलसमेत गर्छन् । 

रेसुंगा बहुमुखी क्याम्पसका प्राध्यापक एवं नागरिक समाजका प्रतिनिधि पदम पाण्डेले पछिल्लो चरणका वार्ता र खबरले सर्वसाधराणमा आशा र उत्साह जगाएको भए पनि ढुक्कै हुन नसकिने स्थिति अझै कायमै रहेको बताए । 'अन्तिम अन्तिममा पुगिसकेका छौं भन्ने खबरले केही गर्छन् कि भन्ने आशा जगायो,' उनले भने, 'तर ठोस सहमति नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।' राजनीतिक दलहरूप्रति नै सर्वसाधारणमा धेरै निराशा र वितृष्णा बढ्दै गएकाले अहिलेको अवस्थामा शान्ति र संविधान टुङ्गोमा पुग्ने गरी दलहरूले गम्भीर निर्णय लिन उनले सुझाव दिए ।

राजधानीमा तीन दलका शीर्ष नेताहरू अन्तिम निर्णयका लागि बैठक बस्ने र बसिरहेको भन्ने खबर स्थानीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रसारण गरेपछि सर्वसाधारण खबर सुन्ने प्रतीक्षामा देखिन्थे । सर्वसाधारणमा कति बेला नेताहरूको बैठक सकिएला र निर्णय आउला भन्ने प्रतीक्षा गर्नेहरूको ठूलै संख्या देखिन्थ्यो । सोमबार नास्ता खान आउने धेरैले समाचार सुन्नका लागि टेलिभिजन खोल्न आग्रह गर्ने गरेकोमा मंगलबार त्योभन्दा बढीले समाचार सुन्न आग्रह गरेको तम्घासको लाकुरीमञ्चमा रहेको न्यू मैत्री रेस्टुरेन्टका अर्जुन पाण्डेले बताए । 'नास्ता खान आउने जसले पनि समाचार सुन्न खोज्ने गरेका छन्,' उनले भने, 'साँच्चै केही हुन लागेछ कि जस्तो छ ।' शान्ति प्रक्रिया टुङ्गनि लाग्यो भन्दै चिया खान आउनेहरूले समेत छलफल गर्ने गरेको उनले सुनाए । सर्वसाधारणले राजनीतिक दललाई विवादका विषयहरूमा आआपmना अडानबाट पछाडि हटेर सबैलाई मान्य हुने गरी मिलेर निष्कर्षमा पुग्न सुझावसमेत दिने गरेका छन् । तम्घासकै रेसुंगा विज्ञापन सेवा अगाडि पत्रिका लिन र पढ्न लाग्नेको भीडले पनि दलको अहिलेको प्रयासलाई सकारात्मक भनेको छ । 'राजधानीमा शीर्ष नेताको सकारात्मक वार्ता भइरहेको खबरले पत्रिका किन्न आउनेको संख्यासमेत बढ्दो छ,' उनले भने, 'दलहरू छिटो मिलेर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याई संविधान जारी गरे हुन्थ्यो भन्ने धेरैको चाहना भएकैले चासो बढेको हुन सक्छ ।' यसअघिका वार्ताको तुलनामा अहिलेका वार्ताले सर्वसाधारणमा शान्ति र संविधानप्रतिको उत्साह बढाएको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग