Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो पटक महिला सार्वजनिक सुनुवाई कार्यक्रम

Published on 5:01:00 AM //

पि.एम.मगर
महिला अधिकारका विविध विषयमा गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय महिला आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार सदरमुकाम तमघासमा महिला हिँसा संवन्धी जिल्लाको अवस्था, महिला सशक्तिकरण कार्यक्रमको प्रभावकारीता र सेवा प्रदायक निकायवाट महिलाले न्याय पाउन सके नसकेको विषयमा आयोगले महिलाहरु, सेवा प्रदायक संस्थाका प्रमुखहरु र स्थानीय राजनीतिक दलहरुका प्रतिनिधीहरुलाई सहभागी वनाई सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा अधिकाँस महिलाहरुले जिल्ला स्वास्थ्य कार्यालयवाट महिलाहरुले उचित स्वास्थ्य उपचार पाउन नसकेको र पाठेघरको अप्रेशनमा चरम लापरवाही हुने गरेको गुनासो गरेका थिए । 

त्यस्तै जिल्ला शिक्षा कार्यालयले गत वर्ष विभिन्न विद्यालयहरुमा छात्रा शौचालयका लागि रकम विनियोजन गरेपनि ती विद्यालयहरुमा मापदण्ड अनुसारको शौचालयहरु नवनेकोप्रति आवाज उठाएका थिए । त्यस्तै जिल्ला प्रशासनवाट पहुँच भएका महिलाहरुले मात्रै तत्काल न्याय वा अन्य सेवा पाउन सकेको तर पहुँच नभएका सर्वसाधारण महिलाहरुले छिटो छरितो सेवावाट वञ्चित हुनुपरेको समेत गुनासो गरेका थिए । अधिकाँस महिलाले वेपत्ता भएका वा वावुको पहिचान हुन नसकेका महिलाहरुले आफ्ना सन्ततीको आफ्नै नामवाट नागरिकता निकाल्न पाउनुपर्नेमा माग गरेका थिए ।

महिलाहरुले उठाएका विविध सवालमा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आफुले कार्यभार सम्हालेपछि कुनै प्रकारको विभेद र ढिलासुस्ती हुन नदिएको जिकिर गर्दै घरेलु हिँसा वा अन्य कुरावाट पीडित महिलाहरुलाई प्रशासनको तर्फवाट दिलाउन सकिने न्यायप्रति आफु प्रतिवद्ध रहेको वताउनुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएकी राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष मोहना अन्सारीले गुल्मेली महिलाहरुले उठाएको विषय निक्कै गम्भिर रहेको र आयोगले ती विषयहरुलाई नेपाल सरकारसमक्ष सिफारिस पठाउने विश्वास दिलाउनु भएको थियो ।
महिलाहरु अझै पनि आफ्ना पीडा र समस्याहरु व्यक्त गर्न नसक्ने भएका कारण थप पीडित हुँदै गएकोप्रति इकित गर्दै उहाँले महिलाहरु जोडदारसँग आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला विकास समिति लगायत विभिन्न निकायवाट सञ्चालन हुने महिला सशक्तिकरण कार्यक्रम समेत अनुगमन गर्ने उद्धेष्यका साथ राष्ट्रिय महिला आयोगले गुल्मीमा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोगका महासचिव डा. वद्रीप्रसाद पोखरेलले घरेलु हिँसा, लैँगिक हिँसा लगायत के कति कारणले महिलाहरु पीडित भएका छन भन्ने कुराको खोजी गरी त्यसको निरुपणका विषयमा आयोगले देशका ७५ वटै जिल्लामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको र त्यसै शिलशिलामा गुल्मीमा पहिलो पटक उक्त कार्यक्रम गरिएको वताउनुभएको थियो । कार्यक्रममा सोँच नेपालका निर्देशक उत्तम निरौलाले रुढिवादी परम्परा तथा अन्धविश्वासवाट महिलाहरुलाई तल पार्ने काम भएको र त्यस्ता अन्ध विश्वासवाट महिला स्वयं नै पीडित हुनु परेको भन्दै यसप्रति महिला आफै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
अझै पनि समाजमा विभिन्न प्रथाहरु कायमै रहेका कारण महिलाहरु पछाडी परेको उहाँको तर्क थियो । कार्यक्रममा कानुन विशेषज्ञ सरोज थापा, एकीकृत नेकपा माओवादी गुल्मीका विशेष इलाका इन्चार्ज वुद्धि जिसी, नेपाली काँग्रेसका उप सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, नेकपा मालेकी प्रतिनिधी निर्मला पोखरेल, लोकतान्त्रीक महिला सञ्जालकी अध्यक्ष विष्णुकुमारी सापकोटा, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ललिता गौतम, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर घिमिरे लगायत विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो । कार्यक्रम रेडियो नेपालका चन्द्र वानियाले सञ्चालन गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग