Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘काम नगर्ने र ढिला गर्ने ठेकेदारहरुलाई कारवाही हुन्छ’

Published on 5:43:00 PM //


घनश्याम गौतम
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपन्द्रबहादुर क्षेत्रीले सम्झौता गरेर तिन वर्षसम्म पनि काम शुरु नगरेका र तोकिएको मितिमा काम नसिध्याउने भौतिक पूर्वाकारका ठेकेदारहरुलाई कारवाहीको प्रकृया अगाडी बढाईएको बताएका छन् ।
जिल्लामा निर्माणाधिन सडक, पुल लगायतका योजनाहरुको अनुगमनका लागि शनिवार जिल्लामा आएका उपाध्यक्ष क्षेत्रीले आइतवार तम्घासमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकांश योजनाहरु अत्यन्तै सुस्त गतिमा निर्माण भैरहेको बताए । निर्माण कार्यहरु सुस्त गतिमा हुँदा त्यसको लागत बढ्ने र गुणस्तरीय निर्माण नहुने क्षेत्रीको तर्क थियो ।
 ‘रुद्रवेणीको पुल अत्यन्तै ढिलो गतिमा निर्माण भैरहेको रहेछ’, पत्रकार सम्मेलनमा क्षेत्रीले भने, ‘त्यसरी निर्माण हुने योजनाहरुले सरकारको लक्ष्य र विकासको गति अगाडी बढ्नै सक्तैन ।’ केन्द्रियस्तरबाट निर्माण भैरहेका जिल्लाका अन्य चार मोटरेबल पुल निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएको र त्यसले विकासका पुर्वाधारहरु अलपत्र परेका पत्रकारहरुले गुनासो राखेपछि त्यस्ता ठेकेदारलाई कारवाही प्रकृया अगाडी बढाई सकिएको बताए ।
जिल्लामै सवारीको चाप बढी रहेको रिडी रुद्रवेणी वामीटक्सर सडक अत्यन्तै दयनीय रहेको क्षेत्रीले बताए । सभाषद सुदर्शन बलालसंगै आएका क्षेत्रीले रुद्रवेणी, हर्मिचौर पूर्तिघाट सडकको निरिक्षण गर्दै त्यसको बिच खण्डमा परेको चट्टा फुटाउन आवश्यक पहल गर्ने बताए । सडक खण्डको झण्डै १ किलोमिटर चट्टान फुटाउन नसक्दा झण्डै ४ करोड रुपैंया खर्च भैसकेपनि अर्वेनी, हर्मिचौर, पुर्तिघाट, जयखानी लगायत गाविसका सर्वसाधरणहरु स्याङ्जा, पाल्पा हुँदै सदरमुकाम आउन बाध्य छन् । उपाध्यक्ष क्षेत्रीले मजुवाको बडीघाट खोलामा पुल अभावले ट्याक्टर चढेर आफु खोला तर्नु परेको भन्दै योजना आयोगले त्यस्ता सवारीको चाप बढी भएर पनि पुल र स्तरोन्नतीको अभावमा समस्याग्रस्त सडकहरुका लागि विशेष प्राथमिकतामा राख्ने बताए । योजना आयोगले प्रकृयागत ढंगबाट भन्दा पनि राजनीतिक पँहुच आधारमा योजना छनोट गर्ने गरेको आरोपका बारेमा भने राजनीतिक दवाव आउने गरेको स्वीकार्दै त्यस्ता दवावहरु सुन्ने र कार्यान्वयन नगर्ने गरिएको दावी गरे ।
क्षेत्रीले जिल्लाकै पर्यटकीय र धार्मिक स्थल रेसुंगा, निर्माण शुरु भएर अलपत्र परेको रेसुंगा विमानस्थल, प्राथमिकतामा परेका सडकहरुको स्तरोन्नती लगायतका योजनाहरुमा आयोगको विशेष ध्यान पुग्ने बताए । उनले अहिले आयोगले नयाँ योजना थप्ने भन्दा पनि पुरानालाई कसरी सम्पन्न गर्न सकिन्छ र अवस्था कस्तो छ भन्ने जान्नकै लागि देशभर अनुगमन गरिएको जानकारी दिए ।
आयोगले अहिले भौतिक पूर्वाधारसंगै लोकमार्गहरुको निर्माण, फास्ट ट्रयाक निर्माण, बैकल्पिक अन्र्तराष्ट्रिय र क्षेत्रीय हवाई मैदान, उर्जा, हाइड्रो लगायतका क्षेत्रहरुलाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण गरिरहेको समेत बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग