Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ताबाटै खानेपानी सुरक्षा योजना

Published on 8:16:00 PM //


घनश्याम गौतम
नेपालमै लामो पम्पिङ खानेपानी योजना सञ्चालन गरिरहेको बृहत् तम्घास खानेपानी उपभोक्ता समितिले खानेपानी सुरक्षा योजना सुरु गरेको छ । योजना उपभोक्तास्तरबाटै सुरु भएको हो ।

विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा खानेपानी कार्यालयमार्फत देशभरका १० योजनामध्ये बृहत् तम्घास खानेपानी योजनाले पनि सुरक्षा योजना लागू गरेको हो । खानेपानी सुरक्षा योजना सञ्चालन भएको उपभोक्ता समितिमा झण्डै ७ हजार उपभोक्ता छन् ।

खानेपानी सुरक्षा योजना संयोजक पदमप्रसाद पाण्डेका अनुसार पहिलो चरण अन्तर्गतका प्रणाली निरीक्षण, जोखिम पहिचान, पानी परीक्षण, मुहान सरसफाइ र उपभोक्ता सचेत पार्ने कार्य भइरहेको उनले बताए । 'यसका लागि तत्काल कुनै आर्थिक योजना छैन', पाण्डेले भने, 'सबै योजना उपभोक्तास्तरबाटै सञ्चालन गरिने हो ।' मुहानदेखि उपभोक्तासम्म प्रदूषित हुन सक्ने जोखिमहरू पहिचान गरी व्यवस्थापन र तालिमका माध्यमबाट प्रदणमुक्त पानी तयार गर्न समिति लागेको पाण्डेले जानकारी दिए ।

योजनाका अध्यक्ष भुवनप्रसाद श्रेष्ठका अनुसार सरकारले खानेपानी उपभोक्ता समितिहरूलाई आफै सक्षम र सबल बनाउने गरी देशभर १० योजना छनोट गरेको छ । तीमध्ये लुम्बिनी अञ्चलबाट गुल्मी र नवलपरासीमा मात्र खानेपानी सुरक्षा योजना लागू भएको हो । खानेपानी सुरक्षा योजना लागू भएको समितिमार्फत ६ सय धाराबाट दैनिक १० लाख लिटर खानेपानी तम्घासमा आपूर्ति भइरहेको श्रेष्ठले बताए ।

'हामी उपभोक्तास्तरबाटै सुरक्षित खानेपानी वितरणका लागि सक्षम र सबल हुने प्रयासमा छौं', श्रेष्ठले भने, 'सफल हुन सकेमा जिल्लाकै खानेपानी उपभोक्ताहरूका लागि यो योजना लागू हुनेछ ।' श्रेष्ठले सुरक्षा योजना अन्तर्गत खानेपानीको मुहानदेखि वितरण प्रणाली र प्रयोग विधिसम्म समेत पानी प्रदूषित हुन सक्ने जोखिमहरूको पहिचान गरी तालिम र अन्य प्रविधिमार्फत उपभोक्तालाई सचेत पार्ने बताए ।

तम्घास बृहत् खानेपानी योजनाले नेपालमै सबैभन्दा लामो पम्पिङ सिस्टमको खानेपानी योजनासमेत उपभोक्तास्तरबाटै सञ्चालन गरेको छ । एउटा मात्र पम्पबाट २ सय ६१ मिटर माथिसम्म प्रतिसेकेन्ड ९ लिटर पानी फाल्ने योजना नेपालमै पहिलो भएको श्रेष्ठले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले उपभोक्तालाई नै सचेत बनाएर योजना सुधारका कार्यक्रमहरू सञ्चालन गरिने भएकाले खानेपानीलाई प्रदूषणमुक्त बनाउन योजना उपयोगी हुने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग