Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलामी पाइनन् आमाले

Published on 6:27:00 PM //


मोहन शाही, कान्तिपुर दैनिक
भनिन्छ, छरछिमेक र समाज 'जिउँदाको जन्ती र मर्दाको मलामी' हुन् । तर सबैलाई यो लागू नहुने रहेछ ! एचआईभी संक्रमित छोराको मृत्युपछि गाँजरी-७, सिमलगाउँकी खन्टी नेपाली मंगलबार दिनभर मलामी खोज्न भौंतारिन् । तर कोही भेटिनन्, १० वर्षीय छोरा गोपालको शव जिल्ला अस्पतालमै रह्यो । भोलिपल्ट केही गाउँलेको सहयोगमा उनी आफैं शव बोक्न बाध्य भइन् ।

एचआईभी संक्रमणबाट श्रीमान्, सौता र छोरा गुमाएकी खन्टी आफैं पनि संक्रमित हुन् । 'छोरा बितेको छ, त्यसैमाथि मलामी पाइनँ,' गहभरि आँसु पार्दै उनले भनिन्, 'हामीले मृत्यु हुँदा पनि सुख नपाउने भयौं ।' उनलाई संघ-संस्थाहरूले साढे ४ हजार रुपैयाँ संकलन गरेर दिएका थिए । तर रकम कम भएको भन्दै शव उठाउन गाडीहरूले मानेनन् । सरकारी कार्यालयहरू चहारे पनि उनले पुग्दो गाडीभाडा उठाउन सकिनन् । 'त्यसैले भोलिपल्ट आफैंले बोकेँ,' उनले दुःख पोखिन् ।

जिल्लामा यस्तो सास्ती खेप्ने खन्टी एक्ली भने होइनन् । एचआईभी संक्रमणबाट मृत्यु हुने अधिकांशका आफन्तले यस्तै ब्यथा भोग्छन् । डौडका हरिस विक -नाम परिवर्तन) ले काका बितेको तीन दिनपछि मात्रै शव उठाउन सकेको बताए । 'शव अस्पतालमै गन्हाउन थाल्यो,' उनले भने, 'अनि स्वास्थ्यकर्मीहरूले जेनतेन शव उठाउने व्यवस्था गरे ।'

जिल्लामा एउटा पनि शव वाहन नहुँदा समस्या भएको जिल्ला एड्स समन्वय समिति डोटीका संयोजक किरण बमले बताए । 'संक्रमितको लास भनेपछि आनाकानी गर्छन्,' उनले भने, 'फकाइफुल्याई गरे पनि निजी सवारीहरू मोटो रकम दिएमात्र लग्छौं भन्छन् । मागअनुसार रकम तिर्नसक्ने हैसियत सबैको नहुँदा लास व्यवस्थापनमा समस्या हुने गरेको छ ।'

अस्पतालमा संक्रमितको मृत्यु हुँदा सबै आफन्त नआइदिनाले समस्या हुने गरेको एचआईभी संक्रमितका अगुवा कट्टे नेपालीले बताए । 'त्यसैमा आर्थिकस्थिति कमजोर भएकाले कसैको मृत्यु हुनेबित्तिकै सबैसँग भनसुन र हारगुहार गर्नुपर्ने बाध्यता छ,' उनले भने । दिपायल सिलगढी नगरपालिकाको फोहोर ओसार्ने एउटै मात्र ट्याक्टर बिगि्रएकाले पनि शव बोक्न समस्या भएको संक्रमितहरूले बताए ।

जिल्लामा एचआईभी संक्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ । संयोजक बमका अनुसार कात्तिकसम्मको तथ्यांकअनुसार ८ सय ३० संक्रमित जिल्लामा छन् ।

पोषण अभाव तथा नियमित औषधि प्रयोग नगर्नाले अधिकांश संक्रमितको मृत्यु हुने गरेको उनले उल्लेख गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग